काठमाडौँ / शरद चन्द्र शाहा मेमोरियल फाउन्डेसनले आफ्नो वार्षिक SCSMF Sports Award को दोस्रो संस्करण सम्पन्न गरेको छ । असार १३ गते काठमाडौँको कमलादीस्थित होटल रोयल सीङ्गीमा एक भव्य समारोहबीच सम्पन्न गरेको हो ।
नेपाली खेलकुदमा योगदान पु-याएका स्थापित हस्ती र उदाउँदा प्रतिभालाई सम्मान गर्ने उद्देश्यले स्थापित यो पुरस्कार समारोहमा यस वर्ष पनि एक वरिष्ठ र एक युवा खेलाडीलाई सम्मान गरियो । यस वर्षको नेपाली फुटबलका हस्ती तथा पूर्व कप्तान राजुकाजी शाक्यलाई प्रदान गरेको फाउन्डेसनले जनाएको छ ।
नेपाली फुटबलमा खेलाडी तथा प्रशिक्षकको रूपमा उनले पु-याएको अतुलनीय र उत्कृष्ट योगदानको कदर गर्दै उनलाई यो सम्मान प्रदान गरिएको हो । शाक्यको नेतृत्वमा नेपालले दक्षिण एसियाली खेलकुदमा ऐतिहासिक स्वर्ण पदक जितेको थियो र उनी नेपाली फुटबलका एक प्रेरणादायी व्यक्तित्व हुन् ।
त्यसैगरी, ‘SCSMF Sports Award 2025’ बाट नेपाली महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीलाई पनि सम्मान गरियो। देशमा भलिबल खेलको विकास र महिला खेलाडीहरूलाई प्रेरणा प्रदान गर्न उनले पु-याएको महत्वपूर्ण योगदानको लागि उनलाई सम्मानित गरिएको हो । शाहीको नेतृत्वमा नेपाली महिला भलिबल टोलीले अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हासिल गरेको छ । पुरस्कार स्वरूप दुवै जनालाई २ लाख ५० हजार रुपैयाँ ससम्मान नगद प्रदान गरिएको फाउन्डेसनले जनाएको छ ।
शरद चन्द्र शाहा मेमोरियल फाउन्डेसन स्वर्गीय शरद चन्द्र शाहाको सम्झनामा उनका परिवारजनहरूद्वारा २०२० नोभेम्बर ३० मा स्थापना गरिएको थियो । शरद चन्द्र शाहा नेपाली खेलकुद इतिहासमा प्रमुख परिवर्तन ल्याउने व्यक्तिका रूपमा प्रख्यात छन् । उनी Olympic Council of Asia/एशियाली ओलम्पिक परिषद्को उपाध्यक्षको रूपमा सेवा गर्ने पहिलो नेपाली व्यक्ति थिए ।
नेपालमा राष्ट्रिय खेलकुदको सुरुवात र Olympic Movement ल्याउने व्यक्ति स्व. शाहा नै थिए । उनी २०३४ देखि २०४५ सालसम्म राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव तथा नेपाल ओलम्पिक कमिटिको अध्यक्ष भएका थिए । उनी नेपालको राष्ट्रिय प्रतियोगिता तथा साउथ एशियन गेम्सको योजनाकार पनि थिए ।
फाउन्डेसनको मुख्य उद्देश्य राष्ट्रको खेलकुद विकास गतिविधिहरूमा सुधारका लागि समर्पित अथवा कुनै पनि किसिमले योगदान पु-याएका व्यक्ति तथा संस्थाहरुलाई प्रोत्साहन, सहायता, र पहिचान तथा सम्मान प्रदान गर्नु हो ।
विगतका दिनहमा शरद चन्द्र शाहा मेमोरियल फाउन्डेसनद्वारा Nepal Sports For All Commission को सहकार्यमा “नेपालको खेलकुदमा नयाँ युगको प्रारम्भ“ (The Dawn of a New Era in Nepal Sports) नामक फोटो प्रदर्शनी आयोजना गरिएको थियो। साथै, यस फाउन्डेसनद्वारा २०८० असार २६ गते मंगलबार नवीन अर्यालद्वारा लिखित ‘नेपाली खेलकुदको वृतान्त’नामक किताब पनि प्रक्षेपण गरिएको थियो ।