काठमाडौँ / भारतको उडिसा राज्यस्थित भुवनेश्वरको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को होस्टेलमा मृत फेला परेकी युवतीको घट्नाबारे अनुसन्धान सुरू गरिएको छ ।
भुवनेश्वरका प्रहरी आयुक्त एस. देव दत्त सिंहले बिहीबार साँझ ७ बजेतिर नेपालको वीरगन्ज घर भएको प्रिसा साहको शव होस्टेलको कोठामा फेला परेको बताए । होस्टलबाट मोबाइललगायतका सामग्रीहरू वरामद गरी अनुसन्धानका लागि पठाइएको प्रहरीले जनाएको छ ।
‘हामी त्यहाँ पुगेर घट्नाका विषयमा अनुसन्धान गरेका छौं । अझ विस्तृत अनुसन्धान गरिनेछ । वैज्ञानिक टोली आइपुगेको छ र सबै आवश्यक विवरणहरू सङ्कलन गरिएको छ । उनको परिवारलाई जानकारी गराइएको छ । शव पोस्टमार्टमको लागि एम्स पठाइएको छ,’ उनले भने ।
घटनाले अन्तर्राष्ट्रिय विद्यार्थीहरू, विशेष गरी नेपालका विद्यार्थीहरूको सुरक्षा बारेमा चिन्ता व्यक्त गरिएकाले विश्वविद्यालय परिसर र वरपर सुरक्षा बढाइएको पनि उनले भारतीय संचारमाध्यमहरूलाई जानकारी दिएका छन् ।
घट्ना थाहा पाउने वित्तिकै फोरेन्सिक र प्रहरी टोली तुरून्तै घटनास्थलमा पुगेको र घटनामा अप्राकृतिक मृत्युको मुद्दा दर्ता गरिएको उनले बताए ।
प्रहरी आयुक्तले घटनाको बारेमा विद्यार्थीका अभिभावक र नेपाली दूतावासलाई जानकारी गराइएको बताए । मृतक नेपालको वीरगञ्जका बासिन्दा भएको उनले पुष्टि गरे ।
कम्प्युटर विज्ञानमा बीटेक प्रथम वर्षमा अध्ययनरत नेपालली छात्रा साह होस्टेलको आफ्नै कोठामा मृत भेटिएको खबर स्थानीय प्रहरीले बिहीबार राति ८.१० बजे दिएको थियो ।
उक्त कलेजमा नेपाली छात्रा मृत भेटिएको यो दोस्रोपट हो । यसअघि गत फागुनमा मात्र त्यही कलेजमा नेपाली विद्यार्थी रूपन्देहीकी २० वर्षीया प्रकृति लम्साल पनि छात्रावासमा मृत फेला परेकी थिइन् ।
साहको घट्नापछि नेपाल सरकारले अनुसन्धानका लागि कूटनीतिक पहल गरेको छ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपाल सरकारले दिल्लीस्थित आफ्नो दूतावासमार्फत यस विषयमा निगरानी गरिरहेको बताएकी छन् ।