लुम्बिनी केबलकारको दुई बर्ष : तीन लाख पर्यटकले गरे यात्रा, भारतीय पर्यटकको सङ्ख्यामा उच्च बृद्धि

लुम्बिनी केबलकारको दुई बर्ष : तीन लाख पर्यटकले गरे यात्रा, भारतीय पर्यटकको सङ्ख्यामा उच्च बृद्धि

सोमवार, जेठ २६ २०८२
सोमवार, जेठ २६ २०८२
  • images
    images
    लुम्बिनी केबलकारको दुई बर्ष : तीन लाख पर्यटकले गरे यात्रा, भारतीय पर्यटकको सङ्ख्यामा उच्च बृद्धि
    images
    images

    बुटवल / पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुरस्थित लुम्बिनी केबलकार सञ्चालनमा आएको दुई वर्षमा साढे तीन लाखभन्दा बढी पर्यटकले यात्रा गरेका छन्।

    हिन्दु धर्मावलम्बी तथा भारतीय पर्यटकहरूको आकर्षण बढेसँगै बुटवलको बमघाटदेखि वसन्तपुर डाँडोसम्मको यात्रा गर्ने पर्यटकको संख्या उल्लेखनीय रूपले वृद्धि भएको हो।

    लुम्बिनी केबलकार लिमिटेडले २०८० जेठ १५ गतेदेखि व्यवसायिक रूपमा सेवा सुरु गरेको थियो भने औपचारिक उद्घाटन २०८० जेठ २५ गते भएको थियो। कम्पनीका अनुसार हालसम्म करिब ५० हजार भारतीय पर्यटकले पनि केबलकारको यात्रा गरिसकेका छन्।

    अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूकाअनुसार अघिल्लो आर्थिक वर्षमा ८ प्रतिशत भारतीय पर्यटक आएकोमा चालु आर्थिक वर्षमा त्यो संख्या बढेर २१ प्रतिशत पुगेको छ। तेस्रो मुलुकका पर्यटकको सङ्ख्या भने एक प्रतिशतभन्दा कम रहेको जानकारी दिइएको छ।

    समुद्री सतहबाट करिब एक हजार मिटर उचाइमा रहेको वसन्तपुर डाँडोमा कामाख्या देवी मन्दिर, दुर्गा माता मन्दिर, जीपलाइन, स्काई साइकलिङ, ज्वायन्ट स्वीङ, बाल उद्यान, रेष्टुरेन्ट, सेमिनार हललगायतका पर्यटकीय पूर्वाधारहरू निर्माण गरिएका छन्। 

    दशकौँसम्म सुनसान रहेको उक्त डाँडो हाल धार्मिक तथा साहसिक पर्यटकीय गन्तव्यमा परिणत भएको छ।

    पुनर्निर्माण गरिएको कामाख्या देवी मन्दिर र सय वर्ष पुरानो दुर्गा माता मन्दिरमा दर्शनार्थ नेपाल तथा भारतका विभिन्न स्थानबाट भक्तजनको ओइरो लाग्ने गरेको मुख्य पुजारी सुरेश पौडेलले जानकारी दिए ।

    उनका अनुसार कामाख्या देवीको दर्शनले मनोकामना पूरा हुने धार्मिक विश्वासले श्रद्धालुहरू बढिरहेका छन्।

    कम्पनीले जन्मदिनमा निःशुल्क यात्रा, प्रत्येक महिनाको १ गते साँझ महाआरती अफर, ५० जनाभन्दा बढी समूहमा विशेष छुट, संघसंस्थासँग टिकट दरमा छुटको सम्झौता गर्दै बजार प्रवर्द्धन गर्दै आएको छ। 

    बुटवलको गर्मीबाट राहत पाउन वसन्तपुर चिसो स्थानका रूपमा पनि पर्यटकको रोजाइमा परेको अपरेसन म्यानेजर सैंजूले बताए । 

    बुटवल वडा नं. ३ र तिनाउ गाउँपालिका–३ का बासिन्दालाई टिकटमा ५० प्रतिशत छुट दिइएको छ भने प्रति टिकट दुई पालिकालाई एक–एक प्रतिशत रकम कर स्वरूप प्रदान गरिँदै आएको कम्पनीले जनाएको छ।

    अस्ट्रियाको डुपल मायर कम्पनीबाट निर्माण गरिएको लुम्बिनी केबलकार २.६ किलोमिटर लामो छ। यसमा २५ वटा गोन्डोला रहेका छन् जसले दैनिक ६ हजार पर्यटक ओसार्न सक्छ।

    धार्मिक आस्था, प्राकृतिक शान्त वातावरण, अनुकूल मौसम तथा आधुनिक पूर्वाधारले लुम्बिनी केबलकार र वसन्तपुर क्षेत्रलाई द्रुत गतिमा विकसित हुँदै गरेको पर्यटकीय गन्तव्य बनाएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com