काठमाडौँ / वाणिज्य बैंकहरूले चालु आर्थिक बर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्म ४१ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा कमाएका छन् । हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले ९ महिना (साउन–चैत्र)सम्म ४१ अर्ब २५ करोड ११ लाख ३८ हजार रुपैयाँ नाफा कमाएको हो ।
बैंकहरूले प्रकाशित गरेको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसर गत बर्षको तुलनामा यस बर्ष नाफा १.४० प्रतिशतले बढेको हो । गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा यी बैंकहरूको नाफा रकम ४० अर्ब ६८ करोड ३० लाख ८१ हजार रुपैयाँ थियो ।
खराब कर्जा, पर्याप्त कर्जा लगानी नहुँदा पनि नेपाल राष्ट्र बैंकको लचिलो नीतिका कारण बैंकहरूको नाफा बढेको देखिन्छ । नियामक निकाय केन्द्रीय बैंकले कर्जा नोक्सानी व्यवस्थाका लागि लिएको लचिलो नीति, निर्माण क्षेत्रको कर्जा पुनर्संरचना र पुनर्तालिकीकरणको सुविधालगायतको प्रभावले चालु समीक्षा अवधिमा वाणिज्य बैंकहरूको नाफा सामान्य बढेको देखिन्छ ।
९ महिनामा ११ बैंक नाफामा
चैत मसान्तसम्म कुल २० वटा बैंकहरूमध्ये ११ बैंक खुद नाफा बढेको छ । यस अवधिमा नेपाल, नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा, ग्लोबल आइएमई, एभरेष्ट, एनएमबि बैंक, प्रभु, सानिमा, लक्ष्मी सनराइज, नेपाल एसबिआई बैंक र माछापुच्छ्रे बैंकको नाफा बढेको हो । त्यस्तै, एनआइसी एशिया, हिमालयन, सिटिजन्स, कुमारी, राष्ट्रिय वाणिज्य बैंक, प्राइम कमर्सियल बैंक, स्ट्यान्डर्ड चार्टर्ड, कृषि विकास बैंक र सिद्धार्थ बैंकको नाफा घटेको छ ।
नेपाल बैंकको नाफामा उछाल
समीक्षा अवधिमा सबैभन्दा बढी नाफा बृद्धि गर्ने बैंकहरूमध्ये नेपाल बैंक अग्रस्थानमा छ । गत बर्षको सोही अवधिको तुलनामा नेपाल बैंकको नाफा २०३२.८० प्रतिशतले बृद्धि भएको हो । गत बर्ष चैत मसान्तसम्म १३ करोड ५० लाख रुपैयाँ नाफा कमाएको नेपाल बैंकले यस बर्ष सोही अवधिमा २ अर्ब ७८ करोड ३४ लाख ९४ हजार रुपैयाँ नाफा कमाएको छ । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ३८.६१ प्रतिशतले बृद्धि भएको छ ।
गत बर्ष चैत मसान्तसम्म ३ अर्ब २७ करोड ५२ लाख ७७ हजार रुपैयाँ नाफा कमाएको यो बैंकले समीक्षा अवधिमा ४ अर्ब ५३ करोड ४० लाख रुपैयाँ नाफा कमाएको छ । त्यस्तै, ग्लोबल आइएमई बैंकको नाफा ३७.१२ प्रतिशतले बृद्धि भएको छ । गत बर्ष चैत मसान्तसम्म ३ अर्ब ३० करोड ६५ लाख ५२ हजार रुपैयाँ नाफा कमाएको ग्लोबल आइएमई बैंकले समीक्षा अवधिमा ४ अर्ब ५३ करोड ४० लाख ९९ हजार रुपैयाँ नाफा कमाएको छ ।
