काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धिसँगै कारोबार रकम पनि बढेको छ । आज नेप्से परिसूचक ८०.९७ अङ्कले बढेर ३९७३.७० बिन्दुमा कायम भएको हो । यो २.७९ प्रतिशतको वृद्धि हो ।
नेप्सेमा आज ३१९ कम्पनीको चार करोड ३५ लाख ८१ हजार २२८ कित्ता सेयर एक लाख ७७ हजार १०१ पटक खरिद बिक्री हुँदा रु. २० अर्ब आठ करोड ५३ लाख ६७ हजार २९३ बराबरको कारोबार भएको छ ।
आजको कारोबार पछि बजार पुँजीकरण रू ४९ खर्ब ६२ अर्ब १२ करोड नाघेको नेप्सेले जनाएको छ । सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह ४.६३, जीवन बिमा समूह ४.३६ र लघुवित्त समूह ४.०७ प्रतिशतले बढेको छ ।
बैङ्किङ २.१०, विकास बैङ्क २.२६, वित्त १.९४, होटल तथा पर्यटन ३.४४ र जलविद्युत् समूह १.९० प्रतिशतले बढेको छ । त्यसैगरी, लगानी ३.३४, म्युचुअल फन्ड ०.५६, निर्जीवन बिमा २.५६, व्यापार १.०१ र अन्य समूह ३.२६ प्रतिशतले बढेको छ ।
आजको कारोबारमा ट्रेड टावर लिमिटेड, शिवम् सिमेन्ट लिमिटेड, सान्भी इनर्जी लिमिटेडलगायत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा एलबीबीएल डिबेञ्चर–२०८९ ३.९४ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको ७१ करोड ८८ लाख ८५ हजार ७४५ बराबरको कारोबार भएको छ ।
कारोबार भएका सेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै सनराईज फोकस्ड इक्विटी फण्डको २२ लाख ३७ हजार ३९५ कित्ता सेयर खरिदबिक्री भएको छ ।