काठमाडौँ / आज (आइतबार) बिहानदेखि देशभरका परीक्षा केन्द्रबाट कक्षा १२ को परीक्षाका सुरु भएको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ ।
परीक्षा बिहान ८ बजे सुरु भएको परीक्षा ११ बजे सकिनेछ । आगामी जेठ २ गतेसम्म सञ्चालन हुने उक्त परीक्षाका लागि बोर्डले देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरेको छ ।
सबैभन्दा बढी काठमाडौँमा एक सय ६२ र कम मनाङ–मुस्ताङमा एक–एक परीक्षा केन्द्र निर्धारण गरिएको बोर्डले जानकारी दिएको छ ।
परीक्षामा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी तथा आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना गरी कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थीले परिक्षा दिदैछन् ।
यस वर्ष सबैभन्दा कम मनाङबाट ४५ जना परीक्षार्थी छन् भने सबैभन्दा धेरै काठमाडौँबाट ६८ हजार १३३ परीक्षार्थी परिक्षा दिँदैछन् । परीक्षामा कम श्रवणशक्ति, दृष्टिविहीन, सुस्त मनस्थिति वा अरु प्रकृतिको अपाङ्गता भएका परीक्षार्थीका निम्ति विशेष व्यवस्था गरिएको छ ।
त्यसैगरी, कारागार वा बाल सुधारगृहमा रहेका परीक्षार्थीलाई परीक्षा दिने व्यवस्था गरिएको छ ।
परीक्षा सञ्चालन अवधिभर केन्द्राध्यक्षबाहेक अरु कसैले पनि परीक्षा केन्द्रमा मोबाइल फोन लैजान पूर्ण निषेध गरिएको छ ।
परीक्षार्थीलाई परीक्षा हलभित्र मोबाइल फोन, स्मार्ट घडीलगायत इलेक्ट्रोनिक डिभाइस (लोडेड डकुमेन्ट नभएको क्याल्कुलेटरबाहेक) लैजान निषेध गरिएको बोर्डले जनाएको छ ।
परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी, संस्कृत रचना, बुद्ध शिक्षा, उर्दू व्याकरण विषयको परीक्षा भइरहेको छ ।