महालक्ष्मी विकास बैङ्क ३०औँ बर्षमा : ७ बर्षमा ग्राहक सङ्ख्या करिब १०६ प्रतिशतले बढ्यो, डिजिटल बैङ्किङमा फड्को

महालक्ष्मी विकास बैङ्क ३०औँ बर्षमा : ७ बर्षमा ग्राहक सङ्ख्या करिब १०६ प्रतिशतले बढ्यो, डिजिटल बैङ्किङमा फड्को

सोमवार, जेठ ७ २०८१
सोमवार, जेठ ७ २०८१
  • images
    images
    महालक्ष्मी विकास बैङ्क ३०औँ बर्षमा : ७ बर्षमा ग्राहक सङ्ख्या करिब १०६ प्रतिशतले बढ्यो, डिजिटल बैङ्किङमा फड्को
    images
    images

    काठमाडौँ / विकास बैङ्कहरूमध्ये अग्रणी स्थानमा पर्ने महालक्ष्मी विकास बैङ्क आजदेखि २९ वर्ष पूरा गरी ३०औँ वर्षमा प्रवेश गरेको छ । हाल नेपालमा १७ ओटा विकास बैङ्कहरू छन् भने ८ ओटा राष्ट्रिय विकास बैङ्कमध्ये महालक्ष्मीलाई डिजिटल बैङ्किङ प्रवद्र्धनमासमेत अब्बल मानिन्छ । 

    नेपालमा विकास बैङ्कहरूमध्ये सबैभन्दा पहिले र सबैभन्दा बढी ३ अर्ब ७ करोड रुपैयाँ चुक्ता पुँजी पर्याउन सफल यो बैङ्कको स्थापना २०५२ सालमा भएको हो । 

    राष्ट्र बैङ्कबाट ‘ख’ वर्गको इजाजत पाएको महालक्ष्मी विकास बैङ्कको प्रधान कार्यालय काठमाडौँको दरबारमार्गमा रहेको छ भने देशभर १०३ ओटा शाखाहरू, ४९ ओटा एटिएम सुविधा रहेको छ । महालक्ष्मीले हाल ७ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा उपलब्ध गराइरहेको छ ।

    आर्थिक बर्ष (आव) २०७३/७४ को असार मसान्तसम्म ३ लाख ४० हजार ग्राहक सङ्ख्या रहेको बैङ्कले सात बर्षमा ग्राहक सङ्ख्या ६ लाख ६० हजार अर्थात १०५.८८ प्रशितले बृद्धि गरेको छ । हालसम्म महालक्ष्मी बैङ्कले करिब ७ लाख ग्राहकहरूलाई सेवा सुविधा प्रदान गरिरहेको बैङ्कका बजारीकरण विभागका विभागीय प्रमुख बसन्त बक्सीले जानकारी दिए । 

    ६ बर्षमा चुक्ता पुँजी ५८.३८ प्रतिशतले बृद्धि 

    २०५८ असार ५ गतेबाट कारोबार सुरु गरेको महालक्ष्मी विकास बैङ्कले ६ बर्षको अवधिमा ५८.३८ प्रतिशतले चुक्ता पुँजी वृद्धि गरेको छ ।  आव २०७३/७४ मा चुक्ता पुँजी २ अर्ब ६३ करोड ३७ लाख ९७ हजार रुपैयाँ रहेको चुक्ता पुँजी बृद्धि गरी २०७९/०८९ असार मसान्तसम्म ४ अर्ब १७ करोड १३ लाख १८ हजार रुपैयाँ पुर्याएको हो । 

    त्यस्तै, बैङ्कको नेटवर्थ प्रतिसेयर १३२ रुपैयाँ ४५ पैसाबाट बढेर १५४ रुपैयाँ ५१ पैसा पुगेको छ । बैङ्कको सर्वसाधरण सेयरधनीको सङ्ख्यामासमेत ६ बर्षको अवधिमा उल्लेखनीय बृद्धि भएको देखिन्छ । आव २०७३/७४ मा ६९८ जना संस्थापक सेयरधनी रहेकोमा हाल घटेर ६९५ जनामा झरेको छ भने सर्वसाधरण सेयरधनीको सङ्ख्या भने ६६ हजार १७६ बाट बढेर ७६ हजार २८३ पुगेको छ । 

