काठमाडौँ / भेन्चर हायर पर्चेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) बाबुराम शर्माले हायर पर्चेज कम्पनीहरूबाट अटोमोवाइलमा क्षेत्रमा २६ अर्ब ५० करोड रुपैयाँ लगानी भएको बताएका छन् ।
काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाडा अटो सो, २०२५’ मा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालको संयुक्त रूपमा आयोजना गरिएको ‘कर्जा नीतिमा स्थिरताः अटोमोबाइल बजारको दीर्घकालिन विकासको आधार’ विषयक अन्तर्क्रियामा उनले यस्तो बताएका हुन् ।
काठमाडौँमा दर्ता भएका हायर पर्चेज कम्पनीले गाउँ गाउँमा गएर कर्जा प्रवाह गरेको उनको भनाइ छ । उनले हायर पर्चेज कम्पनीहरूलाई कर्जा प्रवाहमा सहजीकरण गरिदिन आग्रह पनि गरे ।
नेपालमा स्थापित कम्पनीले विक्री गर्ने गाडीमा ऋण दिँदा समस्या कम आउने गरेको पनि उनले बताए । अहिले विद्युतीय गाडीको माग बढी भएकाले त्यसका लागि कर्जाको माग बढी हुने गरेको उनको भनाइ छ ।
अटो क्षेत्रमा कर्जा प्रवाह गर्दा बिक्री पछिको सेवा र नेपालमा भएको सर्भिस लगायतका विषयलाई पनि केन्द्रमा राखिने उनले बताए । यसैगरी हायर पर्चेज क्षेत्रमा खराब कर्जाको समस्या न्यून रहेको उनको भनाइ छ ।