काठमाडौँ / अटोमोबाइल व्यवसायीहरूको छाता सङ्गठन अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को आयोजनामा सुरु भएको सवारीसाधन प्रदर्शनी मेला ‘नाडा अटो शो २०२५’ मा अवलोकनकर्ताको उत्साहजनक उपस्थिति रहेको छ । नाडा कार्यसमिति सदस्य मेघराज पौडेलले ‘नाडा अटो शो २०२५’ को पहिलो दिन मङ्गलबार नै अवलोकनकर्ताको उत्साहजनक उपस्थिति रहेको जानकारी दिए ।
उनले प्रदर्शनको हिजो पहिलो दिनमा नै १९ हजार ७ सय एक जना अवलोकनकर्ताहरूको ऐतिहासिक उपस्थिति रहेको बताए । उनले भने, “पहिलो दिन नै एकदमै ऐतिहासिक सहभागिता पायौं । हिजो १९ हजार ७ सय एक जना अवलोकनकर्ताहरूले अवलोकन गर्नुभयो । उत्साहजनक सहभागिता छ । व्यापार, व्यवसाय प्रवर्धन राम्रो भएको छ ।”
त्यस्तै, उनले गाडीको बुकिङहरू पनि उत्साहजनक रूपमा आएको बताउँदै अवलोकनकर्ताहरूबाट उल्लेखनीय प्रतिक्रिया आएको बताए । शोमा सहभागिता नजनाउने कम्पनीहरूको ठूलो अवसरबाट बन्चित भएको उनको भनाइ छ ।
“पहिलो दिन उल्लेखनीय र उत्साहजनक प्रतिक्रिया पायौँ । बुकिङहरू पनि उल्लेखनीय छन् । जो यहाँ सहभागी हुनुभयो उहाँहरूले राम्रो अवसर प्राप्त गर्नुभएको छ । अब कसैले लिनु भएन भने, उहाँले ठूलो अवसर मिस गर्नुभयो ।”
पौडेलका अनुसार शोको मुख्य आकर्षणको रूपमा फ्लाइङ ट्याक्सी, रोबोटिकहरू रहेका छन् । शोमा फ्लाइङ ट्याक्सीजस्ता नवीनतम प्रविधिहरूको प्रदर्शन गर्नु आउने पिढीको लागि मोबिलिटी सस्टेनेबल र सेफर मोबिलिटी हुनुपर्छ भन्ने सन्देश दिनु रहेको पनि उनी बताउँछन् ।
“हाम्रो फ्लाइङ ट्याक्सी, रोबोटिक जस्ता नयाँ इनोभेसनहरू हामीले सेट गरेको छौँ। प्रेजेन्ट र फ्युचर मोबिलिटीलाई फ्युजन गरेका छौँ । मोबिलिटी र हाम्रो कल्चरलाई पनि फ्युजन गरेका छौँ । जसले आउने पिढीको लागि आउने मोबिलिटी सस्टेनेबल र सेफर मोबिलिटी हुनुपर्छ भनेर नाडा लागिरहेको छ,” उनले भने ।
शोमा इभी गाडीहरूले पनि उत्साजनक उपस्थिति जनाएका छन् । जुकी इभी बिवाईडी, डिपल ,अवतार, लगायत गाडिहरू प्रदर्शनमा राखिएको उनले जनाए ।
फ्लाइङ ट्याक्सीलाई नेपालमा उडाउने जस्ता विषयहरूमा नीति निर्माताहरूले पर्याप्त अध्ययन नगरेको भन्दै भविष्यमा आउने नवीनतम प्रविधिहरूको लागि पनि नीति निर्माण गर्न आवश्यक रहेको बताए । सुरक्षित यात्राको लागि पनि यसको नीति निर्माण आवश्यक रहेको बताउँदै उनले यसलाई वहसको विषय बनाउनुपर्नेमा जोड दिए ।
उनले भने, “हामीले दुई वर्ष अगाडि कल्पना नै गरेका थिएनौँ, नाडा अटो शोमा फ्लाइङ ट्याक्सी ल्याउनेछौँ भनेर । किनभने नीतिगत कुराहरू हुन्छ । नीति निर्माताहरूले पनि यो विषयमा पर्याप्त अध्ययन नगरेको हुनसक्छ । भोलि आउँला भनेर पोलिसी बन्दैनन् । यहाँ समस्यासहित समाधान निकाल्ने हो । हामीले यो फ्लाइङ ट्याक्सी भोलि नेपालको ट्रेनअनुसार रेस्क्युको लागि अनि सर्ट डिस्टेन्सको लागि यसलाई सुरक्षित यात्राको लागि प्रयोग गर्न सक्छौँ भने, यसको नीति निर्माणको लागि अब सुरु गर्ने हो । यस विषयमा पनि नीति निर्मातालाई वहसमा ल्याउनुपर्यो, ताकि यसलाई सहज ढंगले यसको नीति निर्माण बनाउन सकौँ ।”
मुख्य आकर्षकको रूपमा प्रदर्शनमा राखिएको उक्त फ्लाइङ कार चीनबाट धरौटीमा ल्याइएको हो । जुन शो सम्पन्नसँगै सम्बन्धित देशमा फिर्ता पठाइने छ । “अहिले हामीले यसलाई धरौटीमा लिएर आएको छौँ । नाडा अटो शो पछाडि फेरि सम्बन्धित देशमै पठाउँछौँ । यसबाट नयाँ सन्देश दिन चाहन्छौँ ।”
उनका अनुसार अवलोकनको लागि दुई सय रूपैयाँ बराबरको टिकटको व्यवस्था गरिएको छ । यसपटकको शोमा दिपलको उड्ने ट्याक्सी, मानवीकृत रोबोट नै मुख्य आकर्षकको रूपमा राखिएको छ ।
अटो शोमा ३० भन्दा बढी सवारी साधनका ब्रान्ड राखिएका छन् । केही व्यवसायीले ‘नाडा अटो शो’लक्षित गरेर नयाँ गाडी लन्चसमेत गरेका छन् । सवारी साधनसँगै टायर, लुब्रिकेन्ट्स जस्ता सवारी साधनसँग सम्बन्धित अन्य स्टलहरू पनि राखिएका छन् । नाडा अटो शो भदौ ८ गतेसम्म चल्ने छ ।