काठमाडौँ / देशभर राष्ट्रिय धान दिवस अर्थात असार १५ पर्व धुमधाम मनाइरहँदा नेपालका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समूदायले अधिकार र पहिचानका लागि भन्दै ‘इन्द्रेणी रोपाइँ जात्रा’ मनाएका छन् ।
मायाको पहिचान नेपाल’, ‘डाकिनी हस्पिटालिटी’, ‘लिड नेपाल’, ‘इनक्लुसिभ फोरम नेपाल’, समर्पण सभ्य समाज नेपाल, सबैका लागि सहयोगी नेपाललगायत लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको हक अधिकारमा क्रियाशील संघसंस्थाहरूको आयोजनामा काठमाडौंको बौद्धमा नमूना स्वरूप ‘इन्द्रेणी रोपाइँ जात्रा’ मनाइएको हो ।
कार्यक्रममा भेला भएका समुदायका व्यक्तिहरूले परापूर्वककालमा पुरुषले महिलाको भेषमा र महिलाले पुरुषको भेषमा नाच्दै रमाइला गर्ने पर्वका रूपमा मनाइँदै आएको रोपाइ पर्वले समावेशीता र समानताका साथै आफ्नो पहिचानका लागि रोपाइँ पर्व मनाइएको यौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्तिहरू बताउँछन् ।
‘मायाको पहिचान नेपाल’का कार्यकारी निर्देशक एवं पहिलो संविधान सभाका सदस्य सुनिलबाबु पन्तले पश्चिमी संस्कृतिलाई भन्दापनि मौलिक संस्कारलाई प्रवद्र्धन गर्न यस्ता जात्राहरू मनाउने गरिएको बताए ।
‘रोपाई जात्रा, गाईजात्रा जस्ता थुप्रै चाडपर्वहरू छन् । जुन यौनिक तथा अल्पसंख्यक समुदायले पनि स्वीकार गरी समेटिएको छ । धान दिवसको दिन परापूर्वककालमा छोराले महिलाको भेषमा र छोरीले पुरुषको भेषमा नाच्ने रमाइलो गर्ने चलन अरु समुदायमा पनि छ । यो यौनिक तथा अल्पसंख्यक समुदायले पनि पश्चिमा संस्कृतिलाई भन्दापनि मौलिक संस्कारलाई प्रवद्र्धन गरौं भनेर मनाएका हौं । तर विश्वभर यौनिक तथा अल्पसंख्यक अर्कै पर्व मनाउछन्,’ उनले अगाडि भने,‘हामी इन्द्रेणी बन्नका लागि सातै रंग खुलेर आउनुपर्छ । त्यसैगरी समाजमा पनि समावेशी बन्नका लागि सबै रंग समावेश हुन पाउनुपर्छ भन्ने अर्थमा समावेशी रंगको रूपमा इन्द्रेणीलाई लिएका हौं ।’
चाडपर्व मनाउने अधिकार सबै समूदायका मानिसहरूलाई रहेको उल्लेख गर्दै पन्तले फरकधारका अर्थात फरक लैङ्गिक पहिचान भएका व्यक्तिहरू पहिले लुकेर बस्नुपर्ने भएकाले अब खुलेर आउनका लागि प्रेरणा दिने उद्देश्यले रोपाइँ पर्व मनाइएको बताए ।
कार्यकारी निर्देशक पन्तले समूदायप्रति राज्य सकारात्मक रहे पनि अधिकारमा अझै पनि बन्चित हुनुपरिरहेको सुनाए ।उनले नागरिकता लिन, राज्यका निकायहरूमा प्रतिनिधित्व गर्न, चाहेको पार्टनरसँग विवाह गर्न अझै असहज भएको उल्लेख गरे ।
यस्तै, अधिकारकर्मी बद्री पुन (दिलु)ले समूदाय वा सबै युवाहरू विदेश पलायन भइरहेकाले नयाँ सन्देश दिन खोजेको बताए । यस्ता कार्यक्रमले लक्षित समूदायका व्यक्तिहरूको मुद्दा सरकार समक्ष पुर्याउन सहज हुने बताए ।
अर्की अधिकारकर्मी नोमा लिम्बुले राष्ट्रिय धान दिवस र इन्द्रेणी रोपाई जात्रा एउटै भएको उल्लेख गर्दै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले पनि मौलिकपन र संस्कृतिलाई अगाल्न सक्छौ भनेर इन्द्रेणी रोपाई जात्रालाई सुरूवात गरेको बताइन् ।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले अधिकारसँगै मोलिक दिवसहरूको प्रचार गर्न इन्द्रेणी रोपाइँ पर्व मनाइएको उनले बताइन् ।
‘हामी पनि यहि देशका नागरिक हौं । हामी अनागरिक सरह बाच्न नपरोस् । मौलिक हकहरूका साथै मानव अधिकार आयोग, समावेशी आयोगहरूमा देशको हरेक योजनाहरू निर्माण गर्दा समुदायका व्यक्तिहरूलाई पनि समावेश गरोस भन्ने चाहना हो,’ उनले भनिन् ।
इन्द्रेणी रोपाइँ जात्राले समुदायको इतिहासमा धार्मिक–सांस्कृतिक भूमिकालाई पुनः सम्झाउने काम गरेको आयोजकहरूको दाबी छ । ऐतिहासिक रूपमा धामी झाँक्री, पुजारी, गुरुजस्ता भूमिकामा संलग्न मानिने यो समुदाय कृषिमा समेत ज्ञान साटासाट र प्रशिक्षणमा अग्रणी भूमिका निर्वाह गर्दै आएको उनीहरू बताउँछन् ।