    ६ बर्षमा बैङ्कको कुल सम्पत्ति २९ अर्ब २४ करोड १४ लाख रुपैयाँबाट बढेर ६१ अर्ब ८५ करोड ७३ लाख ७४ हजार रुपैयाँ पुगेको छ । 

    ६ बर्षमा थपियो ३२ ओटा शाखा र १४ ओटा एटिएम 

    ६ बर्षमा महालक्ष्मी विकास बैङ्कले थप ३२ ओटा शाखा बृद्धि गरेको तथ्याङ्क छ । आव २०७३/७४ मा उपत्यकामा १३ सहित देशभर ७१ ओटा शाखा सञ्जाल रहेको बैङ्कको हाल उपत्यकाभित्र २५ गरी देशभर १०३ ओटा शाखा सञ्जाल रहेका छन् ।

    यसैगरी, बैङ्कले एटिएमको सङ्ख्या बृद्धि गरी ४९ ओटा पुर्याएको छ । २०७४ असार मसान्तमा बैङ्कको एटिएम सङ्ख्या ३५ ओटा रहेकोमा गत असारसम्म बढेर ४९ ओटा पुगेको हो । 

    त्यस्तै, सूचना र प्रविधिको प्रयोग बढेसँगै बैङ्कले डेविट कार्डको सङ्ख्या र क्युआर सङ्ख्यामासमेत उल्लेखनीय बृद्धि गरेको छ । 

    ६ बर्षअघि यो सुविधा नरहेको बैङ्कले गत असारसम्म  कुल डेबिट कार्डको सङ्ख्या ९१ हजार ५४२ र क्युआर सङ्ख्या १५ हजार ७११ पुर्याएको छ । साथै, बैङ्कले क्रेडिट कार्डसमेत सञ्चालनमा ल्याएको छ भने पिओएस सेवासमेत सञ्चालन गरिने बैङ्कले जनाएको छ । 

    बैङ्कले प्रदेशगत स्तरमा आफ्नो सेवालाई बिस्तार गर्दै ८ स्थान ईटहरी, बीरगंज, नारायणगढ, काठमाडौँ, पोखरा, भैरहवा, नेपालगञ्ज, धनगढीमा प्रदेश कार्यालयहरूसमेत सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ । कारोबार विस्तारसँगै बैङ्कले कर्मचारी सङ्ख्यासमेत ६१७ जनाबाट बृद्धि गरी ८६६ पुर्याएको देखिन्छ ।

    निक्षेप र बचतकर्ताको सङ्ख्यामा उल्लेखनीय बृद्धि 

    वि.सं. २०७४ असार मसान्तसम्म बैङ्कले २५ अर्ब १३ करोड ६६ लाख रुपैयाँभन्दा बढी निक्षेप सङ्कलन गरेको थियो भने २०८० को असार मसान्तसम्म ५३ अर्ब ५१ करोड ९२ लाख रुपैयाँबढी निक्षेप जम्मा गरेको छ भने ४१ अर्ब ८० करोड ९२ लाख रुपैयाँ कर्जा लगानी गरेको तथ्याङ्क छ । ६ बर्षअघि सोही अवधिमा बैङ्कले २० अर्ब  ७२ करोड २४ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । 

    बैङ्कको बचतकर्ताको सङ्ख्या ६ बर्षमा १०५ प्रतिशत अर्थात ३४ लाख ८० हजार ५६ जनाले बृद्धि भएको देखिन्छ । २०८० असार मसान्तसम्म बैङ्कमा बचतकर्ताको सङ्ख्या ६ लाख ८० हजार ४३३ जना पुगेको छ । जबकि ६ बर्षअघि सोही अवधिमा यो सङ्ख्या ३ लाख ३२ हजार ३७७ जनामा सीमित रहेको थियो । त्यस्तै, ऋणीको सङ्ख्या १४ हजार ९५८ जनाबाट बृद्धि भएर २० हजार ४६० जना पुगेको हो । यो सङ्ख्या ५ हजार ४७२ जना अर्थात ३८.५८ प्रतिशतले बढेको हो । 

