काठमाडौं/ प्रधान सेनापति अशोक राज सिग्देलको प्रमुख आतिथ्यमा आज जङ्गी अड्डामा “पाँचौँ संस्करणको एक दिवसीय राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८२” सम्पन्न भएको छ।
सूचना तथा प्रविधिको तीव्र विकासले मानव जीवनलाई सहज र छरितो बनाउँदै लगे पनि साइबर आक्रमण र अपराधका घटनाहरूले सुरक्षाका क्षेत्रमा गम्भीर चुनौती खडा गरिरहेको सन्दर्भमा, आपसी ज्ञान, सीप तथा अनुभव साटासाट गर्न उक्त गोष्ठी आयोजना गरिएको हो।
दुई चरणमा सम्पन्न सो गोष्ठीमा नेपाल सरकारका विभिन्न मन्त्रालयहरू, नेपाली सेना, सुरक्षा निकायहरू, सरकारी तथा साइबर सुरक्षासँग सम्बन्धित गैर– सरकारी संस्थाहरूका प्रतिनिधिहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।
गोष्ठीमा साइबर सुरक्षा सम्बन्धी विषयमा विज्ञहरूले प्रस्तुती दिएका थिए भने सहभागीहरूबीच विविध परिस्थितिका सन्दर्भमा अन्तरक्रिया र अभ्यास कार्यक्रमहरू समेत सञ्चालन गरिएको थियो।
कार्यक्रमले नेपालमा साइबर सुरक्षा सम्बन्धी चेतना अभिवृद्धि गर्नुका साथै विभिन्न निकायहरूबीच सहकार्यको बाटो विस्तार गर्न थप टेवा पुग्ने अपेक्षा गरिएको छ।