काठमाडौँ / काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका विद्यालय प्राचार्य, सह–प्राचार्य तथा स्कुल लिडरहरूका लागि नेसनल प्याब्सन काठमाडौं जिल्ला समितिले आयोजना गरेको एकदिने तालिम भक्तपुरस्थित काठमाडौँ फन भ्यालीमा सम्पन्न भएको छ ।
नेसनल प्याब्सनकी संस्थापक तथा वर्तमान राष्ट्रिय अध्यक्ष गीता क्षेत्री राणाको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको कार्यक्रममा तीन जिल्लाका ७० वटा विद्यालयका १५० जना स्कुल लिडरहरूको उल्लेखनीय सहभागिता थियो ।
तालिममा स्मार्ट बोर्डको उपयोग, डिजिटल माध्यममार्फत प्रभावकारी शिक्षण, संस्कारसहितको सिकाइ, सीपमैत्री मूल्यांकन र शिक्षण पद्धतिमा ध्यान केन्द्रित गरियो ।
प्रशिक्षकको रूपमा नेसनल प्याब्सनका पूर्वअध्यक्ष तथा शिक्षा नीति तथा प्रशिक्षण आयोगका प्रमुख कर्णबहादुर शाही, आईएनजी समूहका सीईओ सुलभ बुढाथोकी, स्मार्टरका संस्थापक सीईओ जित राघव र थ्रीसीआर एडुकेटरका प्रमुख उत्तम दाहालले प्रशिक्षण प्रदान गरेका थिए ।
तालिममा अध्यक्ष राणाले प्रभावकारी विद्यालय व्यवस्थापनका लागि सक्षम नेतृत्व अपरिहार्य रहेको बताएकी थिइन् । तालिमको समापन समारोहमा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगर प्रमुख अतिथि रहेका थिए ।
उनले सहभागी सबै स्कुल लिडरहरूलाई प्रमाणपत्र वितरण गर्दै शिक्षा क्षेत्रको गुणस्तर वृद्धिका लागि संस्थागत र सामुदायिक विद्यालयबिच सहकार्य आवश्यक रहेको उल्लेख गरे । साथै, उनले प्रदेश सरकारले यस्तो सहकार्यका लागि आवश्यक बजेट सुनिश्चित गर्ने प्रतिबद्धता पनि जनाए ।
नेसनल प्याब्सन काठमाडौँ जिल्ला अध्यक्ष होमबहादुर अधिकारीले कार्यक्रमको अध्यक्षता गर्दै विद्यालयहरूको शैक्षिक अवस्था सुधार गर्न यस्तो गोष्ठी आवश्यक रहेको बताएका थिए । उनले यो कार्यक्रम एसोसिएसनको पूर्वनियोजित वार्षिक तालिकाअनुसार सञ्चालन गरिएको जानकारी दिए ।
‘विद्यालयहरूलाई सबल बनाउने, गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने तथा नेतृत्व क्षमताको विकासका लागि यस्ता तालिम नियमित रूपमा सञ्चालन गरिनेछ,’ उनले भने ।
कार्यक्रममा पूर्व अध्यक्षहरू पाण्डव हमाल, ऋतुराज सापकोटा, शिक्षा नीति तथा प्रशिक्षण आयोग प्रमुख कर्णबहादुर शाही, वरिष्ठ उपाध्यक्ष सूर्यबहादुर अधिकारी, बागमती प्रदेश अध्यक्ष नारायणकुमार कार्की, जिल्ला र नगरस्तरीय पदाधिकारीहरू, तथा विभिन्न विद्यालयका प्राचार्यहरूको उपस्थिति रहेको थियो । तालिम सञ्चालन नेसनल प्याब्सनका सह–सचिव प्रकाश अधिकारीले गरेका थिए ।