काठमाडौं/ नेपाल सरकार वादी र ओम प्रकाश गुप्ता भन्ने ओम प्रकाश तेली प्रतिवादी रहेको भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालत, काठमाडौंमा आज थप पाँच जनाविरुद्ध आरोपपत्र दायर गरिएको छ।
विशेष अदालतमा दर्ता मुद्दा नं. ०८१-CR-००१६ मा अनुसन्धानका क्रममा सरकारी साक्षीका रूपमा उपस्थित गराइएका जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) पाल्हीनन्दन गाउँपालिका–५ का राम किशुन कुर्मी, अनन्त बढै, चन्द्रिका चमार, लोरिक अहिर र श्रीभदै केवटले अनुसन्धान अधिकृत समक्ष दिएको बयान विपरित अदालतमा भिन्न बकपत्र दिएका थिए।
उनीहरुले भारतका नागरिक अनुप मेहरा भन्ने व्यक्तिलाई नेपाली नागरिक प्रेमशरण खत्रीका छोरा अनुपकुमार खत्री भनी गलत र बदनियतपूर्वक तयार गरिएको सर्जमिन मुचुल्कामा हस्ताक्षर र छाप गरेको पुष्टि अनुसन्धानबाट भएको छ। उक्त कार्यले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुरमा उनीहरू मतियारको भूमिकामा संलग्न रहेको ठहर भएको छ।
यसै आधारमा निज पाँचै जनालाई ऐनको दफा २२ अन्तर्गत मुख्य कसुरदार सरह सजाय हुन मागदाबीसहित विशेष अदालतमा आज आरोपपत्र दायर गरिएको सरकारी प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिएका छन्।