२५ जना महिलाले २५ सयबाट सुरु गरेको सहकारी झण्डै ७१ करोडको मालिक

२५ जना महिलाले २५ सयबाट सुरु गरेको सहकारी झण्डै ७१ करोडको मालिक

बुधवार, चैत २७ २०८१
बुधवार, चैत २७ २०८१
  • २५ जना महिलाले २५ सयबाट सुरु गरेको सहकारी झण्डै ७१ करोडको मालिक

    रामेछाप / मन्थली टेकानपुरका २५ जना महिलाहरूले २०५५ सालमा मासिक १० रुपैँया जम्मा गरेर सुरु गरेको सहकारी संस्था अहिले ७० करोड ८१ लाख रुपैँयाको मालिक बनेको छ । 

    images
    images

    मन्थलीको नवजागरण बचत तथा ऋण सहकारी संस्था अहिले १० हजार बढी सदस्यको साथी र सारथी बनेको छ । सहकारीको कूल शेयर पुँजी मात्रै ४ करोड ४३ लाख ९३ हजार पुगेको छ । 

    सहकारीका व्यवस्थापक रमेश उदासका अनुसार सहकारीको जगेडा कोषमा ६ करोड ९० लाख ५२ हजार रुपैँया जम्मा भएको छ । अन्य कोषमा ९० लाख रुपैँया छ । 

    हाल सो सहकारीको बचत निक्षेप ५४ करोड ५० लाख रुपैँया रहेको छ । अहिले ३७ करोड ५२ लाख रुपैँया बढी ऋण लगानीमा छ । सहकारीमा ७ सय जना ऋणी सदस्य छन् ।  

    २०५५ साल साउन १२ गते मन्थलीको टेनकानपुरका महिलाले खरखाँचो टार्न सो सहकारी सुरु गरेका थिए । महिलाहरूले ७ वर्षसम्म गाउँमा सहकारी सञ्चालन गरे । गाउँमा सञ्चालन गरेको सहकारी सोचे जसरी फष्टाउन सकेन । सदस्य सङ्ख्या र कार्य क्षेत्र पनि त्यति बढेन । 

    त्यसैबिच बजारका केही व्यवसायी र अगुवासँग सल्लाह गरेर सहकारी मन्थलीमा सारियो । २०६२ सालबाट सहकारी मन्थलीमा स¥यो । 

    कार्यक्षेत्र बढ्यो, सदस्य सङ्ख्या पनि बढ्यो । अहिले सदस्य सङ्ख्या बढेर १० हजार ८० जना पुगेको छ भने कार्यक्षेत्र बढेर मन्थली नगरपालिका, रामेछाप नगरपालिका र खाँडादेवी तथा लिखु तामाकोसी गाउँपालिकासम्म पुगेको छ ।   

    सहकारीको आफ्नै सुविधासम्पन्न भवन बनेको छ । मन्थलीमा रहेको सहकारीको आफ्नै भवनबाट सहकारीले सेवा प्रवाह गर्दै आएको संस्थाका अध्यक्ष सोमेश थापाले जानकारी दिए । 

    सहकारीले शेयर सदस्यलाई कारोबारमा सहज होस् भनि एटिएम सेवा सञ्चालन गरेको छ । त्यस्तै मोबाइल बैङ्किङ सेवा पनि सञ्चालनमा छ । मोबाइलबाट नै रकम ट्रान्फर गर्नका साथै बिजुली, खानेपानी लगायतका बिल तिर्न पनि मिल्छ । 

    सहकारीले मन्थली लगायत बजारका व्यवसायीलाई क्युआर वितरण गरेको छ । जसले गर्दा सामान किन्न जाने उपभोक्ताले सोझै मोबाइलबाट नै रकम भुक्तानी गर्न सक्ने मन्थलीका व्यवसायी राकेश गुप्ता बताउँछन् । 

    सहकारीले जीवित छदा बचत गराउने मात्र हैन बीमाको व्यवस्था समेत गरिदिएको छ । कुनै बचत सदस्यको मृत्यु भएमा उसलाई राहत स्वरूप २० हजार रुपैयाँ प्रदान गर्ने गरेको छ । यस बाहेक बचतकर्ताका परिवारका सदस्यहरूको मृत्यु भएमा राहत स्वरूप ३ हजार रुपैँया सहयोग गर्ने गरेको छ । 

    मृत्यु भएको १३ दिन भित्रै परिवारलाई भेटेर दुःख साट्दै सहकारीले सो रकम हस्तान्तरण गर्ने गरेको छ । यति मात्र हैन कुनै पनि बच्चा जन्मिएको ६ महिना भित्र बाल बचत खाता खोल्न आएमा सो बच्चाको नाममा सहकारीको तर्फबाट ५ सय रुपैयाँ थप गरेर बचत गरिदिने गरेको छ । यस बाहेक गर्भवती तथा सुत्केरी सदस्यलाई सहयोग, ज्येष्ठ नागरिक तथा असल शेयर सदस्यहरूलाई सम्मान लगायतका सदस्य हितका कार्यक्रम सहकारीले गर्दै आएको छ । 

    सहकारीका शेयर सदस्य बिरामी पर्दा उपचार गर्न लैजान विना धितो निब्र्याजी रकम दिने व्यवस्था पनि सहकारीले मिलाएको छ । यसले गर्दा आपतमा सहकारी, खुसीमा सहकारी अनि दुःखमा पनि सहकारी भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय