इजरायल र इरानबीचको युद्धमा अमेरिका पनि संलग्न भएको छ । अमेरिकाले इरानको फोर्दो लगायत तीनवटा पारमाणविक केन्द्रमा सफल बम आक्रमण गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत् जानकारी दिएका थिए ।
ती दुई देशबीच युद्ध शुरु भएको दुई हप्ता नपुग्दै अमेरिकाले इजरायललाई सहयोग पुग्ने र इरानका सामरिक स्थलहरू नष्ट गर्ने गरी आक्रमण शुरु गरेको हो ।
इरानले शुक्रबार आफूले तेहरानमा आम्रकण ३ सैन्य कमाण्डर मारेको र तिनमा हमाससँग सम्पर्कमा रहेका सैन्य अधिकृत पनि मारिएको जनाएको छ ।
अमेरिकाले भने राजधानी तेहरानबाट ९६ किलोमिटर टाढा रहेका आणविक केन्द्रहरूमा आक्रमण गरेको बताएको छ ।
इरानमा बम प्रहार गर्न अमेरिकाले बी(२ बम वर्षक विमानहरूको सैन्य अखडा प्रशान्त महासागरस्थित टापु गुआममा स्थापना गरेको छ ।
बी(२ विमानबाट एक पटकमा दुई वटा बम लगेर खसाल्ने क्षमता राख्छ । ती बम वर्षकहरू इरानका युरेनियम केन्द्रहरूमा बम बर्साएर गुआम अखडामा फर्किने व्यवस्था मिलाएको समाचारमा उल्लेख छ ।
इरानको आणविक स्थलहरूमा आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रका नाममा सम्बोधन गरेका छन्। उक्त सम्बोधनमा उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र इजरायली सेनालाई धन्यवाद दिएका छन्।
ट्रम्पले सम्बोधनका क्रममा धेरै लक्ष्यहरू अझै प्रहार गर्न बाँकी रहेको पनि बताए । उनले भने, “अब इरानले शान्तिको बाटो रोज्नुपर्छ। यदि उनीहरूले त्यसो गरेनन् भने, भविष्यका आक्रमणहरू अझ ठुला र सजिलो हुनेछन्।”
इरानको आणविक स्थलहरूको बारेमा उनले भने, “मानिसहरूले वर्षौँदेखि यी ठाउँहरूको नाम सुन्दै आएका थिए किनभने त्यहाँ खतरनाक र विनाशकारी योजना तयार भइरहेको थियो। म संसारलाई भन्न चाहन्छु कि आज रातिका आक्रमणहरू पूर्ण रूपमा सफल भएका छन्।”
ट्रम्पले इरानलाई चेतावनी दिँदै भने, “या त अब शान्ति हुनेछ, नत्र इरानले विगत आठ दिनमा देखेको भन्दा धेरै ठुलो त्रासदीको सामना गर्नेछ।”
यसअघि, ट्रम्पले अमेरिकाले इरानका तीन आणविक स्थलहरूमा आक्रमण पूरा गरिसकेको जानकारी दिएका थिए। यी आक्रमणहरू फोर्डो, नातान्ज र इस्फहानमा लक्षित थिए। इरानले पनि यी आक्रमणहरूको पुष्टि गरेको छ।
ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, “हामीले फोर्डो, नातान्ज र इस्फहानका तीन इरानी आणविक स्थलहरूमा सफलतापूर्वक आक्रमण गरेका छौँ। सबै विमानहरू अब इरानी हवाई क्षेत्रबाट बाहिर छन्। सबै विमानहरू सुरक्षित रूपमा अमेरिका फर्किरहेका छन्।”
ट्रम्पले लेखेका छन्, “हाम्रा महान् अमेरिकी योद्धाहरूलाई बधाई छ। संसारमा अरू कुनै सेना छैन जसले यो गर्न सक्थ्यो। अब शान्तिको समय हो ।”
अमेरिकी आक्रमणपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले पनि बयान दिएका छन् । उनले भनेका छन्, “राष्ट्रपति ट्रम्प र म प्रायः भन्छौँ, शक्ति मार्फत शान्ति। पहिले शक्ति आउँछ र त्यसपछि शान्ति आउँछ।”