काठमाडौँ / इन्धनबाट चल्ने सवारीसाधन राम्रो कि ब्याट्रीबाट अर्थात् विद्युतीय सवारीसाधन राम्रो र किफायती ? मानव स्वास्थ्यका दृष्टिकोणबाट भन्ने हो भने इभि गाडी नै स्वस्थ्यकर र किफायती छ । तर गाडीको क्षमता, अवस्था, भूगोल अर्थात् रोडको अवस्था, आम्दानी र खर्चको हिसाबकिताब गर्दाचाहिँ कुन गाडी उत्तम त ?
हो, यो प्रश्न धेरै सेवाग्राहीको मात्रै होइन, व्यवसायीको पनि आम सवाल हो । आखिर कुन सस्तो वा किफायती छ त ? अनि गरेको लगानी कति वर्षमा उठ्न सम्भव छ त ? मासिक वा वार्षिक खर्च कति हुन्छ त ?
आज हामी यी सवालहरुको मिहिन ढङ्गबाट जवाफ खोज्दै छौँ । पहिले एउटा १६ सिट भएको डिजेलबाट चल्ने माइक्रोको हिसाब गरौँ । अहिले नेपालमा इन्धनबाट चल्ने सवारीसाधन भित्राउँदा औसतमा २ सय ८० प्रतिशत कर लाग्छ । यही करका कारण इन्धनबाट चल्ने सवारीसाधनको मूल्य अत्यधिक महङ्गो हुने गरेको छ ।
नेपाली बजारमा १६ वा १७ सिटको डिजेलबाट चल्ने माइक्रोको मूल्य ९० देखि ९५ लाख रुपैयाँ पर्छ । यो माइक्रोमा १७ सिट हुन्छ । अर्थात् एक स्थानबाट अर्को स्थानसम्म यात्रु लैजान एक पटकमा अधिकतम १६ जना प्यासेन्जर लैजान सक्छ भने एक जना चालक गरी कुल १७ जना यात्रु रहने क्षमता हुन्छ ।
काठमाडौँ–चितवन–काठमाडौँंमा इन्धन माइक्रोको खर्च
यदि अहिले काठमाडौँ–चितवन–काठमाडौँ गर्ने एउटा इन्धन माइक्रोको उदाहरण दिने हो भने कति किलोमिटर गुड्दा कति मूल्यको इन्धन खपत गर्छ र मासिक कति गुड्दा मर्मत खर्चमा कति खर्च हुन्छ भन्ने विश्लेषण गरौँ ।
काठमाडौँदेखि चितवनको भरतपुरसम्म जानका लागि औसतमा १५० किलोमिटरको दुरी पार गर्नुपर्छ । सामान्य अवस्थामा काठमाडौँदेखि चितवनको भरतपुर जान ४ घण्टा ३० मिनेटको समय लाग्छ । अनि काठमाडौँदेखि चितवन जानका लागि १५० किलोमिटर यात्रा गर्नका लागि इन्धनबाट चल्ने गाडीले औसतमा प्रतिलिटर ९ किलोमिटर माइलेज दिएको अवस्थामा १७ लिटर इन्धनको खपत गर्छ ।
अहिले डिजेलको मूल्य औसतमा १५० रुपैयाँ प्रतिलिटर रहेको छ । यसरी हेर्दा एकतर्फीरूपमा काठमाडौँबाट चितवन जाने हो भने इन्धनबाट चल्ने माइक्रोमा २ हजार ५५० रुपैयाँको इन्धन खपत हुन्छ ।
त्यसैगरी चितवनमै खाना खाने र एक दुई घण्टा आराम गरेर पुनः काठमाडौँ फर्कने आउँदा अझै बढी इन्धनको खर्च हुन्छ । चितवनबाट काठमाडौँतर्फ उकालो बाटो समेत पर्ने भएकाले औसत १८ लिटर डिजेल खपत हुने गर्छ ।
१८ लिटर डिजेलको मूल्य प्रतिलिटर १५० रुपैयाँका दरले हिसाब गर्दा २ हजार ७ सय रुपैयाँ हुन्छ । यसरी काठमाडौँ चितवन काठमाडौँ गर्दा एक दिनमा इन्धन मात्रै ५ हजार २ सय ५० रुपैयाँको खपत गर्छ ।
एउटा माइक्रोले सामान्य अवस्थामा सजिलै काठमाडौँ–चितवन–काठमाडौँको यात्रा गर्न सक्छ र त्यसका लागि उसले एक दिनमा ५ हजार २ सय ५० रुपैयाँको इन्धन खपत गर्छ ।
एउटा कमर्सियल माइक्रो महिनामा औसतमा २६ दिन गुड्न सक्छ भन्ने अनुमान गरौँ । किनभने सातामा एक दिन छुट्टीमा बस्न सक्ने भएकाले मासिक २६ दिनको हिसाब गरी महिनाको हिसाब गर्दा मासिक १ लाख ३६ हजार ५ सय रुपैयाँको इन्धन खपत गर्छ ।
त्यसैगरी १२ महिना अर्थात् एक वर्षको हिसाब निकाल्दा इन्धनबाट चल्ने माइक्रोले एक वर्षमा १६ लाख ३८ हजार सय रुपैयाँको त डिजेल मात्रै खपत गर्छ ।
त्यसबाहेक इन्धनबाट चल्ने गाडीले दैनिक ३ सय किलोमिटर र मासिक ७ हजार ८ सय किलोमिटर गुड्दा मर्मत खर्चमा पनि उत्तिकै खर्च हुन्छ ।
सर्भिसिङमै औसत मासिक १६ हजार रुपैयाँको खर्च
इन्धनबाट चल्ने माइक्रो प्रत्येक ५ हजार किलोमिटरमा फुल सर्भिसिङ गर्नुपर्ने हुन्छ । एक पटक फुल सर्भिसिङ गर्दा १० देखि १५ हजार रुपैयाँ खर्च हुन्छ ।
किनभने एक पटक फुल सर्भिसिङ गर्दा मोबिल, मोबिल फिल्टर, डिजेल फिल्टर लगायतका सामानहरू फेर्नुपर्छ भने अन्य जनरल चेकअप समेत गर्दा १० देखि १५ हजार रुपैयाँसम्म खर्च हुन्छ ।
अब एक महिनामा ७ हजार ८ सय किलोमिटर गुड्यो भने महिना दिन नपुग्दै सर्भिसिङ गर्नुपर्ने हुन्छ । सामान्य अवस्थामा प्रत्येक दुई महिनामा तीन पटक सर्भिसिङ गर्दा औसतमा ३५ हजार रुपैयाँ खर्च हुन्छ । १२ महिना अर्थात् एक वर्षमा १८ पटक सर्भिसिङ गर्नु परेमा सर्भिसिङका लागि मात्रै २ लाख १० हजार रुपैयाँ खर्च हुन्छ ।
अब इन्धनबाट चल्ने गाडीले एक वर्षभरिमा पूर्ण क्षमतामा काम गर्दा इन्धन र मोबिल तथा सर्भिसिङ लगायतका सबै काममा खर्च गर्दा वार्षिक १८ लाख ४८ हजारको खर्च हुन्छ ।
इभि अर्थात् विद्युतीय माइक्रो
अहिले नेपाली बजारमा १६, १४ र ११ सिट भएको इभि माइक्रो र भ्यान उपलब्ध छन् । अहिले नेपाली बजारमा १४ सिट क्षमता भएको इभि माइक्रोको मूल्य ५४ लाख रुपैयाँ रहेको छ भने १६ सिट भएको माइक्रोको मूल्य ७० लाखको हाराहारीमा छ ।
खरिद मूल्यमा फरक भएजस्तै यी माइक्रोहरुको यात्रु सङ्ख्यामा पनि २ जनाको थपघट छ । त्यसै गरी ब्याट्रीको क्षमतामा पनि फरक हुन्छ ।
अहिले नेपालमै धेरै चलेका १६ सिट क्षमताकै मिनीबस वा माइक्रो बससँग तुलना गरेर हिसाब निकालौँ ।
३ सय किलोमिटर यात्रा गर्न कति विद्युत् खपत गर्छ ?
अहिले नेपालमा चलिरहेका इभि माइक्रो वा मिनिबसले पनि एक पटक फुल चार्ज गर्दा ३ सय किलोमिटर रेञ्च दिने दाबी गर्ने गरिएको छ । यद्यपि बाटोको अवस्था अनुसार यो फरक पर्न सक्छ । अघि उदाहरण दिएको जस्तै एउटा इभि माइक्रोले काठमाडौँ–चितवन–काठमाडौँ यात्रा गर्दा वास्तवमा कति विद्युत् खपत गर्छ र कति खर्च निस्कन्छ भन्ने हिसाब निकालौँ ।
काठमाडौँ–चितवन–काठमाडौँ यात्रा गर्न कति प्रतिशत विद्युत् खपत हुन्छ ?
यदि इभि माइक्रोमा काठमाडौँबाट चितवन जाने हो भने करिब ४० प्रतिशत चार्ज घटेर नै पुग्न सक्छ । किनभने इभि गाडीमा ओरालो बाटोमा आफैँ चार्जसमेत हुने भएकाले थानकोटबाट नौबिसेसम्म पुग्दा ओरालो बाटोमा करिब ८ प्रतिशत चार्ज बढ्छ । उदाहरणका लागि थानकोट पुग्दा गाडी ८० प्रतिशत चार्जमा छ भने नौबिसे पुग्दा सामान्यतः ८७ देखि ८८ प्रतिशत चार्ज पुग्ने गर्छ । तर नौबिसेबाट पृथ्वी राजमार्गमा प्रवेश गरेपछि भने चार्ज बढ्दैन ।
सामान्यतः काठमाडौँबाट चितवन पुग्दा माइक्रोमा ४० प्रतिशत चार्ज घट्ने गर्छ । ४० प्रतिशत चार्ज घट्ने भनेको औसतमा १३ युनिट विद्युत् खपत गर्ने हो जसको अधिकतम चार्जिङ शुल्क १० रुपैयाँ प्रति एक प्रतिशत मूल्य राखेमा ४ सय रुपैयाँको विद्युत् खपत गर्छ । किनभने राजमार्गमा चार्ज गर्दा प्रति प्रतिशत १० रुपैयाँ लिने गरिएको छ ।
अब चितवनबाट काठमाडौँ आउँदाको विद्युत् खपतको हिसाब निकालौँ । चितवनबाट काठमाडौँ आउन पनि १ सय ५० किलोमिटर नै दुरी रहेको भए पनि उकालो बाटो भएकाले ७० प्रतिशतसम्म विद्युत् खपत गर्न सक्छ । ७० प्रतिशत विद्युत् खपत गर्दा राजमार्गमै चार्जिङ गर्ने गरी मूल्य निर्धारण गर्ने हो भने ७ सय रुपैयाँको विद्युत् खपत गर्न सक्छ ।
यसरी काठमाडौँ–चितवन–काठमाडौँ यात्रा गर्दा इभि माइक्रोले अधिकतम् मूल्यमै चार्जिङ स्टेसनमा फास्ट चार्जिङबाट चार्ज गरेको अवस्थामा पनि अधिकतम १ हजार १ सय रुपैयाँमा दुईतर्फी विद्युतको खर्च पूरा हुन्छ ।
कति पर्छ चार्जिङको शुल्क ?
अहिले नेपालमा बढी चलेको १४ सिट क्षमताको इभि माइक्रोको २० प्रतिशतबाट १ सय प्रतिशत चार्ज गर्ने हो ४० वाटको फास्ट चार्जरबाट चार्ज गर्दा करिब एक घण्टाको समय लाग्छ । यसरी २० प्रतिशतबाट फुल चार्जमा लैजाँदा करिब २५ युनिट विद्युत् खपत गर्छ ।
फास्ट चार्जरबाट चार्ज गर्दा प्रति एक प्रतिशतका दरले शुल्क तिर्ने गरेका छन् । काठमाडौँ लगायतका सहरी क्षेत्रमा फस्ट चार्जरबाट ब्याट्री चार्ज गराउँदा प्रति प्रतिशत ७ रुपैयाँ लिने गरेका छन् । यसरी हेर्दा यदि माइक्रोको ब्याट्री २० प्रतिशत मात्रै छ र फास्ट चार्जरबाट फुल चार्ज गराउने हो भने ८० प्रतिशतको चार्ज बढाउन ८० प्रतिशतका ७ रुपैयाँका दरले अर्थात् ५६० रुपैयाँ खर्च लाग्छ ।
यदि कसैले स्लो चार्जिङबाट रातको समयमा वा रातभर चार्ज गराउने हो भने प्रति युनिट १५ रुपैयाँमै चार्ज गराउन सक्छन् । एक युनिट विद्युत्ले सामान्यतः ३ प्रतिशत चार्ज बढ्न हुन्छ । यो भनेको प्रति प्रतिशत ५ रुपैयाँ पर्छ ।
यसरी यदि इन्धन गाडी चलाएर काठमाडौँ–चितवन–काठमाडौँ गर्ने हो भने इन्धन माइक्रोले दैनिक ५ हजार ४ सय रुपैयाँको इन्धन खपत गर्दा इभि माइक्रोले केवल १ हजार १ सय रुपैयाँमै आफ्नो खर्च पूरा गर्छ ।
इभिको वार्षिक मर्मत खर्च कति पर्छ ?
इभि गाडीमा गियर, क्लज लगायतका उपकरण नहुने भएकाले यसको मर्मत खर्च अत्यन्तै न्यून रहेको छ । प्रत्येक दुई महिनामा एक पटक इभि गाडीको सर्भिसिङ गराउने हो भने पनि एक पटकको सर्भिसिङ शुल्क करिब २ हजार ५ सय रुपैयाँमै हुन्छ । इभि माइक्रोहरुको पहिलो सर्भिसिङ २ हजार ५ सय किलोमिटरमा गराइन्छ भने त्यसपछि दोस्रो सर्भिसिङ १० हजार किलोमिटरमा गराइन्छ । दोस्रो सर्भिसिङमा कबिर ९ हजार रुपैयाँ खर्च हुन्छ ।
तेस्रो सर्भिसिङदेखि प्रत्येक ६ हजार ५ सय किलोमिटरमा सर्भिसिङ गर्नुपर्ने हुन्छ र प्रत्येक सर्भिसिङमा १० हजार रुपैयाँ बराबरको खर्च हुने इभि व्यवसायी अनिल श्रेष्ठले बताए । यसो गर्दा औसतमा वार्षिक १५ पटक सर्भिसिङ गर्नुपर्दा १ लाख ५० हजारको हाराहारीमा सर्भिसिङमा खर्च हुन्छ ।
इन्धन गाडीले वार्षिक कति कमाउँछ ?
इन्धन गाडीले वार्षिक कति कमाउँछन् भनेर हिसाब गर्दा गाडीमा कति जना यात्रु छन् भन्ने कुरा पनि हुन्छ । अहिले काठमाडौँ–चितवन–काठमाडौँकै कुरा गरौँ ।
काठमाडौँबाट चितवन जानका लागि औसत भाडा ६ सय रुपैयाँ रहेको छ । एउटा इन्धन गाडीमा १६ सिट हुँदा र पूरै सिट फुल हुँदा ९ हजार ६ सय रुपैयाँ कमाउन सक्छन् । तर उक्त रकमबाट प्रति प्यासेन्जर ५० रुपैयाँ यातायात मजदुरका नाममा जान्छ । त्यसपछि प्रति प्यासेन्जर ५ सय ५० रुपैयाँका दरले भाडा आउँदा १६ जना यात्रुबाट ८ हजार ८ सय रुपैयाँ प्राप्त हुन्छ ।
अब चितवनबाट फर्कँदा पनि पूरै सिटमा यात्रु छन् भनेर बुझ्दा ८ हजार ८ सय रुपैयाँ नै प्राप्त हुँदा दुईतर्फीका भाडा गरी दैनिक १७ हजार ६ सय रुपैयाँ कमाई हुन्छ । तर यसमा दैनिक ५ हजार ४ सय रुपैयाँको इन्धन खर्च घटाउनुप¥यो । त्यसो गर्दा दैनिक १२ हजार २ सय रुपैयाँ बाँकी रहन्छ । अब यसमा चालकलाई दैनिक भत्ता ८ सय रुपैयाँका दरले दिने हो भने दैनिक ११ हजार ४ सय रुपैयाँ गाडी धनीको हातमा पर्छ ।
यसलाई २६ दिनलाई महिना मानेर हिसाब गर्दा मासिक २ लाख ९६ हजार ४ सय रुपैयाँ कमाई हुन्छ । तर यसमा चालकलाई दिने मासिक तलबको पनि हिसाब गर्नुपर्ने हुन्छ । चालकलाई भत्ताबाहेक मासिक ३० हजार रुपैयाँ तलब दिने हो भने मासिक २ लाख ६६ हजार ४ सय रुपैयाँ धनीको हातमा पर्छ ।
अब १२ महिना अर्थात् १ वर्षको कमाई हिसाब गर्दा ३१ लाख ९६ हजार ८ सय रुपैयाँ कमाई हुन सक्छ । तर यसमा वार्षिक सर्भिसिङ शुल्कबापत २ लाख १० हजार रुपैयाँ घटाऊँ । यसो गर्दा वार्षिक २९ लाख ८६ हजार ८ सय रुपैयाँ हुन आउँछ ।
उक्त रकममा पनि इन्सुरेन्स वार्षिक औसतमा ९० हजार रुपैयाँ, रोड ट्याक्स करिब ३० हजार रुपैयाँ घटाऊँ । यसो गर्दा वार्षिक २८ लाख ६६ हजार ८ सय रुपैयाँ कमाई हुन्छ ।
उक्त रकमबाट पनि टायर लगायत फेर्नुपर्ने सामान, सामान्य दुर्घटना लगायतका खर्चमा वार्षिक एक लाख ६६ हजार ८ सय रुपैयाँ कायम गरौँ । यसो गर्दा एउटा इन्धनबाट चल्ने माइक्रो बसले वार्षिक २७ लाख रुपैयाँ कमाउन सक्छ । यो रकममा पनि मासिक एक लाखका दरले वार्षिक १२ लाख रुपैयाँ घर खर्चमा छुट्टायौँ भने वार्षिक १५ लाख रुपैयाँ बचत हुन्छ ।
इभिले कति कमाउँछ कति बचाउँछ ?
अब यही रुटमा चल्ने इभि माइक्रोको आम्दानी र खर्च निकालौँ । १४ सिट भएको माइक्रोको भाडा पनि काठमाडौँबाट चितवन जान लाग्ने भनेको ६ सय रुपैयाँ नै हो । त्यसमा यातायात मजदुरले लिने ५० रुपैयाँ घटाउँदा ५५० रुपैयाँ प्रति यात्रु गाडीले पाउँछन् । यसरी हेर्दा एकतर्फी भाडा ७ हजार ७ सय रुपैयाँ पाउँछन् भने दुईतर्फीको भाडा १५ हजार ४ सय रुपैयाँ हुन्छ । अब यसमा दैनिक विद्युत् खपत १ हजार १ सय रुपैयाँ घटाऊँ । यसो गर्दा दैनिक १४ हजार ३ सय रुपैयाँ हुन जान्छ ।
अब यसमा चालकलाई दैनिक भत्ता ८ सय रुपैयाँ राखौँ । यसो गर्दा गाडी धनीले दैनिक १३ हजार ५ सय रुपैयाँ प्राप्त गर्छन् ।
मासिक २६ दिन मान्दा ३ लाख ५१ हजार रुपैयाँ मासिक आम्दानी सम्भव छ । त्यसमा चालकको तलब ३० हजार रुपैयाँ घटाउँदा मासिक ३ लाख २१ हजार रुपैयाँ कमाउन सकिन्छ । अब यसलाई वार्षिक रुपमा हिसाब गर्दा ३८ लाख ५२ हजार रुपैयाँ कमाउन सकिन्छ ।
यसमा सर्भिसिङ शुल्क भनेर औसतमा वार्षिक १ लाख ५० हजार रुपैयाँ घटाउँदा वार्षिक ३७ लाख २ हजार रुपैयाँ आम्दानी सम्भव छ ।
अब यो आम्दानीमा पनि वार्षिक इन्सुरेन्स र सडक दस्तुरको १ लाख ३० हजार रुपैयाँ घटाऊँ । यसो गर्दा वार्षिक ३५ लाख ७२ हजार रुपैयाँ आम्दानी हुन्छ ।
उक्त रकममा पनि टायर फेर्नुपर्ने र अन्य सामान्य दुर्घटना तथा मर्मतका लागि वार्षिक १ लाख ७२ हजार खर्च राखौँ । त्यसो गर्दा पनि वार्षिक ३४ लाख रुपैयाँ आम्दानी सम्भव छ ।
अब तपाईँको घर खर्चका लागि मासिक एक लाख रुपैयाँ राखौँ । त्यसो गर्दा वार्षिक १२ लाख रुपैयाँ तपाइँको घर खर्चमा जान्छ । बाँकी २२ लाख रुपैयाँ तपाईँको बचत हुन सक्छ ।
लगानी र लगानी फिर्ताको हिसाब
अब तपाईँले ९० लाख पर्ने गाडी ४० प्रतिशत डाउन पेमेन्टमा किन्नुभयो भने सुरुमा ३६ लाख तिर्नुपर्छ र ५४ लाख रुपैयाँ बाँकी रहन्छ । १० प्रतिशत ब्याजमा बैंकबाट ५४ लाख ऋणमा गाडी झिक्नुभयो भने तपाईँले मासिक ७१ हजार ५ सय रुपैयाँ तिरेर १० वर्षमा उक्त गाडी आफ्नो बनाउन सक्नुहुन्छ ।
यता ५४ लाख पर्ने इभि गाडी लिनुभयो भने र त्यसमा ४० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्दा तपाईँले सुरुमा २१ लाख ६० हजार रुपैयाँ बुझाउनुपर्ने हुन्छ । बाँकी रहेको ३२ लाख ४० हजार रुपैयाँ ऋण लिँदा तपाईँको आम्दानीको अनुपात हेर्दा कति वर्षमा गाडी आफ्नो बनाउन सकिन्छ त ?
यसलाई हिसाब गर्दा तपाईँको सबै खर्च कटाएर वार्षिक २२ लाख बचत भनेको मासिक १ लाख ८३ हजार रुपैयाँ बचत हो । अब तपाईँले लिनुभएको ऋणको सावाँ र किस्ता तिर्ने हो भने इन्धनको गाडीभन्दा खर्च कम भएको कारण तपाईँले बढी किस्ता तिर्न सक्नुहुन्छ ।
तर तपाईँले इन्धनको गाडी जत्तिनै मासिक किस्ता तिर्नुभयो अर्थात् मासिक ७१ हजार ५ सय रुपैयाँ तिर्नुभयो भने ४ वर्ष ९ महिनामा तपाईँको ऋण पूरा हुन्छ र गाडी आफ्नो हुन्छ । तर तपाईँको बचत अझै बढी हुने भएकाले तपाईँले मासिक १ लाख रुपैयाँ किस्ता तिर्नुभयो भने ३ वर्ष २ महिनामै उक्त गाडीको तपाईँको नाममा आउन सक्छ ।
यसरी हेर्दा उस्तै प्रकृतिको इन्धनबाट चल्ने गाडी र विद्युतबाट चल्ने गाडी वा माइक्रोको मासिक आम्दानी, खर्च, बचत हेर्दा तपाईँले इभि गाडीमा गरेको कुल लगानी कम्तीमा ५ वर्षमा उठाउन सक्नुहुन्छ भने इन्धन गाडीमा गरेको लगानी उठाउन कम्तीमा १३ वर्ष लाग्ने देखिन्छ ।