एक सातासम्म मनसुन निष्क्रिय बन्दै

एक सातासम्म मनसुन निष्क्रिय बन्दै

आइतवार, जेठ १८ २०८२
आइतवार, जेठ १८ २०८२
  • एक सातासम्म मनसुन निष्क्रिय बन्दै

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सरदर मितिभन्दा १५ दिन छिटो नेपाल प्रवेश गरेको मनसुन अब भने साता दिनसम्म निष्क्रिय रहने जनाएको छ। 

    images
    images

    बिहीबार राति नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भूभागमा विस्तार भएको मनसुन एक सातासम्म निष्क्रिय बन्दा वर्षा कम हुने र गर्मी बढ्न सक्ने सम्भावना रहेको महाशाखाको अनुमान छ । 

    महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले सोमबारदेखि कोशी प्रदेशमा फैलिएको मनसुन केही दिनका लागि निष्क्रिय हुँदा वर्षा कम हुने अनुमान रहेको बताए । 

    “नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ रहे पनि मे २९ मै नेपालको पूर्वी क्षेत्रबाट मनसुन भित्रिएको हो, बाँकी भूभागमा मनसुन भित्रिन बाँकी छ । अब साता दिनसम्म मनसुन निष्क्रिय हुने देखिएको छ”, उनले भने,“मनसुन भित्रिएकै दिन पूर्वी क्षेत्रमा भएको भारी वर्षाका कारण असर पनि पुर्‍याएको छ ।” 

    विभागका बाढीविद् विनोद पराजुलीले पूर्वी क्षेत्रमा मनसुन भित्रिएकै दिन २०० मिलिमिटरभन्दा बढी पानी परेको जानकारी दिए । वर्षाका कारण नदीमा पानीको सतह बढ्दा बाढी आएकाले केही क्षेत्र डुबानमा परेको उल्लेख गरे।  

    “विभागले मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ । जसमा चार महिनाको मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना देखिएको छ”, उनले भने । 

    कर्णाली प्रदेशको पूर्वी भूभाग, लुम्बिनी प्रदेशको उत्तरी भूभाग र गण्डकी प्रदेशको अधिकांश भूभागमा सरदरभन्दा वढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको महाशाखाको भनाइ छ।

    पराजुलीका अनुसार विभागले जल तथा मौसम पूर्वानुमान, सतर्कता तथा चेतावनीसम्बन्धी पूर्व सूचनालाई थप व्यवस्थित, प्रभावकारी र समयमै सूचना सम्प्रेषण गर्ने उद्देश्यले मनसुन अवधिभर आमसञ्चार माध्यम तथा सरोकारवालालाई प्रत्यक्ष जानकारी गराउन सुरु गरेको छ ।

    “विभागले कार्यालयमै हरेक दिन बिहान ११ बजे ‘ब्रिफिङ’ सुरु गरेको छ, ब्रिफिङमा मुलुकभरको जल तथा मौसमसम्बन्धी सूचना, पूर्वानुमान तथा चेतावनीबारे जानकारी गराउँदै आइएको छ”, उनले भने, “सबै आमसञ्चारका माध्यम, सरकारी तथा निजी सरोकारवाला निकाय, गैरसरकारी संस्था, उद्धार तथा राहतमा संलग्न निकायलाई विभागसँग प्रत्यक्ष संवाद गर्न र जल तथा मौसमजन्य सूचना प्रवाहमा सहजीकरण गरिएको छ।”

    विभागले मौसमसम्बन्धी सूचनाका लागि ११५५ र बाढीसम्बन्धी सूचनाका लागि ११५५ टोल फ्रि नम्बरमार्फत २४सै घण्टा सेवा दिँदै आएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय