‘पहाडकी रानी’ बन्दीपुरलाई ‘महारानी’ बनाउन चाहान्छौँ : वैस गुरुङ

‘पहाडकी रानी’ बन्दीपुरलाई ‘महारानी’ बनाउन चाहान्छौँ : वैस गुरुङ

बन्दीपुरका ६ ओटै वडाका सम्भावित पर्यटकीय गन्तव्यहरूलाई प्रचारप्रसार तथा प्रवर्द्धन गरेर ती क्षेत्रमा पर्यटक पुर्याउने योजना छ ।

सोमवार, जेठ १९ २०८२
सोमवार, जेठ १९ २०८२
  • images
    images
    ‘पहाडकी रानी’ बन्दीपुरलाई ‘महारानी’ बनाउन चाहान्छौँ : वैस गुरुङ
    images
    images

    मौलिक कला र संस्कृतिको रङ् पोतेर उभिएको बन्दीपुरलाई ‘पहाडकी रानी’ भनिन्छ । कुनै समय काठमाडौँ, भक्तपुर र ललिपुरबाट व्यापार व्यवसायका लागि पुगेका नेवार समुदायका व्यक्तिहरूले निर्माण गरेको बन्दीपुर यतिबेला विश्वभर नेपालको पर्यटकीय गन्तव्यको रूपमा परिचित छ ।

    करिब तीन सय बर्षको इतिहास बोकेको यो सहर भारत र तिब्बतसँगको व्यापारिक मार्गको केन्द्रको रूपमा परिचित थियो । तर, २०२५ सालमा बन्दीपुरबाट तनहुँको सदरमुक सरेपछि भने अवस्था नाजुक बन्यो । यसको प्रमुख कारण थियो सदरमुकामसँगै यहाँको व्यापार र बौद्धिक व्यक्तित्वसमेत पलायन हुनु । हराभरा बन्दीपुरलाई पतझड् हुन समय लागेन ।

    Bandipur (6).jpg

    राजमार्गहरू बनेपछि यहाँका व्यापारीहरू दमौली, पोखरा, नारायणगढ, काठमाडौँ र भक्तपुरतर्फ सरे । सदरमुकाम सरेको पाँच बर्षमै ‘भूत गाउँ’को रूपमा परिचित हुन पुग्यो । व्यवसाय र अध्ययनका लागि छोडेर जानेहरूकै सक्रियतामा ओझेलमा परेको बन्दीपुर पुनः चम्किन थाल्यो । यसरी जानेहरूले आफ्नो पुराना गाउँको विकास स्वास्थ्य, शिक्षा र पर्यटनलगायतका सम्भावित क्षेत्रबाट गर्न सकिने निष्कर्ष निकाले ।

    Bandipur (14).jpg

    बन्दीपुरको साख जोगाउन काठमाडौँमा स्थापना भएको बन्दीपुर सामाजिक विकास नामक संस्थाले महत्त्वपूर्ण भूमिका खेलेको पर्यटनविद्हरू बताउँछन् । तत्कालिन सरकारले सन् १९९८ मा नेपाल भ्रमण बर्ष घोषणा गर्यो । जुन आज बन्दीपुरलाई ‘भूत गाउँ’बाट पहाडकी रानीको बनाउन कोशेढुङ्गा सावित भयो ।

    भ्रमण बर्षको समयमै बन्दीपुर भिलेज टुरिजमको लागि उपयुक्त गन्तव्यको रूपमा प्रवद्र्धन गरिनुपर्ने आवाज उठ्यो । त्यसपछि भने बन्दीपुरलाई पर्यटकीय गन्तव्यको रूपमा हेरिन थाल्यो । उक्त समयदेखि नै बन्दीपुरमा पर्यटक आउन सुरु गरे । 

    Bandipur (1).jpg

    सामाजिक विकास समितिले बन्दीपुर छोडेर जानेहरूलाई एक पटक गाउँ फर्कन प्रेरित गर्यो । समितिकै सक्रियतामा ‘बन्दीपुर इको कल्चरल टुरिजम’ नामक परियोजना आयो । जसले बन्दीपुरको विकासमा आर्थिक तथा प्राविधिक सहयोग पुर्यायो । बन्दीपुरको पौराणिक सहरलाई सोही अवस्थामा जोगाएर पर्यटकीय गन्तव्य बनाउन सकिन्छ भन्ने योजनासहित कार्यक्रम अघि बढ्यो । 

    सन्तकुमार श्रेष्ठ, चिजकुमार श्रेष्ठ र डा. मदन पियाले पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रको नेतृत्व गरे । ‘बन्दीपुर इको कल्चरल टुरिजम प्रोजेक्ट’ले सन् २००५ देखि बन्दीपुरलाई पुननिर्माण गर्यो ।

