काठमाडौँ / ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकार समय सापेक्षित कानुनहरू निर्माण गर्ने काममा लागिपरेको बताएका छन् ।
बिहीबार भविष्य निर्माणः नवप्रवर्तन, लचिलोपन र दिगो विकास कार्यक्रममा बोल्दै उनले समय सापेक्षित कानुनहरू निर्माण गर्ने र छिटोछरितो काम गर्न उत्साहित गर्ने भनेर सरकार लागेको बताएका हुन् ।
उनले भने, “हामीहरू सरकारमा छौँ । समय सापेक्षित कानुनहरू निर्माण गर्ने र छिटोछरितो काम गर्न उत्साहित गर्ने भनेर सरकार लागेको अवस्था छ । त्यसका लागि कुन कानुनहरू बाधाको रूपमा देखिएको छ अनुभूति भएको कुराहरू भन्नुहोला त्यसमा संशोधन गर्नेछौँ । सबै समय सापेक्षित बनाउनुपर्छ ।”
त्यस्तै उनले धेरै आयोजनाहरू सुरु गरेर रोजगारी सृजना गर्ने र उद्योग धन्दाहरूलाइ चलायमान बनाउने कुरामा सरकारको ध्यान गएको पनि बताए ।
उनले भने, “एउटा आयोजना मात्रै हामीले सुरु गर्यौँ भने रोजगारीकै अवसरहरू धेरै मिल्छ । बुढीगण्डकी आयोजना सुरु गर्यौँ भने १७ हजारले रोजगारी पाउँछन् । त्यसमा ४० प्रतिशत इन्जिनियरकै आवश्यकता हुन्छ । यस्ता थुप्रै आयोजनाहरू सुरु गर्नुपर्नेछ । त्यसले राजस्व वृद्धि हुने उद्योगधन्दाहरू चलयमान हुने हुन्छ । साना पसलदेखि रोजगार सृजना हुने आयोजनाहरूमा लाग्नुपर्ने आवश्यकता छ ।”
अब ढिला गर्ने छुट कसैलाई नभएको भन्दै उनले तीव्र गतिमा काम अगाडि बढाउन लाग्नुपर्ने धारणा राखे ।