काठमाडौँ / गत साता तीन दिनको कारोबारमा निरन्तर बढेको सेयर बजारको उकालो यात्रामा यस साताको पहिलो कारोबार दिन नै ब्रेक लागेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज १६.६८ अङ्कले घटेर २७०६.०४ बिन्दुमा पुगेको छ ।
आइतबार १९२ कम्पनीको मूल्य घट्दा ५३ ओटको मात्रै बढेको छ । नेप्से परिसूचक घटेसँगै आज कारोबार रकममा पनि उच्च गिरावट आएको छ । अघिल्लो कारोबार दिन बिहीबार करिब ११ अर्ब रुपैयाँ रुपैयाँको कारोबार भएकोमा आज भने ८ अर्ब ४३ करोड ३५ लाख ८९ हजार रुपैयाँको मात्रै कारोबार भएको छ ।
आज कुल ३२८ धितोपत्रको २ करोड १३ लाख २३ हजार ९६७ कित्ता सेयर ७४ हजार ४५ पटकमा खरिद बिक्री भएको छ ।
आइतबार कारोबारमा आएकामध्ये व्यापार र उत्पादन तथा प्रशोधन समूहबाहेक सबै समूहको परिसूचक घटेको छ । यसदिन व्यापार समूहको परिसूचक १.०२ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.५२ प्रतिशतले बृद्धि भएको छ ।
त्यस्तै, सर्वाधिक बढी होटल तथा पर्यटन समूहको परिसूचक १.३६ प्रतिशत, हाइड्रोपावर १.२२ प्रशित, वित्त १.२७ प्रतिशत र अन्य समूह १.०३ प्रतिशतले घटेको छ । यसैगरी, बैंकिङ समूह ०.७० प्रतिशत, विकास बैंक ०.७९ प्रतिशत, लगानी ०.०६ प्रतिशत, जीवन बिमा ०.८७ प्रतिशत, लघुवित्र ०.५४ प्रतिशत, म्युचुअल फण्ड ०.२३ प्रतिशत र जीवन बिमा ०.२२ प्रतिशतले घटेको छ ।
आइतबार नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सेयर मूल्य सर्वाधिक बढी ९.९९ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ भने कर्पोरेट डेभलपमेन्टको सेयर मूल्य ७.४९ प्रतिशतले बृद्धि भएको छ ।
त्यस्तै, हिमालयन पावर पार्टनर लिमिटेडको सेयर मूल्य सर्वाधिक बढी ७.३३ प्रतिशतले घटेको छ भने बलेफी हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ७.२७ प्रतिशतले घटेको छ । आइतबार सर्वाधिक बढी राधी विद्युत कम्पनीको सेयर कारोबार भएको छ ।
यो कम्पनीको आज ६८ करोड ७६ लाख ९७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने ङादी ग्रुप पावर लिमिटेडको ५७ करोड २७ लाख ७८ हजार रुपैयाँ बढीको कारोबार भएको छ ।