    Bandipur (4).jpg

    जसले बन्दीपुरलाई पुनर्जीवित गरायो । अन्यत्र बसाइँ सरेका नेवार समुदाय गाउँ फर्किए । सबैको सहयोग र पहलमा देशविदेशमा बन्दीपुरको चर्चा भयो । ठूला ठूला सहरमा बोर्ड लगाइयो । त्यसपछि स्वदेशी तथा विदेशी पर्यटकहरू बन्दीपुर आउन थाले । 

    घर, बाटो, मठमन्दिरको मर्मत सम्भार भयो, बजारमा ढुङ्गा विच्छ्याइयो । बजार सफा, शान्त र आकर्षक बनेपछि पर्यटकहरू झनै लोभिए । 

    किन आउने बन्दीपुर ?

    बन्दीपुर ठूला ठूला महानगरहरूबिचको सुन्दर पौराणिक सहर हो । काठमाडौँ, पोखरा र चितवनजस्ता बढी जनघनत्व भएको सहरहरूबिचमा पर्ने शान्त बन्दीपुर । यहाँको पर्यावरण र मौसमसँग लोभिएर गर्मी छल्न र गाउँले जीवनशैलीसँग रमाउन पनि बन्दीपुर आउँछन् पर्यटक । विदेशीहरू पर्यटकहरू यहाँको नेवारी कला, संस्कृति, मौलिक बजार, वरीपरी रहेका गुरुङ, मगर, भुजेलहरूको संस्कृति हेर्नकै लागि भए पनि आउँछन् ।

    Bandipur (11).jpg

    बन्दीपुरको ४ सय वर्ष पुरानो इतिहास, कला संस्कृति, प्राकृतिक सुन्दरता र स्वछन्दताले यहाँ आउने जोकोहीलाई लोभ्याउँछ । समुद्र सतहबाट १०२० मिटरको उचाइँमा रहेको बन्दीपुरको टुँडिखेलबाट एउटै फ्रेममा ६÷७ ओटा हिमालहरू देखिन्छ ।

    ८ हजार माथिका अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु, लमजुङ्ग, धौलागिरी, डा.हर्क पिक, गणेशलगायतका लाङटाङ रेञ्जसम्म देखिने पपुलर हिमालहरूले जोकोहीलाई आकर्षित गर्छ । माछापुच्छ्रे हिमाल सानो देखिए पनि सबैभन्दा अगाडि र सुन्दर देखिन्छ । 

    यससँगै गाउँपालिकाले तीन बर्षअघिबाट मिनि ग्रेटवालको नामले मणि मुकुन्दश्वरी पर्खाल बनाइरहेको छ । बहुबर्षिय योजनाअन्तर्गत सुरु भएको यो पर्खाल सम्भवतः आधा भएको छ । चीनको ग्रेटवालको झल्को दिलाउने भनिएको यो ढुंगे पर्खाल बन्दीपुर–२ को थानीमाई मन्दिरबाट सुरु भई मुकुन्देश्वरी डाँडामा पुगेर टुंगिन्छ । झण्डै १० करोड लागत अनुमान गरिएको यो पर्खाललाई मुकुन्देश्वरीको दरबारसम्म पुर्याइने भएकोले मणिमुकुन्देश्वरी नाम दिइएको हो ।

    Bandipur (12).jpg
    बन्दीपुर गाउँपालिका समग्रमा मगरहरूको बाहुल्यता भएको ठाउँ भए पनि बन्दीपुरको मूख्य पुरानो बजारमा भने नेवार समुदायको सङ्ख्या बाक्लो छ । खास बन्दीपुरको पहिचान बनाएको बजार क्षेत्रमा आकर्षक ढुङ्गा छापिएको छ भने यातायातका सवारी साधन जान निषेध गरिएको छ । पुराना कलात्मक घरहरूले विदेशी मात्रै होइन स्वदेशी पर्यटकहरू पनि लोभ्याउँछ । गाउँपालिकाले यसलाई संरक्षित क्षेत्र घोषणा गरेको छ ।

    तीनधारा, रानीवन, टुँडिखेल, थानी माई, खड्गदेवी मन्दिर, रामकोट (मगर बहुल बस्ती), महालक्ष्मी मन्दिर, सुनाखरी, विन्ध्यवासिनी मन्दिर, एशियाकै ठूलो दावी गरिएको सिद्ध गुफा, गुरुङ गाउँ, भुजेल गाउँहरू पर्यटकका आकर्षक केन्द्र हुन् । 

    बन्दीपुरबाट एक/डेढ घण्टामा रामकोट भन्ने स्थानमा पुगिन्छ । जुन एकदमै पुरानो/पौराणिक बस्ती हो ।  पुर्खाहरू जसरी बस्नु भएको थियो, त्यहीँ तरिकाले त्यहाँको जीवनशैली रहेको छ । जीवनशैलीलाई व्यवस्थापन गरेका छन् । संस्कृतिलाई जोगाएका छन् । वास्तविक मगरहरूको इतिहास र गाउँ हेर्नका लागि रामकोट जान सकिन्छ ।

