काठमाडौं/ नेपाली सेनामा साधारण सेवातर्फ रिक्त रहेको सहायक सेनानी पदमा बढुवा भएका प्रमुख सुबेदारहरूलाई प्रधान सेनापति महारथी अशोक राज सिग्देलले आज एक विशेष समारोहका बीच दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
उक्त कार्यक्रम काठमाडौंस्थित जङ्गी अड्डामा सम्पन्न भएको हो।
सैनिक सेवा नियमावली २०६९ बमोजिम साधारण सेवातर्फ रिक्त सहायक सेनानी पदमध्ये १० प्रतिशत पदहरू बढुवाद्वारा पूर्ति गर्नुपर्ने व्यवस्था अनुसार ३४ जना प्रमुख सुबेदाररसुबेदारहरू सहायक सेनानीमा बढुवा भएका हुन्।
तीमध्ये संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा खटिएका ५ जनालाई बाहेक बाँकी २९ जनालाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
कार्यक्रममा बलाध्यक्ष, रथीवृन्द, उच्च पदस्थ अधिकृतहरू तथा बढुवा भएका अधिकृतहरूको परिवारजनको उपस्थिति रहेको थियो।
समारोहले नेपाली सेनामा अगुवाइको निरन्तरता र उच्च मनोबल अभिवृद्धि गर्ने विश्वास लिइएको छ।