भूकम्पको एकदशक : अझै सकिएन सातले दरबारको पुनर्निर्माण

भूकम्पको एकदशक : अझै सकिएन सातले दरबारको पुनर्निर्माण

शुक्रवार, बैशाख १२ २०८२
शुक्रवार, बैशाख १२ २०८२
  • images
    images
    भूकम्पको एकदशक : अझै सकिएन सातले दरबारको पुनर्निर्माण
    images
    images

    त्रिशूली / गोरखा भूकम्पको १० वर्षपछि पनि भूकम्पबाट क्षतिग्रस्त नुवाकोटको दुर्गरत्न (साततले दरबार)सहित आसपासका धार्मिक एवम् पुरातात्विक सम्पदाको पुननिएर्माण अझै पूरा भएको छैन । 

    पुनर्निर्माणको जिम्मेवारी पाएको चिनियाँ पक्ष कार्यक्षेत्रमा फर्कन ढिलो गरेपछि भूकम्पले क्षति पुर्‍याएको १० वर्षमा बल्लतल्ल पुनर्निर्माण अघि बढाइएको छ ।

    नेपाल सरकारसँग भएको सम्झौताअनुसार पुनर्निर्माणको जिम्मेवारी पाएको चिनियाँ टोली यतिबेला विदुर नगरपालिका-२ मा अवस्थित कार्यक्षेत्रमा फर्किएर पुनर्निर्माण सुरु गर्नुपूर्वको तयारीमा खटिएको छ ।

    साततले दरबारसहित यहाँका धार्मिक, सांस्कृतिक एवम् पुरातात्विक संरचनाको प्राविधिक आवश्यकताअनुसार जीर्णोद्वार, पुनर्निर्माण, प्रवलीकरण र संरक्षणको काम अघि बढाइएको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख सुनील पाण्डेले बताए । 

    उनका अनुसार दरबारसहितको संरचनाको पुनर्निर्माणका लागि नेपाल सरकार र पुरातत्व विभागसँग भएको सम्झौताअनुसार चिनियाँ पक्षबाट पुनर्निर्माणपूर्वको काम भइरहेको छ ।

    “दरबार पुनर्निर्माणको काममा लक्ष्यअनुसार प्रगति नभए पनि अहिले भने काम तीव्र गतिमा अघि बढाइएको छ”,  प्रमुख पाण्डेले भने, “गत भदौदेखि कार्यक्षेत्रमा आएको चिनियाँ प्राविधिकसहितको कामदारले काम सुरु गरेका छन् ।”

    भूकम्पले क्षति पुर्‍याएका संरचना पुनर्निर्माणमा सहयोग पुर्‍याउने कार्यक्रमअन्तर्गत नुवाकोटको साततले दरबारसहित यहाँका धार्मिक तथा पुरातात्विक महत्वका विभिन्न आठ वटा संरचनाको जीर्णोद्वार पुनर्निर्माण एवम् प्रवलीकरण गर्ने जिम्मेवारी चीन सरकारले लिएको छ। 

    चिनियाँ पक्षले दरबारको पुनर्निर्माणका लागि चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेजलाई पठाएको छ ।

    दुई देशबिच भएको समझदारीअनुसार पुरातत्व विभाग र निर्माणको जिम्मेवारी पाएको चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेजबिच विसं २०७६ जेठमा भएको सम्झौताअनुसार ४५ महिनाभित्र काम सम्पन्न गर्ने उल्लेख गरिएको थियो । 

    नयाँ सम्झौतामार्फत पुनर्निर्माण अघि बढाउन चिनियाँ पक्ष सकारात्मक भएपछि हाल काम सुरु गरिएको हो । यद्यपि थप अवधि उल्लेख गरिएको छैन ।

    पूर्ववत समझदारीअनुसार नै काम सुरु गरेको ४५ महिनाभित्र पहिलो चरणको काम सम्पन्न गर्ने चिनियाँ पक्षले जनाएको छ । पहिलो चरणअन्तर्गत साततले दरबार र तुलजा भवानीको मन्दिरको पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य छ । 

    चिनियाँ प्राविधिकहरूको अध्ययनअनुसार दरबार र मन्दिर दुवैको जीर्णोद्वारमार्फत पुनर्निर्माण गर्ने तयारी छ । 

    बाँकी अन्य गारदघर, रङ्गमहल, लामपाटी, शीतलपाटी, विष्णु र नारायण मन्दिरको पुनर्निर्माण, जीर्णोद्वार, प्रवलीकरण र संरक्षणका लागि प्राविधिक अध्ययनको काम भइरहेको छ।

    नेपाल एकीकरणको समयमा पृथ्वीनारायण शाहले विसं १८०१ असोज १५ मा नुवाकोटमाथि विजयी हासिल गरेसँगै नुवाकोटमा दुर्गरत्न (साततले दरबार) निर्माण गरेका थिए । 

    काठमाडौँ उपत्यका विजयी हुनुअघिसम्म पृथ्वीनारायण शाहले नुवाकोट दरबारमार्फत नै आफ्नो कामकाज सञ्चालन गर्दै आएको इतिहासमा उल्लेख छ । 

    दरबारलाई नै उनले राज्यको मुख्य प्रशासनिक केन्द्र बनाई देशको राजधानीका रूपमा नुवाकोट रहेको उल्लेख थियो । उक्त ऐतिहासिक दरबारसहितको संरचना विसं २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त बनाएको थियो । 

    दरबारसहितको संरचना पुनर्निर्माणको जिम्मा लिएको चिनियाँ पक्षले विसं २०७६ असारदेखि काम सुरु गर्न कार्यक्षेत्रमा आए पनि उक्त समयमा थप क्षति हुन नदिन खट बनाई (टेको दिएर) फर्किएको थियो । 

    हाल नुवाकोट दरबार र दरबारसँगै रहेको लिच्छविकालीन तुलजा (तलेजु) भवानीको मन्दिरको प्रवलीकरण अघि बढाइएको छ । रासस

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com