    सूचना प्रविधि र डिजिटल बैङ्किङ्मा फड्को 

    ६ बर्षको अवधिमा महालक्ष्मी विकास बैङ्कले सूचना प्रविधि र डिजिटल बैङ्किङ्मा समेत ठुलो फड्को मारेको देखिन्छ । बैङ्कले पछिल्लो आफ्नो सेवालाई प्रविधिमैत्री बनाउँदै चेकबिनै पैसा जम्मा गर्न सकिने सुविधासमेत ल्याएको छ । बैङ्कले डाटाको सुरक्षाको लागि डिजास्टर रिकभरी साइट भैरहवामा र डाटा हब काठमाडौँमा राखिएको जनाएको छ । साथै, सर्भर पर्चेज, सेक्युरिटी इन्हान्समेन्ट, अर्लाट अटोमेसन, अफिस अटोमेसनलगायतमा पनि थप काम गरिरहेको बैङ्कको भनाइ छ । 

    सुरक्षित तवरले घरबाटै काम गर्ने पद्दतिको समेत विकास गरेको महालक्ष्मी विकास बैङ्कले कर्जा प्रक्रियालाई स्वचालित गर्नको लागि डकुमेन्ट म्यानेजमेन्ट सिस्टम प्रयोगमा ल्याएको छ । 

    डिजिटल बैङ्किङलाई प्राथमिकतामा राख्दै आएको महालक्ष्मीले हाल सञ्चालनमा रहेको मोबाइल बैङ्किङ सेवालाई प्रतिस्थापन गर्दै ओम्नी च्यानलमा आधारित अत्याधुनिक बैङ्क एक्सपि प्रविधिमा स्तरोन्नति गरी गत आवदेखि सेवाको शुभारम्भ गरेको छ ।

    यसका साथै बैङ्कले चेकबिनै काउन्टरबाट पैसा निकाल्ने प्रविधि, कागजबिहीन भौचर प्रविधि), कार्ड बिना नै एटिएमबाट पैसा निकाल्ने प्रविधि जस्ता डिजिटल प्रविधिमूलक सेवा उपलब्ध गराइरहेको छ । 

    बैङ्कले ग्राहकहरूको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले भिसा इएमपि चिप बेस्ड ट्राभल कार्ड, इकमर्स कार्ड र डलर कार्ड जारी गरिसकेको छ । यी कार्ड जारी गर्ने विकास बैङ्कहरूमध्ये महालक्ष्मी अग्रणी बैङ्क हो । 

    विप्रेषण कारोवार विस्तार गर्ने रणनीति 

    महालक्ष्मी विकास बङ्कले विप्रेषण कारोबारलाई विस्तार गर्ने रणनीति लिएको छ । विदेश तथा स्वदेशमा रहेका विभिन्न बैङ्क र रेमिटेन्स कम्पनीहरूसँग थप सम्झौताहरू गरी कारोबार विस्तार गर्ने जनाएको हो । 

    २०८० असार मसान्तसम्म बैङ्कले राष्ट्रिय, अन्तर्राष्ट्रिय विप्रेषण कम्पनीहरूका साथै विभिन्न विप्रेषण कारोबार गर्ने कम्पनीहरूसँग सम्झौता गरी २ अर्ब ९६ करोड रुपैयाँबढी अन्तर्राष्ट्रिय विप्रेषण भित्र्याई ३६ लाख ५५ हजार रुपैयाँ बढी कमिसनसमेत आम्दानी गरेको थियो । 

    महालक्ष्मी विकास बैङ्कको सञ्चालक र सेयर सङ्ख्या 

    आर्थिक बर्ष २०७९/८० को असार मसान्तसम्म महालक्ष्मी विकास बैङ्कको ४ अर्ब १७ करोड चुक्ता पुँजी रहेको छ । महालक्ष्मी विकास बैङ्कमा कुल ४ करोड १७ लाख १३ हजार १८६ कित्ता सेयर रहेकोमा २ करोड १२ लाख ७३ हजार ७२४ कित्ता संस्थापक समूह र २ करोड ४ लाख ३९ हजार ४६१ सर्वसाधारण सेयर रहेको छ । 

