काठमाडौँ / बेरुजु फर्छयौट गरी वित्तीय सुशासन कायम गर्न गृह मन्त्रालयको क्रियाशिलता बढेको छ । गृहमन्त्री रमेश लेखकको गृह नेतृत्वको पहिलो बर्षमा आव २०८१/०८२ मा हालसम्मकै उच्च रु २ अर्ब ३६ करोड १२ लाख ६३ हजार बेरुजु रकम गृह मन्त्रालयले फर्छयौट गरेको छ ।
अघिल्लो आर्थिक बर्षसम्म गृह मन्त्रालयअन्र्तगत कुल बेरुजु ३ अर्व ७२ करोड ४५ लाख ८७ हजार फर्छ्यौट बाँकी रहेको थियो ।
गृह मन्त्रालय आर्थिक प्रशासन शाखाका प्रमुख उपसचिव खडानन्द अधिकारीले गृहमन्त्री लेखकको निर्देशन तथा गृहसचिवको समन्वय तथा निर्देशन र मातहतका निकायहरूको सहयोग र आर्थिक प्रशासनको सक्रियताले सम्परीक्षण र वित्तीय सुशासन कायम गर्न मन्त्रालय अग्रस्थानमा रहेको बताए ।
मन्त्रालयका अनुसार गत आर्थिक बर्षमा सम्परीक्षण तथा फर्छ्यौट प्रगति ६३.१७ प्रतिशत रहेको छ ।
“चालु आर्थिक बर्षमा अब रु १ अर्ब ४७ करोड ४५ लाख मात्रै कुल बेरुजु बाँकी छ ।” आर्थिक प्रशासन शाखाका प्रमुख अधिकारीले भने “कार्य योजना बनाएरै मन्त्रालय बेरुजु फर्छ्यौटमा लागेको छ ।”
उनले तीन वर्ष यताको बेरुजुको अवस्था हेर्दा आर्थिक बर्ष २०८१/०८२ मा लेखापरीक्षण अंकको आधारमा बेरुजु ०.०९ प्रतिशतमा झरेको बताएका छन् । “आर्थिक बर्ष २०७८/०७९ मा १.४१ प्रतिशत लेखापरीक्षण अंकको आधारमा बेरुजु थियो” अधिकारीले भने, “अहिले शुन्य प्रतिशतमा झरेको छ ।” मन्त्रालयले बेरुजु फर्छ्यौट समन्वयका लागि आन्तरिक व्यवस्थापन महाशाखाका प्रमुखको संयोजकत्वमा समिति समेत गठन गरेको छ ।
समितिले विगत बर्षहरूको बेरुजु लागतलाई अभिलेखीकरण गर्ने, नियमित कार्य योजना बमोजिम समितिको बैठक बसेर प्रगति समीक्षा गर्ने लगायतका काम निरन्तर गर्दै आएको छ ।
त्यसका साथै मन्त्रालयले असुल उपर र पेश्की बेरुजुका सम्वन्धमा सम्बन्धित निकायका र व्यक्तिलाई ताकेता गर्ने बेरुजु फर्छ्यौट, सम्परीक्षण र बित्तीय सुशासन सम्बन्धी काम गर्दै आएको छ ।