काठमाडौँ / नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा थुप्रिएको तरलता व्यवस्थापन गर्न आज फेरि २५ अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन गर्न लागेको छ।
बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) बढेपछि राष्ट्र बैंकले आज दिउँसो ३ बजे बोलकबोल प्रक्रिया मार्फत रकम सङ्कलन गर्न लागेको हो।
राष्ट्र बैंकका अनुसार, निक्षेप दिन चाहने ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले कम्तीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँका दरले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।
बोलकबोल ब्याजदरका आधारमा गरिनेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ। यो निक्षेप सङ्कलन ४२ दिनका लागि हुनेछ, जसको साँवा तथा ब्याज भदौ २५ गते राष्ट्र बैंकले भुक्तानी गर्ने जनाएको छ।
राष्ट्र बैंकले पछिल्ला दिनमा बैंकिङ प्रणालीमा अत्यधिक तरलता देखिएपछि त्यसको व्यवस्थापन गर्न निरन्तर रूपमा खुला बजार सञ्चालन उपकरण प्रयोग गर्दै आएको छ।