काठमाडौँ / चालु आर्थिक बर्षको चैत्र मसान्तसम्म राष्ट्रियस्तरका विकास बैंकहरूको खुद नाफा सामान्य बढेको छ । ८ वटा राष्ट्रियस्तरका विकास बैंकहरूको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा गत आर्थिक वर्षको चैत्र मसान्तको तुलनामा ४.३५ प्रतिशतले बढेको हो ।
गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ३ अर्ब ५३ करोड ८८ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएका विकास बैंकहरूले यस बर्ष सोही अवधिमा ३ अर्ब ६९ करोड २७ लाख १२ हजार रुपैयाँ नाफा कमाएका हुन् ।
समीक्षा अवधिमा पाँच वटा बैंकको नाफा बढेको छ भने बाँकी तीन बैंकको घटेको छ । तथ्याङ्क अनुसार लुम्बिनी विकास बैंक, मुक्तिनाथ विकास बैंक र साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा घटेको छ भने महालक्ष्मी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, कामना सेवा विकास बैंक र ज्योति विकास बैंकको नाफा बढेको छ ।
ज्योतिको नाफामा उच्च बृद्धि, रकममा गरिमा अगाडि
बैंकहरूले प्रकाशित गरेको तथ्याङ्क अनुसार ९ महिनामा सबैभन्दा बढी नाफा बृद्धि गर्ने बैंकमा ज्योति विकास बैंक अग्रस्थानमा छ । यो बैंकले गत आर्थिक बर्षको चैत मसान्तको तुलनामा १०१.१४ प्रतिशतले नाफा बृद्धि गरेको हो ।
गत आर्थिक बर्षको चैत मसान्तसम्म १५ करोड २४ लाख ३३ हजार रुपैयाँ नाफा कमाएको ज्योति विकास बैंकले यस बर्ष सोही अवधिमा ३० करोड ६६ लाख ११ हजार रुपैयाँ नाफा कमाएको छ ।
त्यस्तै, धेरै नाफा बढाउने विकास बैंकहरूमध्ये सांग्रिला डेभलपमेन्ट बैंक दोस्रो स्थानमा छ । यो बैंकले गत आर्थिक बर्षको तुलनामा ६१.१९ प्रतिशतले नाफा बढाएको हो । गत आर्थिक बर्षको तेस्रो त्रैमाससम्म २६ करोड ९३ लाख ८९ हजार रुपैयाँ नाफा कमाएको यो बैंकले समीक्षा अवधिमा ४३ करोड ४२ लाख १८ हजार रुपैयाँ नाफा कमाएको छ ।
रकमका आधारमा ८ राष्ट्रियस्तरका विकास बैंकहरुमध्ये गरिमा विकास बैंकले सबैभन्दा बढी नाफा कमाएको छ।
चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा सो बैंकले ७३ करोड ३४ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको हो। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.३२ प्रतिशत बढी हो।
गत आर्थिक वर्षको सोही अवधिमा यो बैंकले ६८ करोड ३४ लाख ६२ हजार रुपैयाँ नाफा कमाएको थियो । जुन गत बर्षको तुलनमाा ५५.३२ प्रतिशतले बढी हो ।
त्यस्तै, धेरै नाफा कमाउने विकास बैंकको दोस्रो स्थानमा रहेको मुक्तिनाथ विकास बैंकले समीक्षा अवधिमा ७२ करोड ४८ लाख ५२ हजार रुपैयाँ नाफा कमाएको छ।
बैंकको खुद नाफा १६.८६ प्रतिशतले घटेको छ । मुक्तिनाथ विकास बैंकले गत आर्थिक बर्षमा सबैभन्दा बढी ८७ करोड १८ लाख २५ हजार रुपैयाँ नाफा कमाएको थियो । चैत मसान्तसम्ममा सबैभन्दा कम नाफा कमाउनेमा लुम्बिनी विकास बैंक रहेको छ।
यस बैंकले समीक्षा अवधिसम्ममा ४ करोड ९७ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत आर्थिक बर्षको सोही अवधिको तुलनामा ८५.४५ प्रतिशत कम हो । गत बर्ष यो बैंकको यस्तो नाफा ३४ करोड २१ लाख ६८ हजार रुपैयाँ छ ।