झापा / मेटलाइफ नेपालले झापास्थित कन्काई सहारा सर्पदंश उपचार केन्द्रसँगको सहकार्यमा विशेष अभियान सुरु गरेको छ । कम्पनीले ग्रामीण क्षेत्रमा बढ्दो सर्पदंशको जोखिम नियन्त्रण गर्न कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विशेष अभियान सुरु गरेको हो।
तापक्रम वृद्धि र कृषिमुखी जीवनशैलीका कारण विशेष गरी ग्रामीण समुदायमा सर्पदंशको जोखिम बढिरहेको पृष्ठभूमिमा यो पहल गरिएको हो ।
नेपालमा सर्पदंश एक गम्भीर जनस्वास्थ्य समस्या बनेको छ, जसका कारण हरेक वर्ष सयौंको ज्यान जाने गरेको तथ्यांक छ। झापा जिल्ला यसबाट सबैभन्दा बढी प्रभावित जिल्लामध्ये एक मानिन्छ।
जनचेतनाको अभाव, समयमा उपचार नपाउनु र स्वास्थ्य सुविधा पर्याप्त नहुँदा धेरै मृत्यु र दीर्घकालीन स्वास्थ्य समस्या उत्पन्न हुने गरेको देखिन्छ ।
सोही सन्दर्भमा मेटलाइफ नेपालले जनचेतना अभिवृद्धि, रोकथामका उपायहरूको प्रचार–प्रसार र जीवनरक्षक उपचारको पहुँच सहज बनाउन योगदान पुर्याउने घोषणा गरेको हो ।
कार्यक्रम अन्तर्गत ग्रामीण बासिन्दालाई सर्पदंश रोकथामका उपायहरू, तात्कालिक प्रतिक्रिया सम्बन्धी ज्ञान र सहज उपचार पहुँच उपलब्ध गराइनेछ। यसले अन्ततः सर्पदंशका कारण हुने मृत्यु दरमा कमी ल्याउने अपेक्षा गरिएको छ।
मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भने, “सर्पदंश ग्रामीण नेपालमा गम्भीर तर प्रायः बेवास्ता गरिने सार्वजनिक स्वास्थ्य समस्या हो। कन्काई सहारा सर्पदंश उपचार केन्द्रसँग सहकार्य गरेर, हामी समुदायलाई सर्पदंशबाट बच्न आवश्यक ज्ञान दिनुका साथै समयमा अत्यावश्यक उपचारमा पहुँच सुनिश्चित गर्न प्रतिबद्ध छौँ। सुरक्षित र स्वस्थ भविष्य निर्माण गर्नु हाम्रो प्रमुख लक्ष्य हो।”