एनआरएनए एकता महाधिवेशन तोकिएकै मितिमा, कुनै हालतमा सारिन्न - उच्चस्तरीय समिति

एनआरएनए एकता महाधिवेशन तोकिएकै मितिमा, कुनै हालतमा सारिन्न - उच्चस्तरीय समिति

मंगलवार, बैशाख ९ २०८२
मंगलवार, बैशाख ९ २०८२
  • images
    images
    एनआरएनए एकता महाधिवेशन तोकिएकै मितिमा,  कुनै हालतमा सारिन्न - उच्चस्तरीय समिति
    images
    images

    काठमाडौँ/  गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समितिले आउँदो ३–५ मे, २०२५ मा तोकिएको एकता महाधिवेशन तोकिएकै मितिमा हुने स्पष्ट पारेको छ। समितिका अध्यक्ष शेष घलेसहितका पदाधिकारीहरूले सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत महाधिवेशन तयारी अन्तिम चरणमा पुगेको र अब मिति नसरिने ठोकुवा गरेका छन्।


    अध्यक्ष घलेले सर्वोच्च अदालतको परमादेश अनुसार नै महाधिवेशन सम्पन्न गर्न आफूहरू प्रतिबद्ध रहेको उल्लेख गर्दै भने, “अहिले यो चुनौती होइन, अवसर हो। यसलाई संस्थालाई एकताबद्ध गर्ने माध्यम बनाउँदै छौं।”
    उनले बद्री केसी समूहले सहयोग नगरे पनि समितिले पारदर्शी ढंगले काम गरिरहेको जनाउँदै सबै सदस्यलाई इमेलमार्फत नियमित जानकारी दिइएको बताए।

    एनसीसी र आइसिसी सम्बन्धमा स्पष्टता

    एनसीसी (राष्ट्रिय समन्वय परिषद्) को अधिवेशन नगराई आइसिसी (अन्तर्राष्ट्रिय समन्वय परिषद्) को महाधिवेशन किन गरिँदैछ भन्ने प्रश्नमा अध्यक्ष घलेले भने, “सर्वोच्च अदालतले एनसीसीको विषयमा केही भनेको छैन। समस्या आइसिसीमा भएकाले हामी त्यहीअनुसार अघि बढेका हौँ।”
    उनले एनसीसीहरू स्वतन्त्र संस्था भएकाले भ्रम नफैलाउन आग्रह गर्दै, सबै एनसीसीहरूसँग समन्वय भइरहेको जानकारी दिए।

    घलेले सयौं डेलिगेट्सले फ्लाइट र होटेल बुकिङ गरिसकेको जनाउँदै अब मिति सार्नु “अपराध सरह” हुने धारणा राखे। “यो मेरो व्यक्तिगत स्वार्थ होइन,” उनले भने, “सर्वोच्चको आदेशअनुसार जिम्मेवारी पूरा गर्दैछु।”
    उनले महाधिवेशन नयाँ नेतृत्व चयन र विधान निर्माणको ऐतिहासिक अवसर भएकाले सबै पञ्जीकृत सदस्यहरूलाई उपस्थितिका लागि आग्रह गरे।
    ६३ हजारभन्दा बढी सदस्यता, २७२० डेलिगेट्स आवेदन

    समितिकी सदस्य सचिव जानकी गुरुङका अनुसार ७ अप्रिल २०२५ सम्म ६३ हजारभन्दा बढीले सदस्यता लिइसकेको छ भने २० अप्रिलसम्म २,७२० जनाले डेलिगेट्सका लागि आवेदन दिइसकेका छन्। डेलिगेट्सको नामावली कागजात जाँचपछि प्रकाशित गरिने जानकारी उनले दिइन्।
    गुरुङका अनुसार बद्री केसी समूहले सर्वोच्चको निर्देशनालयको पत्रपनि बेवास्ता गर्दै सचिवालय र MIS प्रणालीमा पहुँच नदिए पनि काम अघि बढिरहेको छ।


    आर्थिक उपसमितिका संयोजक कुल आचार्यले महाधिवेशन भव्य बनाउन आर्थिक अभाव नहुने उल्लेख गर्दै अहिलेसम्म झन्डै ५० लाख रुपैयाँ सहयोग संकलन भइसकेको र कर्पोरेट प्रायोजकहरू जोडिँदै गएको बताए।
    प्रचारप्रसार संयोजक रबिना थापाले उच्चस्तरीय समिति लचिलो ढंगले काम गरिरहेको उल्लेख गर्दै प्रचार अभियानलाई अझ व्यापक बनाउने तयारी भइरहेको बताइन्।


    उनले भनिन्, “नयाँ विधानअनुसार सबै पञ्जीकृत सदस्य डेलिगेट्स बन्न सक्नेछन्, र डेलिगेट्स जुनसुकै पदमा उम्मेदवार बन्न सक्नेछन्। यो महाधिवेशन संस्थाको लोकतान्त्रिक भविष्यको मीलका पत्थर हुनेछ।”


    डेलिगेट्स आवेदनको अन्तिम म्याद
    उच्चस्तरीय समितिले आगामी २२ अप्रिल (नेपाल समय अनुसार राति ११:५९ बजे) भित्र समितिको वेबसाइट www.nrnaelection.com मार्फत डेलिगेट बन्न आवेदन दिन सबैलाई आह्वान गरेको छ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com