काठमाडौँ / नाडा अटो शो २०२५ को पहिलो दिन नेपालकै पहिलो फ्लाइङ कार ‘डीपल eVTOL’ औपचारिक रूपमा सार्वजनिक गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले एमएडब्लु वृद्धि ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल र प्रबन्ध निर्देशक विवेक सिकरियासँगै संयुक्त रूपमा फ्लाइङ कार अनावरण गरे।
नाडा अटो शो नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी हो, जहाँ प्रत्येक वर्ष नयाँ प्रविधि, उत्पादन र इनोभेटिभ विचार सार्वजनिक हुने गर्छ। यस वर्ष चाहिँ इतिहासमै पहिलो पटक फ्लाइङ कार प्रदर्शनीमा देखाइएकाले यो संस्करणलाई विशेष र महत्वपूर्ण बनाएको छ।
उद्घाटन समारोहमा बोल्दै अध्यक्ष अग्रवालले भने, “नेपालमा भविष्यको यातायात ल्याउने दिशामा यो ठूलो उपलब्धि हो।” त्यस्तै प्रबन्ध निर्देशक सिकरियाले भने, “नेपालको यातायात प्रणालीलाई नयाँ परिभाषा दिन सक्ने यस प्रविधि ल्याउन पाउँदा हामीलाई गर्व लागेको छ।”
‘डीपल eVTOL’ साधारण गाडी होइन, चांगान अटोमोबाइल र विश्वप्रसिद्ध अटोनोमस हवाई सवारी निर्माता भ्ज्बलन को सहकार्यमा तयार गरिएको अत्याधुनिक फ्लाइङ कार हो। यसलाई सुरक्षित, वातावरणमैत्री र सर्वसाधारणका लागि प्रयोगयोग्य बनाउन दुवै कम्पनीले दीर्घकालीन लक्ष्य लिएका छन्।
चांगान अटोमोबाइलले सन् २०३० सम्ममा नयाँ आधुनिक यातायात समाधान विकास गर्न २.७६ अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने घोषणा गरिसकेको छ। eVTOL सीधै माथि उड्न र भुइँमै फर्केर अवतरण गर्न सक्षम छ। यसले सडकमा हुने भीड कम गर्ने, ध्वनि प्रदूषण घटाउने र कार्बन उत्सर्जन नियन्त्रण गर्ने अपेक्षा गरिएको छ।
नेपालमा पहिलो पटक सार्वजनिक गरिएको यो फ्लाइङ कारको डिजाइन आकर्षक छ भने प्रविधि अत्याधुनिक छ। यसले नेपाललाई भविष्यको दिगो र स्मार्ट यातायातको तयारी गरिरहेका मुलुकहरूको सूचीमा समेटेको छ।
एमएडब्लु वृद्धि ग्रुपले निरन्तर विश्वस्तरीय उत्पादन नेपालमा भित्र्याउँदै आएको छ। यसपटकको फ्लाइङ कार अनावरण कम्पनीको अर्को उल्लेखनीय उपलब्धि बनेको छ। नाडा अटो शो २०२५ मात्र होइन, नेपालको अटोमोबाइल इतिहासमै यो क्षण महत्वपूर्ण रूपमा दर्ज हुने देखिन्छ।