गत बर्षको तुलनामा सबैभन्दा कम नाफा बढाउनेमा लक्ष्मी सनराइज बैंक रहेको छ । यो बैंकले गत बर्षको तुलनामा २.२४ प्रतिशतले नाफा बढाएको हो । गत बर्ष चैत मसान्तसम्म १ अर्ब ६१ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको यो बैंकको यस्तो रकम यस बर्ष सोही अवधिमा १ अर्ब ६५ करोड २१ लाख रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल एसबिआई बैंकले ३.३६ प्रतिशत र प्रभु बैंकले ३.५१ प्रतिशतले नाफा बृद्धि गरेको छ ।
नबिल बैंकको नाफा सर्वाधिक बढी
तेस्रो त्रैमाससम्म नबिल बैंकको नाफा सबैभन्दा बढी रहेको छ । गत बर्ष चैत मसान्तको तुलनामा यो बैंकको नाफा ८.२१ प्रतिशतले नाफा बृद्धि भएको हो ।
समीक्षा अवधिमा नबिल बैंकको नाफा ५ अर्ब ५ करोड १४ लाख १९ हजार रुपैयाँ छ । गत बर्ष चैत मसान्तमा यो बैंकको नाफा ४ अर्ब ६६ करोड ८० लाख २९ हजार रुपैयाँ थियो ।
त्यस्तै, रकमका आधारमा सबैभन्दा बढी नाफा कमाउनेमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र ग्लोबल आइएमई छ । दोस्रो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ४ अर्ब ५४ करोड छ भने तेस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकको ४ अर्ब ५३ करोड रुपैयाँ छ ।
तेस्रो स्थानमा भने एभरेष्ट बैंक रहेको छ । गत बर्षको तुलनामा ३२.५५ प्रतिशतले नाफा बृद्धि गरेको यो बैंकले चैत मसान्तसम्म ३ अर्ब ४५ करोड ७६ लाख ३६ हजार रुपैयाँ नाफा कमाएको छ ।
नाफा बृद्धि हुँदा पनि सबैभन्दा कम नाफा भने माछापुच्छ्रे बैंकको रहेको छ । यो बैंकले गत बर्षको तुलनामा २८.८९ प्रतिशतले नाफा बृद्धि गर्न सफल भएको छ । तर, पनि नाफा बृद्धि भएको अन्य बैंकको तुलनामा यो बैंकले सबैभन्दा कम १ अर्ब १० करोड २६ लाख २७ हजार रुपैयाँ मात्रै नाफा कमाएको छ ।
एनआइसी एशिया बैंकको नाफा सर्वाधिक घट्यो
चालु आवको ९ महिनासम्म पनि एनआइसी एशिया बैंकको नाफामा सुधार हुन सकेको छ । चालु आवको अघिल्लो त्रैमासमा पनि नाफा रकममा उच्च गिरावट आएकोमा समीक्षा अवधिमा पनि सुधार आएको देखिदैन । एनआइसी एशिया बैंकको नाफा तेस्रो त्रैमासमा पनि सबैभन्दा कम रहेको छ भने नाफा घट्ने बैंकमा यो बैंक पहिलो स्थानमै रहेको छ ।
तेस्रो त्रैमासमा एनआइसी एशिया बैंकको नाफा ९१.८१ प्रतिशतले घटेको हो । गत बर्ष चैत मसान्तसम्म १ अर्ब ९१ करोड ४८ लाख ९१ हजार रुपैयाँ नाफा कमाएको एनआइसी एशिया बैंकले समीक्षा अवधिमा १५ करोड ६७ लाख ७५ हजार रुपैयाँ मात्रै नाफा कमाएको छ ।
त्यस्तै, हिमालयन बैंकको नाफा ७४.३३ प्रतिशतले घटेको छ । गत बर्ष १ अर्ब ९४ करोड ८१ लाख ८१ हजार रुपैयाँ नाफा कमाएको यो बैंकले समीक्षा अवधिमा ५० करोड ४८ हजार रुपैयाँ मात्रै नाफा कमाएको छ ।
यसैगरी कुमारी बैंकको पनि गत बर्षको तेस्रो त्रैमासको तुलनामा ७२.८५ प्रतिशतले कम २८ करोड ५८ लाख २३ हजार रुपैयाँ नाफा कमाएको छ । गत बर्ष भने सोही अवधिमा यो बैंकको नाफा १ अर्ब ५ करोड २७ लाख ९४ हजार रुपैयाँ थियो ।