काठमाडौँ / सन् २०२५ को पहिलो ६ महिनामा साढे ५ लाखभन्दा बढी विदेशी पर्यटकले नेपालको भ्रमण गरेका छन् । तीमध्ये सबैभन्दा बढी भारतीय पर्यटक रहेका छन् ।
नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, सन् २०२५ को पहिलो ६ महिनामा ५ लाख ७७ हजार ६८९ विदेशी पर्यटक नेपाल आएका हुन् । गत वर्षको सोही अवधिमा ५ लाख ८३ हजार ११ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
बोर्डले जारी गरेको तथ्याङ्कअनुसार नेपाल घुम्न आउने विदेशी पर्यटकमध्ये सबैभन्दा धेरै १ लाख ४७ हजार ८३९ पर्यटक भारतीय छन् । हरेक वर्ष नेपाल भ्रमण गर्न आउने पर्यटकमध्ये भारतीय पर्यटक नै बढी हुने गर्दछन् ।
६ महिनामा ५८ हजार ३२६ अमेरिकी पर्यटकले नेपालको भ्रमण गरेका छन् । ५२ हजार ५१४ चिनियाँ, २८ हजार ९५६ बंगलादेशी र २७ हजार ६८ बेलायती पर्यटकले नेपालको भ्रमण गरेका छन् ।
त्यसैगरी, अस्ट्रेलियाबाट २२ हजार ९५, थाइल्यान्डबाट १७ हजार ६३४, श्रीलङ्काबाट १५ हजार ४३२, जर्मनीबाट १४ हजार ४५५ र दक्षिण कोरियाबाट १२ हजार ७२६ पर्यटक नेपाल भ्रमणमा आएको बोर्डको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
जुन महिनामा मात्रै ७६ हजार ४ सय पर्यटक नेपाल भित्रिए
बोर्डका अनुसार यस वर्षको जुन महिनामा मात्रै ७६ हजार ४२५ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । जुन महिनामा नेपाल आउने पर्यटकमध्ये पनि सबैभन्दा धेरै भारतबाट नै आएका छन् ।
बोर्डका अनुसार यस बिचमा भारतबाट मात्रै ३२ हजार ६६२ पर्यटक नेपाल आएका छन् । अमेरिकाबाट ९ हजार ६९६, चीनबाट ६ हजार ७३६, बङ्गलादेशबाट ५ हजार ४४९ र बेलायतबाट २ हजार २८४ पर्यटकले नेपाल भ्रमण गरेका छन् । यस अवधिमा अष्ट्रेलिया, मलेसिया, भुटान, जापान र दक्षिण कोरियाबाट पनि पर्यटक नेपाल आएका बोर्डले जनाएको छ ।