काठमाडौँ / नेपालको पश्चिमी भूभागबाट पानी पार्ने बादल विकसित भएर पूर्वतर्फ सरिरहेकाले ठाउँठाउँमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले अझै केही दिन बदली कायम रहने जानकारी गराउँदै सावधानी अपनाउन अनुरोध गरे ।
शनिबार साँझ गण्डकी प्रदेशस्थित गोरखाको हिमाली तथा पहाडी भेगबाट र दार्चुलास्थित सीमा क्षेत्रबाट सुदूरपश्चिमको हिमाली तथा पहाडी क्षेत्रको बाटो हुँदै बादल छिरिसकेको उनले बताए । बादल हिँडेको बाटोमा वर्षा भइरहेको छ ।
अहिले नेपालमा स्थानीय र पश्चिमी वायु विकसित छ । अहिले पनि लुम्बिनी र गण्डकीका थोरै भूभागमा पानी परिरहेको मौसमविद् अधिकारीले जानकारी दिए ।
उनका अनुसार आज आइतबार र सोमबार शनिबारको भन्दा बढी बदली हुने सम्भावना भए पनि ठूलो वर्षाको सम्भावना भने कम रहेको उनले बताए ।
उनका अनुसार आज कोशी प्रदेशलगायत हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना छ । अलि बढी कोशीमा पर्ने सम्भावना छ ।’ वर्षा नभएका ठाउँमा पनि बदली कायम रहने भएकाले गर्मीबाट केही राहत मिल्ने मौसमविद्ले बताएका छन् । अधिकारीले आगामी साता केही सुधारिए पनि बदलीको अवस्थामा रहने बताए ।