    बैङ्कमा संस्थापकसमेत रहेका अध्यक्ष राजेश उपाध्यायको संस्थापक सेयर ५५ हजार ८५६ कित्ता र साधारण सेयर २३ हजार ३३२ कित्ता सेयर रहेको छ । त्यस्तै, अर्का संस्थापक सञ्जय गिरीको संस्थापक सेयर ५ लाख ५६ हजार ७६३ कित्ता र साधारण सेयर १ लाख ३६ हजार ५४२ कित्ता रहेको छ । 
    ग्रोइङ्ग प्रा.लि.का तर्फबाट दिपक कुमार रौनियारको २ हजार १६५ कित्ता संस्थापक सेयर र १२७ कित्ता साधारण सेयर रहेको छ भने सर्वसाधारण समूहबाट सञ्चालक बनेका श्याम कुमार रुङ्गाटाको ३ हजार ७२८ कित्ता साधारण सेयर रहेको छ । 

    यसैगरी सर्वसाधारण समूहका सञ्चालक रुपेन्द्र पौडेल र राहुल अग्रवालको क्रमशः ४ हजार ९५२ कित्ता र ७७७ कित्ता साधारण सेयर रहेको छ भने स्वतन्त्र सञ्चालक अम्बिका श्रेष्ठको बैङ्कमा सेयर नरहेको बताइएको छ । 

    राजस्वमा महालक्ष्मी विकास बैङ्कको योगदान 

    महालक्ष्मी विकास बैङ्कले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा अर्थतन्त्रमा योगदान पुर्याउँदै आएको छ । बैङ्कले गत आर्थिक बर्ष २०७९÷८० मा कुल ६७ करोड ७४ लाख ९ हजार रुपैयाँ कर तिरेको बैङ्कले जनाएको छ । गत बर्ष बैङ्कले आयकर बापत ३४ करोड ५ लाख २७ हजार रुपैयाँ र विभिन्न भुक्तानीमा अग्रिम कर कट्टी गरे वापत ३३ करोड ६८ लाख ८२ हजार रुपैयाँ राजस्व तिरेको बैङ्कले उल्लेख गरेको छ । 

    २०८० असार मसान्तसम्म बैङ्कको ६ लाख ८० हजार ग्राहकले बैङ्कमा निक्षेप जम्मा गरेको र २० हजारबढीले कर्जा प्राप्त गरेको बैङ्कले जनाएको छ । त्यस्तै, सो अवधिमा बैङ्कको  डेबिट कार्ड प्रयोगकर्ता ९१ हजार ५४२ जना, मोवाइल बैङ्किङ प्रयोगकर्ता ४ लाख ४२ हजार ९८७ रहेका छन् भने १५ हजार ७११ ओटा क्यूआर सेवा प्रदान गरिएको बैङ्कले जानकारी दिएको छ । त्यस्तै, असार मसान्तसम्म ८६६ जना कर्मचारी रहेको बैङ्कले जनाएको छ । 

    संस्थागत सामाजिक उत्तरदात्यित्व

    महालक्ष्मी बैङ्कले मुनाफामा मात्र केन्द्रित नभई समाजप्रतिको उत्तरदायित्वलाई आत्मसात् गर्दै आएको जनाएको छ । बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आफ्नो स्थापनाकाल देखि नै सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । 

    यसैको निरन्तरता स्वरूप बैङ्कले गत आवमा विभिन्न क्षेत्रहरुमा कार्यरत सामाजिक संघ संस्थाहरूलाई कुल ८२ लाख ४७ हजार रुपैयाँको आर्थिक सहयोग उपलब्ध गराएको छ । 

    एसआइपीमा पहुँच वृद्धि

    महालक्ष्मी विकास बैङ्कले व्यवस्थित लगानी (एसआइपी)मा पहुँच वृद्धि गर्न एनआईसी एशिया क्यापिटलसँग सहकार्य गरेको छ ।  एनआईसी एशिया क्यापिटलद्वारा सञ्चालित खुलामुखी योजना एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको वितरण एजेन्टको रूपमा महालक्ष्मी विकास बैङ्कले कार्य गरिरहेको छ । 

