मध्यपूर्व तनावका कारण तेलको मूल्य वृद्धि, प्रमुख सेयर बजार समेत प्रभाव

मध्यपूर्व तनावका कारण तेलको मूल्य वृद्धि, प्रमुख सेयर बजार समेत प्रभाव

शुक्रवार, असोज १८ २०८१
शुक्रवार, असोज १८ २०८१
  • images
    images
    मध्यपूर्व तनावका कारण तेलको मूल्य वृद्धि, प्रमुख सेयर बजार समेत प्रभाव
    images
    images
    मध्यपूर्वमा बढ्दो द्वन्द्वको आशङ्काप्रति लगानीकर्ताहरूको प्रतिक्रियास्वरूप बिहीबार तेलको मूल्य वृद्धि भएको छ भने विशेषगरी प्रमुख सेयर बजारमा गिरावट आएको छ ।
     
    अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलमाथि तेहरानको मिसाइल आक्रमणको प्रतिशोधमा इरानी तेल साइटहरूमा सम्भावित इजरायली आक्रमहरूबारे ‘छलफल गरिरहेको’ बताउनुभएपछि तेलको मूल्य बढेको हो । 
     
    अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट पाँच प्रतिशतभन्दा धेरैले बढेर प्रतिब्यारेल ७७ दशमलव ६२ डलर पुगेको छ भने अमेरिकी सम्झौता वेस्ट टेक्सास इन्टरमिडिएट पनि त्यसरी नै बढेको छ । 
     
    प्रमुख अमेरिकी स्टक सूचकाङ्कहरू दिनको अधिकांश समयमा नकारात्मक रहे । एसएन्डपी५०० शून्य दशमलव दुई प्रतिशतले घटेर बन्द भयो । लन्डन, पेरिस र फ्रेङ्कफर्टका सेयर बजार सबै रातो भएर बन्द भए । 
     
    अमेरिकी डकवर्कर्सको हडताल र अमेरिकी फेडरल रिजर्भको आगामी ब्याजदर कदमबारेको अनुमानले पनि लगानीकर्ताहरूलाई प्रभावित गरेको थियो । शुक्रबार प्रमुख रोजगारी प्रतिवेदन आउने भएको छ ।
     
    डलरको सुरक्षित आश्रय स्थितिले यसको मूल्य बढेको छ । बेलायती पाउन्ड डलरको तुलनामा एक प्रतिशतभन्दा बढीले घटेको छ । बैंक अफ इङ्ग्ल्यान्डका प्रमुख एन्ड्र्यु बेलीले बेलायती ऋण लागतमा तीव्र कटौतीको सङ्केत दिनुभयो ।
     
    एसियामा येन कमजोर हुँदा टोक्यो दुई प्रतिशतले बढेर बन्द भयो । यसले जापानका निर्यातकर्ताहरूलाई सहयोग गरेको छ । 
     
    चीनको कमजोर अर्थतन्त्रलाई प्रोत्साहित गर्न चालिएको साहसिक कदमका कारण भएको तीव्र वृद्धिपछि हङकङ एक साताभन्दा लामो समयमा पहिलो पटक घट्यो ।
     
    यो साता इजरायलमाथि इरानको क्षेप्यास्त्र आक्रमणले इजरायलको गाजा र लेबनानमा तेहरान समर्थित समूहहरूसँगको द्वन्द्व व्यापक क्षेत्रीय युद्धमा परिणत हुनसक्ने डर बढाएको छ ।
     
    “बजारहरू निलम्बित अवस्थामा छन्, इरानविरुद्ध इजरायलको अपेक्षित प्रतिशोधका लागि बजारहरू तयार छन्, यस्तो कदमले तेलको मूल्यलाई व्यापक रूपमा बढाउन सक्छ”, स्वतन्त्र बजार विश्लेषक स्टिफन इन्सले भन्नुभयो । 
     
    लेबनानी लडाकू समूह हिजबुल्लाहलाई समर्थन गर्ने इरानले इजरायलले जवाफी आक्रमण गरे आफ्नो प्रतिक्रिया बढाउने बताएको छ । 
     
    लेबनानमाथि इजरायली बमबारीमा अहिलेसम्म एक हजारभन्दा बढी मानिस मारिएका छन् । यसमा बेरुतमा भएका आक्रमणहरू पनि समावेश छन् । 
     
    इजरायली सेनाले बिहीबार लेबनानको राजधानी बेरुतमा हिजबुल्लाहको खुफिया मुख्यालयमा आक्रमण गरेको बताएको छ । सैनिकहरू भने सीमा नजिक लडाकूहरूसँग लडिरहेका थिए र युद्धक विमानहरूले मुलुकभर उनीहरूका गढहरूमा बमबारी गरिरहेका थिए ।
     
    यद्यपि विश्लेषकहरूले गत साता अमेरिकी भण्डारण अपेक्षाभन्दा बढेकाले तेलको मूल्य वृद्धि सीमित हुनसक्ने बताएका छन् । लिबियाको पूर्वी प्रशासनले पनि बिहीबार एक महिना लामो उत्पादन र निर्यात अवरोध अन्त्य गरेको घोषणा गरेको छ । 
     
    साउदी नेतृत्वको ओपेक प्लस तेल कार्टेलले डिसेम्बरदेखि उत्पादन बढाउने तय गरेको छ । यसले आपूर्तिको चिन्तलाई अझ कम गर्नेछ । 
     
    लगानीकर्ताहरूले शुक्रबार प्रमुख अमेरिकी गैर–कृषि पेरोल रोजगारी प्रतिवेदनमा ध्यान केन्द्रीत गर्दैछन् । यसले गत महिनाको चार वर्षमा पहिलो पटक कटौतीपछि फेडको ब्याजदर योजनाबारे सङ्केत दिन सक्छ । 
     
    बुधबारको आँकडाले सेप्टेम्बरमा अमेरिकी निजी क्षेत्रको रोजगारीमा अप्रत्याशित वृद्धि देखाएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com