काठमाडौँ / नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल) द्वारा आयोजित ३९औँ जगन्नाथ रथयात्रा महामहोत्सव भव्य रूपमा सम्पन्न भएको छ।
आइतबार, असार २३ गते, सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा राजधानी काठमाडौँमा रथयात्रा आयोजना गरिएको हो।
रथयात्राको प्रारम्भ कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानबाट भएको थियो, जहाँ राष्ट्रपतिले जगन्नाथ, बलराम र सुभद्राको दर्शन तथा पूजाआर्चना गर्नुका साथै इस्कोनका संस्थापक आचार्य श्रीमद एसी भक्तिवेदान्त स्वामी प्रभुपादलाई माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरे।
राष्ट्रपति पौडेलले वैष्णव परम्पराअनुसार रथयात्रा मार्गको झाडुले सरसफाइ गर्दै सांस्कृतिक परम्पराको निरन्तरतामा योगदान दिएका थिए।
रथयात्रा कमलादी–घण्टाघर–रत्नपार्क–जमल–दरबारमार्ग–पुतलीसडक–भृकुटीमण्डप–भद्रकाली–न्युरोड–बसन्तपुर हुँदै टुँडिखेलमा समापन गरिएको हो। यात्राभर नगरवासीहरूले भगवानको कीर्तन, पूजा, प्रसाद वितरण तथा धर्मग्रन्थ वितरणजस्ता कार्यक्रमहरूमा उत्साहपूर्वक सहभागीता जनाए।
कार्यक्रमको समापन टुँडिखेलमा विविध सांस्कृतिक कार्यक्रम, प्रवचन तथा भगवानको दिव्य कथावाचनसहित सम्पन्न भयो। आयोजक इस्कोन नेपालले यो रथयात्रा नेपाली परम्परा र आध्यात्मिक चेतनाको जगेर्नामा एक ऐतिहासिक कदम भएको बताएको छ।
रथयात्रामा हजारौँ भक्तजनको उत्साहजनक सहभागिता रहेको थियो। यस अवसरले नेपाली संस्कृतिको विश्वव्यापी महत्व झल्काउने काम गरेको इस्कोन नेपालले विश्वास व्यक्त गरेको छ।