काठमाडौँ / विद्युत प्राधिकरणले विद्युतको तार भूमिगत (अण्डरग्राउण्ड) गर्ने कामलाई तिब्रता दिएको छ । तर काठमाडौंका व्यस्त सडक क्षेत्रमा समयमै काम नसकिदा पैदल यात्रु र सवारी साधन जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
२०७६ को फागुन ५ गतेदेखि काठमाडौँ उपत्यकामा विद्युतीय तार भूमिगत गर्ने कामको थालनी भएको थियो । तर कतिपय क्षेत्रमा प्राधिकरण, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागबीच समन्वय नहुँदा काम ढिला हुने गरेको छ ।
हाल काठमाडौँको नयाँ बानेश्वर–मीन भवन–आलोकनगर क्षेत्रमा भइरहेको कामका कारण सवारी साधनहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।
सडक भत्काएर खाल्डो पार्ने तर पुर्न ढिला गर्दा दुर्घटना हुनेक्रम बढेको छ । दुई दिन यता आधा दर्जन सवारी साधन सामान्य दुर्घटनामा परिसकेको स्थानीयले बताए ।
प्राधिकरणको वानेश्वर शाखाले सार्वजनिक सूचना जारी गर्दै विद्युत वितरणमा समस्या हुने जानकारी समेत गराएको छ ।
प्राधिकरण वानेश्वर शाखाका प्रमुख राहिणी पौडेलले बिजुलीको तार भूमिगत गर्ने काम परियोजना अन्तर्गत रहेकाले आफूलाई जानकारी नहुने बताए ।
उनले भने, “हामी वितरणको काम मात्र हेर्छौं । तार भूमिगतको काम परियोजना अन्तर्गत काठमाडौं उपत्यकाभर जारी छ । कता के भइरहेको छ परियोजनाले नै हेरिरहेको छ ।”
प्राधिकरणले तार भूमिगत गर्नका लागि खनेको सडक र फुटपाथ नपुरिदिने, सडकभर हिलो र धुलो छोडिदिने, तारहरू सडकमाथि नै जथाभावी छोडिदिने गरेको आरोप लाग्ने गरेको छ ।
तर जमिनमुनि खानेपानी, ढल, टेलिकमको पाइपहरूका जोगाउनेक्रममा काममा ढिला हुने गरेको प्राधिकरणले जवाफ दिने गरेको छ । यात्रुहरूले विकासका नाममा सरकारले धराप थाप्ने गरेको भन्दै आक्रोश व्यक्त गर्दै आइरहेका छन् ।