काठमाडौँ / सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कोशी प्रदेशमा ‘सेमिनार अन् कोशी लिडरसिप : इन्स्पायरिङ पर्फरमेन्स एण्ड अचिभिङ एक्सिलेन्स’नामक नेतृत्व विकास कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा प्रदेश प्रमुख, क्लस्टर हेड, शाखा प्रबन्धकसहित बैंकका विभिन्न सहकर्मीको सहभागिता रहेको थियो।
बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, उपप्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ कार्यकारीहरूको उपस्थितिमा सम्पन्न सेमिनारमा गत आर्थिक वर्षको प्रगतिमा समिक्षा गर्दै चालु वर्षका प्राथमिकताहरूमा गहन छलफल गरिएको थियो ।
केन्द्र र प्रदेशबीचको सहकार्य सुदृढ बनाउने विषयमा पनि अन्तरक्रिया गरिएको बैंकले जनाएको छ। यसअघि मधेश र बागमती प्रदेशमा यस्तै सेमिनार सम्पन्न भइसकेको र अन्य प्रदेशमा पनि क्रमशः आयोजना गरिने बैंकले जानकारी दिएको छ।
बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म कर्जा प्रवाह ११.१५ प्रतिशत बढ्दै १ खर्ब ७५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको तुलनामा निक्षेप सङ्कलन ११.६९ प्रतिशतले बढेर २ खर्ब १४ अर्ब ८ करोड रुपैयाँमा पुगेको छ।
त्यस्तै, खुद ब्याज आम्दानीमा पनि ११.२० प्रतिशत वृद्धि भई ६ अर्ब ३६ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ। हाल बैंकको सीडी रेसियो ८१.९१ प्रतिशत, सम्पत्ति प्रतिफल दर ०.५५ प्रतिशत र पुँजी प्रतिफल दर ५.८१ प्रतिशत कायम रहेको छ।
विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ प्राप्त गरेको सिटिजन्स बैंकले हालै नेपालमै पहिलो पटक फोनपेसँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सेवा सुरु गरेको छ।
साथै, मोबाइल बैंकिङ एपमार्फत सेयर आवेदन र सिआरएन नम्बर लिन सकिने सुविधा पनि सुरु गरेको छ। हाल बैंकले ६१ जिल्लामा २०० शाखा, १६९ एटिएम, ३ विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइमार्फत १९ लाख ३० हजारभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ।