काठमाडौँ / मेडिकल व्यवसायी दुर्गा प्रसाईँ कारागारबाटै अपिल गरेका छन् । कारागारबाटै उनले स्वकीय सचिवमार्फत एक सन्देश सार्वजनिक गर्दै आफूले बैंकको किस्ता नियमित बुझाइरहेको जानकारीसमेत दिएका छन् ।
प्रसाईले आफूले लिएको बैंक लोन, चलाइरहेको स्कुल–अस्पताल र निर्माणाधीन पाँचतारे होटल किस्ता नियमित बुझाएको उल्लेख गरेका छन् । उनले केहीले आफूले लोन नतिर्ने भन्दै दुष्प्रचार गरेकोमा दुःख व्यक्त गर्दै भनेका छन्, “तपाईहरूमध्य आजपनी केहीले भन्ने गरेको सुनेको छु आफूले बैंकको लोन तिर्नु पर्दैन ? फेरि पनि स्पष्ट पार्न चाहान्छु बैंकमा मैले मेरो सम्पत्ति धितो राखेर लोन लिएको छु, अस्पताल र स्कुल सञ्चालन गरिरहेको छु, पाँचतारे होटल निर्माणाधिन अवस्थामा छ, म कारागारमा छु तर पनि नियमित बैंकको किस्ता बुझाईरहेको छु अन्यथा मलाई के गरी सक्काउन सकिन्छ भनेर लागेको राज्यसत्ताले मलाई आजसम्म कालोसूचीमा राख्दैन थियो होला ?”
आफूले देशमा स्थायित्व चाहन्छु, शान्ति चाहन्छु, म कम्युनिष्ट पार्टीलाई एक बनाउन लागिपरेको थिएँ, देशका लागि धेरै सोचिरहेकोसमेत उनले स्पष्टिकरण दिएका छन् । उनले लेखेका छन्, “आज हातखुट्टा बाँधिएको कैदि बनेर बस्नुपरेको छ । स्थायित्व होस भनेर कम्युनिष्ट पार्टि एक गराउने पहल नगरेको हुँ र मैले ? मैले मेरा लागि कम देशका लागि धेरै सोचिरहेछु आज पनि ।” अपिलमा उनले आफ्नो परिवारका केही सदस्यहरूलाईसमेत सम्झिएका छन् ।
हेर्नुस् सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको उनको अपिल
देशबासी समस्त आमाबुवा दाजुभाई तथा दिदिबहिनीहरूमा हार्दिक नमस्कार ।
हाल म नेपाल सरकार, नेपालका अनेक क्षेत्रका माफिया, तस्कर, देशहित विपरितका काममा व्यस्त राजनितिज्ञको मुकुण्डो उदाङ्गो पारेका कारण कारागार जीवन बाँचिरहेको छु । तपाईँलाई यो नलागोस् कि म यहाँ बाँचिरहेको मात्र छु । म त यहाँ आगामी यात्राको योजना बनाउँदै छु । धेरैको मनले आज पनि एउटै कुरालाई विश्वास गरेको पाएको छु कि म चैत्र १५ गतेको आन्दोलनका कारण कारागारमा छु । तर मलाई यो कुरामा विश्वास छैन कि म सोही दिनको आन्दोलनका कारण छु । किनकी १५ गते तिनकुनेमा त म नआउँदै प्रहरीले त्यो क्षेत्रलाई कुरुक्षेत्र बनाइसकेको थियो ।
अश्रु ग्यासले कुहिरी मण्डल बनाएको थियो, गोली चलाइरहेको थियो । म त गाडिको पछाडि उभिएर साथीहरूसँग गफिदै तिनकुने आउँदै थिएँ। जब एक्कासी मेरै गाडीमा अश्रुग्यास खस्यो, मेरै अगाडिबाट प्रहरीको गोली गयो, मैले बुझेँ कि आज मलाई सिध्याउने योजना छ । अनि बल्ल मैले मेरो सवारी चालकलाई बाहिर निकालेर प्रहरीतर्फ गाडि हुइक्याएको हुँ । मलाई त्यतिबेला नै प्रहरीले नियन्त्रणमा लियोस् भन्ने थियो तर लिएन । यो बाहेक मैले तिनकुनेमा शान्त रहनुहोस् बाहेक अरु केही भनेकै छैन ।
यो मेरो कमजोरी थियो ? बरु मेरो एउटा कमजोरी भएको हो । मैले शान्तिपूर्ण कार्यक्रम गर्ने भने पनि सरकारले यत्रो बर्दिधारी गुण्डा खटाउँछ । नागरिक मार्न सक्छ । हाम्रो अभियान बदनाम् बनाउन जुन हदसम्मपनि जान सक्छ भनेर पूर्वानुमान गर्न सकिनँ त्यो मेरै कमजोरी हो । आदरणीय देश प्रेमी महानुभावहरू म यो सामाजिक आवाज बोल्न थालेको मेरो रहरले होइन म त मेरै व्यापारमा रमाइरहेको थिए । आफ्नै हातले सिर्जित मेरा अस्पतालको गुणस्तर बृद्धि र बिरामीको सेवा नै मेरो दैनिकी थियो ।
ऐया.. ऐया गर्दै अस्पताल आएको बिरामी मुसुक्क हाँस्दै परिवारका सदस्यसँग गफिदै फर्किदै गरेको देखेपछि कुन आनन्द आउँथ्यो म शब्दमा भन्न सक्दिनँ ।मैले प्रत्येक बिरामीको मुस्कानले अस्पताल निर्माण ताकाका दुःख बिर्सन्थेँ । म त्यसैमा रमाइरहेको थिए, त्यसैको बिस्तारमा व्यस्त थिएँ...। म अलि कडा छु भन्ने लाग्छ सायद धेरैलाई म जति कडा देखिन्छु त्यति नै भावुक छु । झापामा एक दिन बिहानै एउटा खबर फैलियो । खबर यति दुःखदायी थियो कि आज पनि सम्झिदा जिउँ सिरिङ्ग गर्छ । तीन बहिनी एउटै रुखमा झण्डिएर आत्महत्या...!
मलाई त्योभन्दा पहिला आत्महत्या गर्नेहरू कायर हुन भन्ने लाग्थ्यो । जब उनीहरूको आत्महत्याको कारणबारे थाहा पाएँ चारैतिर अँध्यारो देखेँ । केही हजार लघुवित्तको ऋण समयमा बुझाउँन नसक्दा लघुवित्तवालाको तनाव सहन नसकेर उनीहरूले आत्महत्या गरे...।
सुनेर मथिङ्गल हल्लियो । सकेको सहयोग मृतकका बुवालाई गरेँ । घर फर्किएँ । निद्रा पर्न छोड्यो । कुनै समय गरिव विपन्न सिमान्तकृत दलित, किसानको मुक्तिका लागि भन्दै उनैलाई युद्धमा भिडाएको माओवादीको साक्षी बनेकोमा आफैँलाई हिनताबोध भयो ।
जुन जिल्लाबाट यो देशको कार्यकारी छन् । समृद्धिको गफ लगाएर थाक्दैनन् । उनैको राजनीतिक सहयोगी बनेकोमा आफैँलाई हिनताबोध भइरहेको थियो ।एकाएक अर्को खबर फैलियो संसद भवन अगाडि प्रेम आचार्यले आत्मदाह गरे । जब आत्मदाह गरेर जलेर छियाछिया भएको मुटुलाई पूर्ण जलाएका प्रेमको सुसाएड नोट पढेँ । आज पहिलो पटक भन्दैछु “म ढोका थुनेर रोएको छु ।” प्रेमको त्यो कष्टपूर्ण व्यवसायिक यात्रामा मैले मेरा पनि दुःखका दिन देखेँ । तर त्यसपछि मलाई अब भावनामा आँशु बगाएर हुँदैन भन्ने भान भयो ।
म केवल मेरा लागि मात्र हुनुहुँदैन भन्ने भयो। मेरा लागि मैले प्रशस्तै गरेको छु । के म जन्मनु, हुर्कनु, कमाउँनु खानु र मर्नुका लागि मात्र हुँ त भन्ने प्रश्नले पिरोल्न थाल्यो । मन असाध्यै बेचैन भएपछि म माताको दर्शन गर्न माता पाथिभरा पुगेँ । माताको महाभक्त मैले माताको आर्शिवाद लिएर एउटा प्रण गरेँ “माता मलाई आर्शिवाद दिनुहोस् म देशलाई देश जस्तै बनाउन सकुँ, हराएको धर्म, सस्कार, संस्कृति, रितिरिवाज, चालचलन, भेषभूषा बचाउँन सकुँ, आफ्नै देशमा परिश्रम गरेर रमाउँदै गरेका नागरिक खुशी साथ परिवारसँग रमाइरहेको देश बनाउन सकुँ ।”
जसरी अल्झिएको धागो फुकाउन पुरानो गाँठोमै पुगेर फुकाउनु पर्छ । देशलाई फेरि उही ‘मेरो प्यारो नेपाल’ बनाउन २०४६ सालकै संविधानमा फर्किनुपर्छ भन्ने निष्कर्षमा पुगी २०७९ साल मङ्सीर १ गते देशको पूवी सीमाना झापाको मेचिपुलमा श्री ५ महाराज धिराज ज्ञानेन्द्र बिरबिक्रम शाहदेव सरकारको हातबाट पानसमा दिप बाली उज्यालो नेपालको सङ्कल्प र परेवा उडाई शान्त नेपालको महाअभियानको सङ्कल्प गरि गराएको थिएँ ।
धर्म हराएको आजको नेपाललाई सनातन धर्म सापेक्ष मुलुक सर्वमान्य नेतृत्व नभएको आजको बिना मियोको दाईं भएको देशलाई राजतन्त्रात्मक शासन व्यवस्थायुक्त मुलुक बनाउने अभियान राष्ट« राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानको औपचारिक घोषणा मैले म बन्न होईन म मरेरै भए पनि देश बनाउन नै घोषणा गरेको हुँ ।
मलाई त्यसपछिका कठिन दिन त्यसबेलै थाहा थियो । म माथि अब केके आइलाग्न सक्छ भन्ने मलाई त्यतिबेलै पुर्वानुमान नभएको हुन्थ्यो त आज म क्यान्सरको बिरामी कारागारमा पनि अरु साथीहरूलाई सुन्दर र सुसज्जित जीवनको सुनौलो सपना देखाउँदै बाँचिरहेको हुने थिइनँ । आज मैले आफ्नै जीवनलाई नियालिरहेको छु । एक सामान्य गरिब परिवारमा आमाले मकै खन्दै गर्दा मकैबारीमा जन्मिएको म कुन उद्देश्यका लागि जन्मिएँ होला ?
शास्त्रले पनि भन्छ कि प्रत्येक मानिसको जन्म कुनै न कुनै उद्देश्य पूरा गराउन भगवानमार्फत हुन्छ । हैन भने बिहान साँझ हातमुख जोर्न धौधौ मेरी आमालाई पनि त आशा थियो होला मेरो छोरो राम्रो पढोस् । जागिरे होस् तर न मैले पढ्नै सकेँ न आमाको रहरअनुसार जागिरे हुन । बरु मैले डाक्टर पढाउने मेडिकल कलेज बनाएँ । हजारौँ मानिसलाई जागिर दिएँ । के यो सब भगवानको चाहाना बेगर सम्भव थियो होला र ?
म आफैँले आफैँलाई प्रश्न गरिरहेको छु “म किन मेरै बारेमा सोचेर बसिनँ ? मैले मेरो परिवारप्रतिको कर्तव्य पूरा गरेर मात्रै हुदैन थियो र ? मेरी श्रीमती, आमा, दिदी, छोराबुहारी, छोरी, नातीलाई पनि त लाग्दो हो मेरो श्रीमान, छोरा, भाइ, बाबा अरुको बुवा जस्तै परिवारको मात्र भइदिए घर कति शान्त हुँदो हो ! नपुग्दो के छ र ? कतै मैले उनीहरू मािथ अन्याय गरेर आज अनावश्यक नागरिक नागरिक भन्दै हिँडिरहेको त छैन ?”
प्रश्न मनमा खेल्न नपाउँदै एउटै रुखमा झुण्डिएका ३ चेली, बानेश्वरमा शरीरमा पेट्रोल खनाएर आत्मदाह गर्ने प्रेम आचार्य, विदेशका शव गृहमा बर्षौँदेखि दाहसंस्कार पर्खेर बसेका नेपाली युवाका लासहरू, खाडिका कोठिमा बन्धक नेपाली चेलीहरू एकैपटक आएर भनेजस्तो सुन्छु “तपाईँ तपाईँको घरको मात्र हो र हाम्रो हैन ?”
फेरि रगत उम्लिन्छ । जोश भरिन्छ । माता दुर्गाको शक्ति एकाएक आएजस्तो हुन्छ । अनि होमिन्छु बिदेशबाट लास ल्याउन । अलपत्र नेपाली युवा ल्याउन ।बन्धक बनेका चेलीको उद्दार गर्न । पैसा बिनाको रोग पालेर बसेकाको उपचार गर्न । लुघुवित्तको मार खप्न नसकेर नाम्लो लिएर जङ्गल हिँडेका चेलीलाई साहस दिन । यस्तै अनेक जुन सायद तपाईँहरूले त्यसक्षणबाट देखिरहनुभएकै थियो ।
लघुवित्तको मार खेप्न नसकेर मर्न हिँडेका चेलीहरू जसलाई हाम्रै अभियानले बाँच्ने प्रेरणा दियो । उहाँहरू आज अभियानको नेतृत्व तहमा बसेर अरुमा आशाको संचार गर्दै हुनुहुन्छ । मैले मेरा लागि गर्नु केही थिएनँ र छैन पनि । एक सामान्य परिवारको छोराले आफ्नो जीवनकालमा जे जति गर्न सक्छ त्यो मैले मेरा लागि मेरो परिवारको लागि गरिसकेको छु ।
हुन त कसैले कसैका लागि गरिदिएर पुग्दैन पनि । जसरी मेरा पिताले गरिदिएर मलाई पुगेनँ । त्यसैगरी मैले गरेकोले मेरो सन्ततिलाई पनि पुग्दैनँ र त मेरा छोरा बुहारी, छोरी पनि आफ्ना लागि सङ्घर्ष गरिरहेकै छन् । तर, मैले मेरो र मेरो परिवारका लागि मात्र होइन । समाजका लागि पनि केही गर्नुपर्छ भनेरै देशका बेथितीबिरुद्ध आफ्नो सर्वस्व दाउमा राखेर आवाज बुलन्द पारेको हुँ।
मैले हाम्रो अभियान सुरु गर्नुपूर्वका दिन एक पटक ठण्डा दिमाग लगाएर सोच्नुहोस् त १० प्रतिशतमा हस्ताक्षर गराएर आफुखुशी बैंकले १८ प्रतिशत ब्याज असुल गर्दैन थियो र ? गाउँगाउँका सोझा आमा दिदीबहिनी बैंक लघुवित्तबाट पीडित भएर दिनभर जङ्गल मध्यरात बल्ल घर फर्किनुपर्ने अवस्था थिएन र ?
देशमा सीमित तस्कर दलालको हालि मुहाली छ । बैंक उनीहरूकै । अस्पताल उनीहरूकै । रेटिङ्ग कम्पनी उनीहरूकै । ब्रोकर कम्पनी उनीहरूकै । उद्योग उनीहरूकै ।
खानी उनीहरूकै भनेर मैले जनतालाई झुट बोलेको थिएँ र ? नेपालमा पश्चिमा संस्कृतिले जरो गाड्दा हाम्रो अस्तित्व नामेट हुँदैछ भनेर मैले गलत बोलेको थिएँ र ? मैले केचाहिँ गलत बोलेको थिए ? तपाईँहरूमध्य आज पनि केहीले भन्ने गरेको सुनेको छु । आफूले बैंकको लोन तिर्नु पर्दैन ? फेरि पनि स्पष्ट पार्न चाहान्छु । बैंकमा मैले मेरो सम्पत्ति धितो राखेर लोन लिएको छु ।
अस्पताल र स्कुल सञ्चालन गरिरहेको छु । पाँचतारे होटल निर्माणाधिन अवस्थामा छ, म कारागारमा छु तर पनि नियमित बैंकको किस्ता बुझाइरहेको छु अन्यथा मलाई के गरी सक्काउन सकिन्छ भनेर लागेको राज्यसत्ताले मलाई आजसम्म कालोसूचीमा राख्दैन थियो होला ? म देशमा स्थायित्व चाहाने मान्छे हुँ । शान्ति चाहाने मान्छे हुँ । म गरी खान रुचाउने मान्छे हुँ । आज हातखुट्टा बाँधिएको कैदी बनेर बस्नुपरेको छ ।
स्थायित्व होस् भनेर कम्युनिष्ट पार्टी एक गराउने पहल नगरेको हुँ र मैले ? मैले मेरा लागि कम देशका लागि धेरै सोचिरहेछु आज पनि। सबै नेपालीले आफ्ना सन्तानका साथमा जीवन जिउन पाउन, प्रत्येक हजुरबुवा हजुरआमाका काखमा नातिनातिना हुन् भनेर अभियान सुरु गरेको मलाई मेरो नातिले बहुत याद गर्छ रे।
हजुरबा कैले आउने सोध्छ रे । परिवारले बाहिर जानुभएको छ आउनुहुन्छ भन्दा मोवाइलमा फोटो हेर्छ रे । एक मन सोच्छ कारागारमै बोलाएर एकछिन
भए पनि नाति खेलाउँ । अनि सोच्छु के सम्हालिएला र ! मन भक्कानु छुट्यो नातिका अगाडि भने के भन्ला उसले ? विद्यार्थी बनाएर पठाएको छोरी यहीँ महिना डाक्टर बनेर फर्किदै छे ।
एयरपोर्टमै पुगेर पिता प्रेम दर्शाउँला भन्ने रहर रहरमै सीमित हुने भयो । मेरो यस्तै हाल छ । तपाईँ सबैको सदा सुन्दर होस् भनि भगवान पशुपतीनाथसँग कामना गरी बसेको छु । एउटा कुराले मनमा डेरा जमाएर बसेको छ सबै स्वर्ग जान चाहाने रहेछन् तर मर्न कोही नचाहाने रहेछन् । स्वर्ग जान चाहाने तर मर्न डराउनेहरूका लागि पनि म हजारपटक मरिदिन तयार छु स्वर्गानुभूत तपाईँ गरिरहनुहोला ।
म कारागार रहेका बखत हाम्रो अभियानका आदरणीय साथीहरूलाई मेरो आग्रह कसैले दुःखका साथ बिलौना गर्यो भने गाँस काटेर भए पनि सहयोग गर्नु किनकि हाम्रो त मूल धर्म नै हो सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः सर्वे भद्राणि पश्यन्तु मा कश्चिदुःखभाग्भवेत ।
जो आर्थिक अभावमा उपचारबाट बञ्चित हुनुहुन्छ झापाको बि.एण्डसी अस्पताल जानुहोला । मेरो नाममा बिल बनाएर उपचार गराउनु । बिहान साँझ खान नै धौधौ भयो भने अभियानका साथीहरूलाई भन्नुहोला।
जो वास्तवमै पिडामा हुनुहुन्छ । चिन्ता नगर्नुस्, सूर्यमा सधैँ ग्रहण के लाग्ला र ! एकदिन त खुल्ला नि आकास अनि उज्यालो हुनेछ धर्ती। हामी मिलेर बनाउँला सुन्दर नेपाल, हाम्रो नेपाल, आहा ! भन्न लायक नेपालीले भरिभराउ नेपाल ।
(कारागारमा दुर्गा प्रसाईसँगको संवाद स्वकिय सचिवमार्फत)