    यसबाट देशभर रहेका लगानीकर्ताहरूको एनआइसी एसिया डाईनामिक डेप्ट फण्डमा सहज पहुँच भई वित्तीय समावेशीता तथा वित्तीय सशक्तीकरणको माध्यमबाट समग्र वित्तीय क्षेत्रमा योगदान पुग्ने बैङ्कले जनाएको छ । 

    अन्तर्देशीय कारोबार भुक्तानीका लागि सम्झौता गर्ने पहिलो विकास बैङ्क

    महालक्ष्मी अन्तर्देशीय कारोबार भुक्तानीका लागि सम्झौता गर्ने पहिलो विकास बैङ्क हो । बैङ्कले नेपाल र भारत बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका नेपाल क्लियरिङ हाउस (एनसीएचएल)सँग सम्झौता गरेको छ । भारतमा नोष्ट्रो खाता सञ्चालनमा रहेकाले बैङ्कले उक्त सुविधा प्रदान गर्न सक्षम भएको हो ।

    अन्तर्देशीय कारोबार क्रस बोर्डर भुक्तानी सेवा सुरुवात लगत्तै नेपालमा रहेका भारतीय नागरिकहरूले नेपाल राष्ट्र बैङ्कद्वारा तोकिएको सीमा पालना गर्दै महालक्ष्मी विकास बैङ्कमा खोलिएको कुनैपनि यूपीआई ह्यान्डल लिंक गरिएको खातामार्फत भारतमा रहेको आफ्नो खातामा सिधै रकमान्तर गर्ने सुविधा उपलब्ध हुनेछ । 

    यसैगरी भारतमा रहेका नेपाली नागरिकले पनि यूपीआई इनेबल्ड एप प्रयोग गरेर त्यहाँको नियामक निकायले तोकेको सीमाको अधिनमा रही नेपालमा महालक्ष्मी विकास बैङ्कको यूपीआई ह्रयान्डल लिंक गरिएको खातामा सिधै रकमान्तर गर्ने व्यवस्था उपलब्ध छ । 

    यो अन्तर्देशीय भुक्तानी शुरु भए पश्चात विशेष गरी विद्यार्थीहरू, तीर्थयात्रीहरू, पर्यटकहरू तथा चिकित्सा उपचारका लागि भारत जाने ग्राहकहरूलाई प्रत्यक्ष लाभ हुने अपेक्षा गरिएको बैङ्कले जनाएको छ । 

    चालु आर्थिक बर्षको ९ महिनामा बैङ्कको सूचक कस्तो छ ? 

    महालक्ष्मी विकास बैङ्कले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ३७ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.९५ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा ७१ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको थियो । 

    खुद ब्याज आम्दानी बढे पनि खुद फि तथा कमिशन आम्दानी घटेको र खराब कर्जा बढेसँगै बैङ्कको नाफा प्रभावित भएको हो । समीक्षा अवधिमा बैङ्कको खुद ब्याज आम्दानी १०.२१ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ३.३८ प्रतिशत घटेको छ ।

    निष्क्रिय कर्जा २.८९ प्रतिशतबाट बढेर ४.६२ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज बढेर ३४ करोड ७४ लाख पुगेपछि बैङ्कको सञ्चालन मुनाफा ४६.४४ प्रतिशत घटेको छ । सो अवधिसम्ममा बैङ्कको वितरणयोग्य मुनाफा २ करोड ६७ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

    नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैङ्कको यस्तो आम्दानी ११ रुपैयाँ ६२ पैसा घटेर १२ रुपैयाँ १२ पैसामा सीमित भएको छ । सो अवधिसम्ममा बैङ्कको मूल्य आम्दानी अनुपात २७.२४ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ ८१ पैसा रहेको छ । बैङ्कको जगेडा कोषमा २ अर्ब २० करोड रुपैयाँ सञ्चित छ भने पछिल्लो ९ महिनामा बैङ्कको निक्षेप १५.७० प्रतिशत बढेको छ भने कर्जा ४ प्रतिशत बढेको छ । 

    हाल बैङ्कको हाल बैङ्कको प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिपेश लम्साल रहेका छन् भने नायब प्रमुख कार्यकारी अधिकृत ध्रुवराज तिवारी र सहायक प्रमुख कार्यकारी अधिकृत जलज कुमार अधिकारी र अमित बहादुर चन्द रहेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com