काठमाडौँ / एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)को कार्यभार औपचारिक रूपमा गोविन्द घिमिरेले सम्हालेका छन् । तीन दशक भन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका घिमिरेले बैशाख १० गतेबाट सिइओको कार्यभार सम्हालेका हुन् ।
सिइओ घिमिरे विगत १६ बर्षदेखि एनएमबि बैंकमा आबद्ध छन् । बैंकको विभिन्न विभाग तथा शाखाहरूसमेतको नेतृत्व गरी भई कार्य अनुभव हासिल गरे उनी यसअघि बैंकको नायव प्रमुख कार्यकारी अधिकृत थिए ।
सिइओ घिमिरेले बैंकको सेवा विस्तार र सुधारमा महत्वपूर्ण योगदान दिई आएका छन् ।
उनको योगदानहरू बैंकको व्यापार, वित्त, क्रेडिट जोखिम व्यवस्थापन, रणनीतिक योजना निर्माण र सञ्चालन सुधारका कार्यहरूमा विशेष रूपले महत्वपूर्ण रहँदै आएका छन् ।
उनले एनएमबि बैंकको सञ्चालन प्रणालीमा सुधार ल्याउन, प्रविधिमा आधारित सेवा विस्तार गर्न र दिगो बैंकिङ अभ्यासहरूलाई अघि बढाउन निरन्तर सक्रिय भूमिका निभाएको बैंकले जनाएको छ ।
उनको बैंकिङ अनुभवले एनएमबि बैंकलाई थप प्रगति र समृद्धिको मार्गमा अघि बढाउने विश्वास रहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नवनियूक्त कार्यकारी अधिकृत गोविन्द घिमिरेले प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्दै बैंक सञ्चालक समिति तथा ब्यवस्थापन समक्ष आगामी योजना तथा बैंकको प्रगतिका लागि आफ्नो धारणा व्यक्त गरेका छन् ।
उनले भने, “मेरो प्राथमिकता नवप्रवर्तन, दिगो साझेदारी र समावेशी वित्तीय सेवामा केन्द्रित हुनेछ, जसले बैंकलाई अझ प्रभावशाली र अर्थपूर्ण बनाउनेछ । डिजिटल प्रविधि र नयाँ सोचको समावेशसँगै हामी ग्राहक, समुदाय र राष्ट्रसँग मिलेर दिगो र सकारात्मक परिवर्तन ल्याउने दिशामा अघि बढ्नेछौँ ।”
साथै, आजैका मितिबाट लागु हुने गरी बैंकका हालका नायव प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायले बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालेका छन् ।
स्वदेशी तथा विदेशी बैंकहरुमा कार्य गरि कार्य अनुभव प्राप्त गरेका उपाध्याय अन्तर्राष्ट्रिय व्यापार तथा अन्तराष्ट्रिय सम्बन्धका साथै बैंकिङ्ग ब्यवसाय गहिरो ज्ञान भएका बैंकर मानिन्छ ।
घिमिरे र उपाध्यायको नियुक्तिसँगै एनएमबि बैंकले अनुभव र निरन्तरतामा आधारित नयाँ नेतृत्वको स्वागत गर्दै ‘समृद्ध नेपाल’को उद्देश्यतर्फ कदम अगाडि बढाएको बैंकले जनाएको छ ।