    Bandipur (10).jpg

    त्यस्तै, अर्को बन्दीपुरसँगैको अर्को गुरुङहरूको गाउँ छ । गुरुङहरूको चाडचालन, दशैँ तिहार, घाटु पुर्णेलगायतका विभिन्न किसिमका परम्परालाई जोगाएर राखिएको यो गाउँ पनि पर्यटकहरूका लागि उत्तिकै आकर्षक छ ।  

    त्यस्तै, अर्को दिसामा भुजेलहरूको पौराणिक वस्ती छ । जहाँ उहाँहरूको नाङ्लो, डोको बुन्नेलगायतका परम्परागत पेसा अझै पनि जीवितै छ । 

    त्यस्तै, यहाँ एशियाकै ठूलो दाबी गरिएको सिद्ध गुफा छ । त्यो साह्रै राम्रो र साह्रै ठूलो छ । जहाँ बन्दीपुरबाट आधा घण्टामै पुग्न सकिन्छ । एड्भेन्चर टुरिजमको लागि पनि बन्दीपुर उपयुत्त गन्तव्य हो । यहाँ दुई÷तीन ठाउँमा रक् क्लाइम्बिङ छ । सेतीको जलविहार बन्दीपुरमै पर्छ । मर्स्याङ्दीको जलविहार पनि यहीँ छ । व्यवसायिक प्याराग्लाइडिङ पनि यहीँबाट हुन्छ । 

    बजार र यसको वरपर बन्ने सबै संरचनाहरू प्राचिन र ऐतिहासिक देखियोस् भन्ने उद्देश्यले घरको नक्सा पास गर्दा नै अगाडिको अघिल्लो भागमा कलात्मक इँटा र काठ प्रयोग गर्न गाउँपालिकाले अनिवार्य गरेको छ ।

    मौलिक संस्कृति जोगाउनको लागि भित्र आरसीसी ढलान गरे पनि बाहिरी आउटलुक्समा भने काठ र इँटाको प्रयोग अनिवार्य गरिएको छ र बजार क्षेत्र वरपर सटर हाल्न प्रतिबन्ध छ । एउटै कलरमा सजिएका चिटिक्क दखिने घरहरू अगाडि उभिएर फोटो खिच्ने, टिकटक, रिल्स बनाउन पर्यटकहरू आतुर देखिन्छन् । 

    Bandipur (5).jpg

    बन्दीपुर घुम्न आउने पर्यटकलाई स्थानीय उत्पादन खुवाउने गरिन्छ । स्थानीय कला संस्कृति देखाउन र अर्गानिक स्वादका लागि होमस्टे प्रवद्र्धनमा जोड दिइएको छ ।

    एउटा होमस्टे समूहमा ४० देखि १ सय जनासम्म बस्न मिल्छ । गुन्द्रुक, ढिँडो, लोकल कुखुराको मासु, सेलरोटीलगायतका परिकारका स्वादमा जोकोही भुल्न सक्छ । उज्यालो बन्दीपुर अभियान अन्तर्गत बजार क्षेत्रका विभिन्न ठाउँमा आकर्षक सडक बत्ती राखिएको छ । यसका साथै, बन्दीपुर केबलकार यहाँको अर्को आकर्षणको केन्द्र बनेको छ । 

    एक दिनमै बन्दीपुरमा घुम्न सम्भव छ ?

    पृथ्वी राजमार्गको डुम्रे बजारबाट ८ किलोमिटरको उकालो हिँडेपछि सजिलै पुगिन्छ, बन्दीपुर । केबलकारमा जाने हो भने ९ मिनेटमै पुगिन्छ ।

    प्रतिघण्टा ५ सय जना यात्री बोक्न सक्ने क्षमता रहेको केबलकार हाल विभिन्न सिफ्ट गरेर दैनिक बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन भइरहेको छ । केबलकारले एक किलोमिटर ६०० मिटर यात्रा गर्नेछ ।

    तनहुँको डुम्रे बजारदेखि बन्दीपुर पुग्न सात किलोमिटरको उकालो दूरी पार गर्न बसमा भने करिब २० मिनेट लाग्छ । प्राकृतिक मनोरम दृश्य, पुराना सांस्कृतिक वस्ती र रहनसहनमा रमाउनका लागि एक दिन भए पनि बन्दीपुर आउने पर्यटकहरू धेरै हुन्छ ।

