काठमाडौँ / आषाढ शुक्ल पूर्णिमाका दिन आज शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ अर्थ प्रकाश भनेर बुझिन्छ । अर्थात्, कुनै विषयमा अत्यन्त दक्ष वा विज्ञ व्यक्तिलाई पनि गुरु भनिन्छ ।
ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको छ ।
असल गुरुको प्राप्ती या छनौट अधिकांश समस्या र दूविधाहरुको निरोध हो भनेर भनिन्छ तथापी अहिलेको यूगमा असल गुरु र असल शिष्य दुवैको पहिचान गाह्रो छ । विज्ञान प्रविधीको अहिलेको यूगमा पक्कैपनि हामीले ज्ञान प्राप्तिकालागि एकलब्यले जस्तो द्रोणाचार्यको प्रतिमुर्ती बनाएर र त्यसैलाई गुरु थापेर सिक्नपर्ने जरुरत छैन न त गुरुदक्षीणाका रुपमा औंला नै काटेर दिनुपर्ने वलिदान नै ।
विश्वस्तरका शिक्षाका लागि संस्थागतरूपमा स्थापना भएका विद्यालय, विश्वविद्यालय, शिक्षण पेशा अनि सञ्चारका माध्यमहरुले पनि हामीलाई गुरुरुपी शिक्षा दिइरहेका छन् ।
औषधिको तथ्य र असर देखि चन्द्रमानका तालिकासम्म गुगल अनि यूट्यूब लगायत इन्टरनेटबाट सिक्ने, त्यहिंका श्रोतबाट अध्ययन गर्ने अहिलेका पुस्ताहरुलाई गुरु पूर्णिमाले केही फरक अनुभव दिन सक्दछ ।
संसार जहाँ नै पुगे पनि गुरुतत्त्वले स्वरूप परिवर्तन गरेका हो, शिक्षा आकाशबाट वर्षिदैन न त आकाशवाणी नै हुन्छ । शिक्षाका श्रोत र हस्तान्तरणकर्ताहरु सबैजना गुरु हुन्, गुरुतत्त्व हुन् ।