काठमाडौँ / एमेच्योर गल्फर राहुल विश्वकर्माले सूर्य नेपाल गल्फ टुर २०२४–२५ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन् ।
समग्रमा २१ अन्डर २ सय ६७ को स्कोरमा नेपाल नम्बर एक प्रोफेसनल गल्फर भुवन नगरकोटीलाई २ स्ट्रोकले हराउँदै करियरकै उपाधि जितेका हुन् । राहुलले बिहीबार ५–अन्डर ६७ को स्कोर गरे ।
राहुलले यो सिजनको दोस्रो उपाधि जिते । यसअघि उनलेसिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपन जितेका थिए। समग्रमा १९–अन्डर २ सय ६९ को स्कोरमा भुवन नगरकोटी दोस्रो भए ।
उनले बिहीबार ८–अन्डर ६४ को स्कोर गरे। प्रो तर्फ पहिलो भएका उनले नगद ३ लाख प्राप्त गरे । एमेच्योर सदभाव आचार्य समग्रमा १८–अन्डर २ सय ७० को स्कोरमा तेस्रो भए।
उनले बिहीबार ५–अन्डर ६७ को स्कोर बनाए । उनी एमेच्योरतर्फ दोस्रो भए । साबिक विजेता सुबास तामाङ समग्रमा १५–अन्डर २ सय ७३ सहित चौथो भए ।
उनले आज इभन–पार ७२ स्कोर गरे । प्रो तर्फ उनी दोस्रो हुँदा नगद १ लाख ८५ हजार प्राप्त गरे । भुटानका एमेच्योर निम दोर्जी तामाङ समग्रमा १४-अन्डर २सय ७४ सहित पाँचौं स्थानमा रहे । उनले बिहीबार ६–अन्डर ६६ को उत्कृष्ट स्कोर गरे । एमेच्योर तर्फ उनी तेस्रो भए।
धरानका प्रो निरज तामाङले बिहीबार १–ओभर ७३ स्कोर गरे । समग्रमा १०–अन्डर २ सय ७८ सहित छैटौँ भए। प्रो तर्फ तेस्रो भएका उनले १ लाख २५ हजार नगद हात पारे ।
उनी आगामी सिजनको नम्बर एक खेलाडी बनेका छन् । उनले यो सिजनतीन उपाधिसहित सर्वाधिक ८ लाख ६७ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्दै अर्डर अफ मेरिटमा पहिलो भए ।
दिनेश प्रजापति समग्रमा ९–अन्डर २ सय ७९ को स्कोरमा सातौँ भए । उनले बिहीबार २–अन्डर ७० स्कोर गरे । प्रो तर्फ चौथो हुँदै नगद १ लाख ५ हजार प्राप्त गरे । शुक्र बहादुर राई समग्रमा ८–अन्डर २ सय ८० सहित आठौं भए । आज ५–अन्डर ६७ स्कोर गरे । प्रो तर्फ पाँचौँ भएका उनले नगद ९२ हजार हात पारे ।
समग्रमा ३–अन्डर २ सय ८५ को स्कोरमा प्रो सञ्जय लामा रएमेच्योर वाङ्चेन ढोन्डुपले संयुक्त रूपमा नवौँ स्थान बाँडे । सञ्जयले इभन–पार ७२ र वाङ्चेनले २–अन्डर ७० मा बिहीबारको खेल सकाए । प्रो तर्फ छैटौं भएका सञ्जयले ८४ हजार प्राप्त गरे ।
यस्तै रवि खड्का, धन बहादुर थापा, जयराम श्रेष्ठ र तोरण विक्रम शाही प्रो तर्फ उत्कृष्ट दशमा रहे । तेस्रो दिनका लिडर राहुलले बिहीबार फ्रन्ट नाईनमा बोगी रहित ५–अन्डर ३१ स्कोर गरे ।
उनले पहिलो, तेस्रो, छैटौँ, सातौँ र नवौँ होलमा बर्डी प्रहार गरे । ११औँ र १२ औँ होलमा पनि एक–एक सट बचाउँदा २३–अन्डरमा स्कोर पुर्याइसकेका थिए ।
तर ४–पारको १४ औँ होलमा डबल बोगी खेप्दा ब्याक नाइन इभन–पार ३६ मा सकाए । भुवन नगरकोटीले तेस्रो होलमा इगलको सफलता प्राप्त गरे ।
चौथो, सातौँ र नवौँ होलमा बर्डी प्रहार गर्दे फ्रन्ट नाइन ५–अन्डर ३१ मा सकाए । यसपछि ११औँ, १२औँ, १५औँ र १७औँ होलमा एक–एक सट बचाए ।
१४औँ होलको बोगीले ब्याक नाइन ३–अन्डर ३३ मा पूरा गरे । सदभावले फ्रन्ट नाइनमा इभन–पार ३६ खेले। तेस्रो होलमाडबल बोगी खेपे ।
छैटौँ, सातौँ र नवौँ होलमा बर्डी प्रहार गर्दा आठौँ होलमा एक सट खेर फाले । यसपछि १२औँ होलमा इगलको सफलता प्राप्त गर्दा ११औँ, १४औँ र १५औँ होलको बर्डीले ब्याक नाइन ५–अन्डर ३१ मा सकाए ।
बिजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक रवि कुमार रायवरम र नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपिजिए)का अध्यक्ष रवीन्द्रमान श्रेष्ठले पुरस्कार वितरण गरे ।
एनपिजिएद्वारा आयोजित चार दिने प्रतियोगितामा हालसम्मकै सर्वाधिक १६ लाख नगद पुरस्कार राशी रहेको थियो । जहाँ ३७ प्रोर १८ एमेच्योर गरी कुल ५५ गल्फरले सहभागीता जनाएका थिए ।
अब शनिबार प्रो–एम प्रतियोगिता हुनेछ। जहाँ ३० प्रोफेसनलर १२० जना कर्पोरेट स्तरका एमेच्योर खेलाडीले भाग लिनेछन् ।