तीजमा महिलाले मात्र ब्रत बस्नुपर्ने भन्ने छैन, पुरुषले बस्दा हुन्छ : धर्मशास्त्र विद् गौतम

तीजमा महिलाले मात्र ब्रत बस्नुपर्ने भन्ने छैन, पुरुषले बस्दा हुन्छ : धर्मशास्त्र विद् गौतम

सोमवार, भदौ ९ २०८२
सोमवार, भदौ ९ २०८२
  • तीजमा महिलाले मात्र ब्रत बस्नुपर्ने भन्ने छैन, पुरुषले बस्दा हुन्छ : धर्मशास्त्र विद् गौतम

    धर्मशास्त्र विद् प्राडा रामचन्द्र गौतमका अनुसार तीज भनेको तीन दिन मनाउने हो । नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्षसमेत रहेका उनले कुराकानीका क्रममा नाचगान गर्ने वा महिना दिनसम्म रमाइलो गर्ने कुरा शास्त्रमा नभएको बताए । उनले भने, “महिना दिनदेखि तीज मनाएर सारा खर्च गर्ने वा होटल बुक गर्ने कुरा विकृति हो । यसरी मनाउनु भनेर शास्त्रले पनि भनेको छैन ।” उनीसँग गरिएको कुराकानीको सम्पादित अंश प्रस्तुत छः 

    images
    images

    तीजको मौलिक र सांस्कृतिक महत्त्व छ । तीज भनेको राष्ट्रलाई चिनाउने पर्व पनि हो । यो पर्वको धार्मिक, साँस्कृतिक, परम्परागत र सामाजिक महत्त्व छ । जिन्दगी सुखमय र शान्त होस् भन्ने धार्मिक विश्वास पनि छ । 

    शास्त्रीय रूपमा तीजमा महिला र पुरूष दुवैले व्रत बस्नुपर्ने भएपनि सामाजिक रूपमा महिलाले श्रीमानको दीर्घायूको कामनाका लागि ब्रत बस्नुपर्छ भन्ने बुझाइ छ । व्रत गर्ने पुरुषले विधुर हुन नपरोस, नारीले अटल सौभाग्य र अविवाहितहरूले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय बचन रहेको पाइन्छ । 

    किन र कसरी बस्ने व्रत ? 

    शास्त्रले पतिलाई पनि राम्रो होस् जन्मिएका सन्तानहरूलाई राम्रो होस्, परिवारको कल्याण होस् भनेर तीजको व्रत बस्ने हो । यस लोकमा सुखशान्ति होस्, मरेपछि सद्गति प्राप्त होस् भनेर  तीजको व्रत बस्ने हो । व्रतबारे नबुझेर कतिपय दिदीबहिनीहरू गुनासो पनि गर्नुहुन्छ । त्यो भने बेठिक हो ।  

    तीज भनेको एक दिन अर्थात तृतियाको दिन मनाउने हो । दितृयाको दिन दर खाने हो । तीज मनाउँदा नुहाईधुवाई गर्ने सफा अनि चोखो बस्त्र लगाउने, शिवजीको पूजा गरि दर्शन गर्ने हो । शिवजीबाट आशिर्वाद लिने हो । 

    तीजको ब्रत तीन तरिकाले बस्नुपर्छ । निराहार, फलहार र जलहारका रूपमा बस्नुपर्छ । तीजको ब्रत बस्दा पतिको आयूको लागि हामी बस्दैनौँ भन्ने महिला धेरै हुन्छन् । नबस्नेलाई कुनै कर हुँदैन । ब्रत बस्ने, पुजाआजा गर्ने चाडपर्व मनाउने कुरा श्रद्धाको कुरा हो ।

    आस्था, निष्ठा, श्रद्धा र विश्वास छ उसैले मनाउने हो चाडपर्वहरू । जसको आस्था छैन उसले मनाउने होइन । तर अहिले महिलाहरूले एक महिना अघिदेखि तीज मनाउनुहुन्छ, त्यो अनावश्यक हो । चल्ती अनुसार भन्दैमा विकृति र विसंगति भित्रिनु भएन् । तीजको ब्रतमा केही खानु हुँदैन भन्ने होइन, आफ्नो स्वास्थ्य हेरेर ब्रत बस्ने हो । कसैले निराहार बस्छन । कसैले जलहार बस्छन् र कसैले फलहार बस्छन् । आआफ्नो रोजाइ हो । 

    ब्रत महिला–पुरुषले नै बस्ने हो

    तीज शिवजीको उपासना गर्ने हो । महिलाले मात्र ब्रत बस्नुपर्छ भन्ने होइन । पुरुषले पनि ब्रत बस्दा हुन्छ र बस्ने गरेको पनि पाइन्छ । दिनभर भोको बसेर शिवजीको पूजा गर्ने, शिवजीबाट आशिर्वाद प्राप्त गर्ने, जिन्दगीलाई सुखमय, शान्तिमय, आनन्दमय बनाउने र मरेपछि सद्गति प्राप्त गर्ने भन्ने हो । त्यो महिलाले मात्र गर्नुपर्छ भन्ने होइन, पुरुषले पनि गर्दा हुन्छ । 

    पूजा गर्ने विधि 

    शुद्ध भएर पूजा गर्नुपर्छ । चन्दन, अक्षता, फुल, नैबेद्यहरू सबै कुरा चढाउने धूपबत्ति बाल्ने काम पूजाभित्र पर्दछ ।  घरमा पूजा गर्दा होस या मन्दिरमै जाँदा किन नहोस तिनै बस्तुहरू चढाउने हो । शिवजी प्रसन्न हुन् भनेर धार्मिक रूपमा पूजाको विधि विधान गर्ने हो । घरमा गर्दा दियो, कलश र गणेश थप्नुपर्छ ।  शिवजीको मुर्ति अथवा शिवलिङ्ग स्थापना गर्नुपर्छ । 

    विकृति फैलियो

    तीज भनेको खास गरेर तीन दिन मनाउने हो । नाचगान गर्ने वा महिना दिनसम्म रमाइलो गर्ने कुरा शास्त्रमा छैन् । महिना दिनदेखि तीज मनाएर सारा खर्च गरेर वा होटल बुक गर्ने कुरा विकृति हो । यसरी मनाउनु भनेर शास्त्रले पनि भनेको छैन । दर खाने भनेको एउटा श्रद्धा, निष्ठा र आस्थाका साथ चोखो चिज खाएर भोलिपल्ट ब्रत बस्ने हो ।

    स्वास्थ्य असर गर्नेगरी खाने पनि होइन । स्वास्थ्यलाई लाभ गर्ने गहकिलो र स्वस्थ्यकर परिकारहरू खाने हो । देवताको पालामा पनि दर खाने चलन थियो । तर अहिलेको तीजमा बदलियो । एक महिना अगाडिदेखि दर खानु हुन्न थियो । यो चाहीं महिलाहरूले रमाइलो गर्न खोजेको मात्र हो ।

    रमाइलो नगर्नुस् भन्ने कुरा होइन गर्नुस् तर अनावश्यक तडकभडक र लामो समय खर्चेर गर्ने होइन । दर खाने भनेको तीजको अघिल्लो दिन खाने हो ।  हिजोआज त महिना दिनदेखि होटेल बुकिङ्ग गर्ने, रमाइलो गर्ने, नाचगान गर्ने गरिन्छ । यो राम्रो भएन् । नाचगान गर्नु नराम्रो कुरा होइन तर त्यहाँ विकृति विसंगति भित्रिएको छ । कसैलाई असजिलो पर्ने तीज मनाउनु राम्रो होइन । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय