रौतहट / पर्सा प्रशासनले वीरगन्जमा लगाएको कर्फ्यू अवधि थप गरेको छ । स्थानीय प्रशासनले एक सूचना जारी गरि आइतवार राती १२ बजे सम्मका लागि कर्फ्यू अवधि थप गरेको उल्लेख गरेको छ ।
जिल्ला प्रशासन कार्यालयमा आइतवार भएको सर्वपक्षिय बैठकले परिस्थितीको मूल्याङ्कन गर्दै जारी कर्फ्यू मध्यरातसम्म कायम राख्न्ने निर्णय गरेअनुसार कफ्र्यु अवधि थप गरेको प्रशासकिय अधिकृत दीपक पटेलले जानकारी दिए ।
विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, जनप्रतिनिधि र सुरक्षा निकायका प्रतिनिधिको सहभागीता रहेको बैठकले कर्फ्यू नहटाउने निर्णय गरेको उनको भनाइ छ ।
पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कफ्र्यु आदेश थप भएको पर्सा प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि रात्रि बजार बन्द रहने जनाएको छ ।
कफ्र्यूका कारण बजारमा लगाइएका अस्थायी स्टलहरू हटाइएको छ भने व्यापारीहरूले आफ्नो सामानहरू फिर्ता लैजान थालेका छन् ।
हनुमान जन्मोत्सवमा शनिवार निकालिएको शोभा यात्रामा सहभागीहरूले उच्छृङ्खल गतिविधि गरेको भन्दै अर्को समूहले आरोप लगाएपछि दुबै पक्षबिच झडपमा भएको थियो ।
वीरगञ्जमा हिजो भएको घटनाको समिक्षा गर्दै धार्मिक सदभाव भड्कन नदिन जनसमुदायलाई अपिल गर्ने निर्णय समेत गरेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।