काठमाडौँ / गृहमन्त्री रमेश लेखकले भिजिट भिसा तथा रकम असुली प्रकरणमा आफू निर्दोष रहेको स्पष्ट पारेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्न नपाएपछि बुधबार संघीय संसद् भवन, नयाँ बानेश्वरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफूविरुद्ध लगाइएको आरोपलाई ‘नियोजित र षड्यन्त्रपूर्ण आक्रमण’ भनेर खण्डन गरेका हुन्।
गृहमन्त्री लेखकले भने, “अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको विषयलाई लिएर मन्त्रीको संलग्नता देखाउने ढङ्गमा विभिन्न प्रचार, समाचार तथा सामाजिक सञ्जालमा अभिव्यक्ति आएका छन्, तर यो सबै असत्य र बेठिक कुरा हो। यसमा मेरो कुनै संलग्नता छैन भन्ने कुरा म स्पष्ट पार्न चाहन्छु।”
अख्तियारबाट हुने कारबाहीलाई खुला मनले स्वागत गर्ने लेखकले बताए । उनले भने, “आयोगको अनुसन्धानमा कतैबाट पनि प्रभावित पारिनुहुन्न ।”
उनले आफूविरुद्ध भइरहेको गतिविधिलाई ‘राजनीति पूर्वाग्रहले प्रेरित’ भएको जिकिर गर्दै थपे, “यो आक्रमण षड्यन्त्रपूर्ण ढंगले गरिएको हो, र मलाई यस्तो षड्यन्त्र मुलुकमा चलिरहेको छ भन्ने अनुभूति भएको छ।”
गृहमन्त्री रमेश लेखकले अख्तियारको छानबिनमा रहेका सहसचिव तीर्थराज भट्टराईलाई आफूले अन्यत्रबाट ल्याएर त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा नपठाएको बताएका छन् । उनले भने, “तीर्थराज भट्टराई मैले कुनै मन्त्रालय र विभागबाट ल्याएको कर्मचारी होइन । उहाँले यसअघि महत्त्वपूर्ण विभाग र प्रजिअको रूपमा काम गरिसक्नुभएको थियो ।”
आफू आउँदा भट्टराई कसुरजन्य सम्पत्ति विभागमा महानिर्देशक भएर काम गरिरहेको उनको भनाई छ । रामबहादुर थापा ‘बादल’ गृहमन्त्री हुँदा भट्टराईलाई गोरखाको प्रजिअ बनाएर पठाइएको उनले बताए ।
उनले भने, “उहाँ २०७७ देखि निरन्तर गृह मन्त्रालय र मातहतको कार्यालयमा कार्यरत हुनुहुन्थ्यो । ” मोरङ, महोत्तरी र गोरखाको प्रजिअ भएर काम गरिसकेका भट्टराईलाई आफूले अन्यत्रबाट ल्याएर त्यहाँ नखटाएको बताए ।
रामबहादुर थापा गृहमन्त्री हुँदा भट्टराईले महोत्तरीको प्रजिअ समेत भएर काम गरेको उनको भनाई छ ।
बालकृष्ण खाँण गृहमन्त्री हुँदा २०७८ मा भट्टराईले राष्ट्रिय परिचयपत्र विभागकाको प्रमुख र रवि लामिछाने गृहमन्त्री हुँदा २०७८ पुस १२ मा उनी मोरङको प्रजिअ भएको उनले बताए ।
गृहमन्त्री लेखकले भने– “नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा पनि उहाँ गृहमा हुनुहुन्थ्यो । मुख्यमन्त्रीको कार्यालय हेटौँडामा सरुवा भएका भट्टराई फेरि २०८० साउन ३ गते गृहमा सरुवा भएर आउनु भएको हो ।”
बागमती प्रदेशको मुख्यमन्त्री कार्यालयबाट फर्केर भट्टराई गृहमा आउँदा रवि लामिछाने गृहमन्त्री रहेको बताउँदै उनले भने, “लामिछानेकै पालामा उहाँ कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशक हुनुभएको हो ।”
कसुरजन्य सम्पत्तिबाट भट्टराईलाई आफूले विमानस्थलमा पठाएको बताए । उनले भने, त्यसो भएको हुनाले उहाँ निरन्तर ०७७ देखि गृहमा काम गरिरहनुभएको छ ।”
भिजिट भिसामा विदेश जाने नागरिकसँग लाखौँ रकम असुली गरिएको भन्ने गम्भीर आरोपमा मुछिएका गृहमन्त्री लेखकलाई विपक्षी दलहरूले राजीनामा दिनु पर्ने माग गर्दै आएका छन्। यिनै मागका कारण मंगलबार र बुधबारको प्रतिनिधिसभा बैठक पनि अवरुद्ध हुन पुगेको छ।