इटहरी / भोजपुरको रामप्रसादराई गाउँपालिका २ धोत्लेखानीमा आइतबार राति ज्वाई राजेन्द्र राईले सासुससुरासहित चार जनाको हत्या गरेका छन् । राजेन्द्रको अवस्था पनि गम्भीर रहेको छ ।
पारिवारिक झगडाले हिंसाको रूप लिँदा ससुरा ६८ वर्षीय बेलबहादुर गिरी, सासु ४५ वर्षीया मञ्जु गिरी, मञ्जुका छोरी (राजेन्द्र राईकी श्रीमती) र सालोले ज्यान गुमाएका छन् । घटनामा राजेन्द्र राईले नै आफूले नै चारै जनालाई चक्कु प्रहार गरी मारेको प्रहरीलाई बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार राजेन्द्र आफैँले फोन गरेर प्रहरीलाई खबर गरेपछि प्रहरीले घटनाबारे जानकारी पाएको होे ।
त्यसपछि परिचालित भएको प्रहरीको टोलीले राजेन्द्रलाई रामप्रसादराई १ हुर्बु भञ्ज्याङस्थित सडक किनारमै पेटमा तीन ठाउँमा चक्कु लागेर घाइते अवस्थामा फेला पारेको छ ।
त्यहाँका वडा अध्यक्ष राजकुमार तामाङले आफू घटनास्थलमै रहेको बताएका छन् । उनले भने, “यहाँ चार जनाकै शवका बारेमा प्रकृया पुर्याइरहेका छौँ । प्रशासनले अनुसन्धान गरिरहेको छ ।”
राजेन्द्रले अरुको हत्या गरेर आफुले पनि आफैँलाई छुरा प्रहार गरेको प्रारम्भिक अनुमान प्रहरीको छ । घाइते अवस्थामै राजेन्द्रले दिएको प्रारम्भिक बयानअनुसार, सासु मञ्जु गिरीले आफूलाई चक्कु प्रहार गरेपछि प्रतिकारमा उनले ससुरा, सासु, श्रीमती र सालोलाई प्रहार गरेका हुन् ।
घाइते अबस्थामा रहेका राजेन्द्रलाई उपचारका लागि जिल्ला अस्पताल भोजपुर पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको छ । घटना पारिवारिक झगडापछि निम्तिएको हुने अनुमान गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दीपक श्रेष्ठका अनुसार राईको पेटमा गहिरो चोट लागेको छ र उनको अवस्था गम्भीर छ ।
प्रारम्भिक उपचार भोजपुर अस्पतालमा गरिएको भए पनि अवस्था जटिल भएकाले उनलाई थप उपचारका लागि रेफर गरिएको प्रहरीले जनाएको छ । वडा नम्बर २ का वडा सदस्य जीवन जर्गा मगरका अनुसार राई करिब एक सातादेखि ससुरालीमै बस्दै आएका थिए ।