    Bandipur (2).jpg

    ती पर्यटकहरूलाई कम्तिमा तीन दिनसम्म बस्ने वातावरण मिलाउने बन्दीपुर भ्रमण बर्ष २०२५ को योजना छ । एक दिन बसेर बन्दीपुर सकियो भन्ने पाहुनाहरूलाई होइन अबचाहिँ सुरु भयो भन्ने भावना बनाउन र वास्तविक बन्दीपुरसँम्म पुर्याउन बन्दीपुर भ्रमण बर्ष जहिल्यै तत्पर छ । बन्दीपुर आउने पर्यटकहरूले सचिवालयबाट सूचनाहरू लिन सक्छन् ।

    बन्दीपुरको विषयमा भएको ब्रोसर, म्यापलगायतका सामाग्रीहरू प्राप्त गर्न सकिन्छ । कोभिड अगाडि भने इन्फरमेसन सेन्टर नै थियो । अहिले भने सचिवालयबाट सूचनाहरू पाइन्छ । वान नाइट स्टेका लागि बन्दीपुर आउने पर्यटकहरूका लागिचाहिँ सनसेटका लागि थानीमाई मन्दिर (गुरुङचे डाँडा) पुग्नै पर्छ ।

    Bandipur (3).jpg

    जहाँबाट पुगेपछि बेलुकीको सूर्यास्त निकै राम्रो देखिन्छ । एकपट्टि बन्दीपुरको सुन्दर पर्यटकीय सहर र अर्कोपट्टि सुनौलो फाँट देखिन्छ । यहाँबाट हिमालहरूको दृश्यबाट पनि राम्रो देखिन्छ । मणिमुकुन्देश्वरी नाम दिइएको पर्खाल पनि सँगै छ । त्यस्ते, टुँडिखेल हिमाल हेर्नका लागि राम्रो छ ।

    यहाँ एउटा गुम्बा पनि छ । बुद्धिष्ट र समग्र पर्यटकहरूका लागि यो राम्रो ठाउँ हो । त्यस्तै, रानीबनको फेदीमा रहेको तीनधारा छ । जहाँबाट सदाबहार चिसो पानी आइरहन्छ । गाडिरहित पुरानो मौलिक बन्दीपुर बजार छ ।

    Bandipur (9).jpg

    पर्यटकको बसाईँ लम्ब्याउने योजना

    एक दिनका आउने पर्यटकहरूलाई ६ ओटै वडाका सम्भावित पर्यटकीय गन्तव्यहरूलाई प्रचारप्रसार तथा प्रवद्र्धन गरेर यहाँको वडा वडा र राम्रो राम्रो पर्यटकीय क्षेत्रमा  पर्यटक पुर्याउने हाम्रो मूख्य उद्देश्य छ । हामीसँग विभिन्न ठाउँमा गढीहरू छन् । हेर्नैपर्ने, पुग्नै पर्ने राम्रा गाउँहरू छन् । संस्कृति र भेषभूषाले धनि यो ठाउँको कुनाकुनामा पर्यटक पुर्याउने हाम्रो उद्देश्य छ । 

    बन्दीपुरमा हाल वार्षिक एक लाख पर्यटक आउने गरेकामा त्यसलाई दोब्बर बनाउँदै यहाँको पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित भ्रमण वर्ष आयोजना गरिएको छ । भ्रमण वर्षका क्रममा बन्दीपुर–छिम्केश्वरी–मनकामना–गोरखा मन्दिर–लिगलिगकोट–भानु जन्मस्थल हुँदै पुनः बन्दीपुर आउने दुई दिनको प्याकेजसमेत छ ।

    हाल बन्दीपुरमा मात्रै ७५ होटल र चार होमस्टे (घरबास) साथै समग्र गाउँपालिकामा १ सय २० होटल र १२ होमस्टे सञ्चालनमा छन् । जसमा दैनिक १ हजार ७ सय अट्ने क्षमता छ ।

    समग्र बन्दीपुर क्षेत्रको पर्यटकीय आकर्षण, उद्योग तथा व्यापार, भौतिक पूर्वाधार, मानव शक्तिका साथै प्रवद्र्धनात्मक गतिविधिमा गुणात्मक सुधार ल्याउनका बन्दीपुर भ्रमण वर्षलाई सफल बनाउन यहाँका पर्यटन व्यवसायीहरू, स्थानीय तथा सरकारवाला निकायहरू अहोरात्र खटिरहेका छन् । बन्दीपुर भ्रमण बर्ष २०२५ ले बन्दीपुरलाई ‘पहाडकी रानी’ मात्रै होइन ‘पहाडकी महारानी’ बनाउन योगदान पुर्याउनेछ । 

    Bandipur (7).jpg

    (बन्दीपुर भ्रमण बर्ष २०२५का संयोजक तथा होटल व्यवसायी वैस गुरुङसँग गरिएको कुराकानीमा आधारित) 

    सबै तस्बिरहरू : नवीन गिरी

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com