बुटवल / मञ्जुश्री फाइनान्स लिमिटेड, बुटवल शाखाको बैंकिङ्ग साझेदारीमा सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल नियमित रक्तदाता संघद्वारा आयोजित रक्तदान कार्यक्रम तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
बुटवल–७ दीपनगरस्थित सिद्धेश्वरी लालकुमारी मावि परिसरमा सम्पन्न शिविरमा ८० जनाले रक्तदान गरेका थिए भने २९२ जनाले विभिन्न विशेषज्ञ चिकित्सकहरूसँग निःशुल्क स्वास्थ्य परीक्षण सेवा लिएका थिए ।
स्वास्थ्य शिविरमा डा. सुमन पौडेल (इएनटी विशेषज्ञ), राजीव शाह (स्त्रीरोग विशेषज्ञ), डा. पटल गिरी आन्तरिक रोग विशेषज्ञ) र डा. सम्राट पराजुली (अस्थिरोग विशेषज्ञ)ले स्वास्थ्य परीक्षण गरेका थिए ।
दया बहादुर शिलबालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मञ्जुश्री फाइनान्स बुटवल शाखाका शाखा प्रबन्धक सुबास अर्यालको समेत उपस्थिति रहेको थियो ।
नेपाल नियमित रक्तदाता संघका महासचिव दीपक अधिकारीले सञ्चालन गरेको सो कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष लेखनाथ भण्डारीले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा बोल्दै शाखा प्रबन्धक सुबास अर्यालले मञ्जुश्री फाइनान्स सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध रहेको भन्दै यस्ता कार्यक्रमहरू भविष्यमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
त्यसैगरी, डा. सुमन पौडेलले स्वास्थ्यप्रति सचेतना र नियमित परीक्षणको आवश्यकतामा जोड दिए । स्थानीय बासिन्दाहरूको उत्साहजनक सहभागिता र चिकित्सकहरूको सेवा भावनाले कार्यक्रमलाई सफल बनाएको आयोजक नेपाल नियमित रक्तदाता संघले जनाएको छ।