बनेपा/ सशस्त्र प्रहरी बल नेपालले काभ्रेको बनेपा नगरपालिका–८ स्थित बसपार्क क्षेत्रबाट करीव ५ किलोग्राम पोलाइण्ड नामक लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेहरूमा धुलिखेल नगरपालिका–६ बस्ने २८ वर्षीय अमृत भण्डारी र सोही नगरपालिका–४ बस्ने ३० वर्षीय श्रीकृष्ण सत्याल रहेका छन्। उनीहरूलाई सशस्त्र प्रहरी बल इंटेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण, काभ्रेबाट खटिएको टोलीले बनेपा बसपार्कस्थित सेकुवा सेन्टर तथा नेवारी खाजाघर नजिकबाट पक्राउ गरेको हो।
उनीहरूबाट ५ पोका पोलाइण्ड लागूऔषधसहित बा ३८ प १४८१ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ।
यसअघि पनि सशस्त्र प्रहरीले लागूऔषध कारोबारमा संलग्न विभिन्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ। चैत्र १४ गते काठमाडौं महानगरपालिका–९ सिनामंगलबाट ७ किलोग्राम, फागुन १ गते गोकर्णेश्वर नगरपालिका–६ जोरपाटीस्थित नयाँ बस्तीबाट, र भदौ २२ गते कोटेश्वर क्षेत्रबाट ५/५ किलोग्राम पोलाइण्डसहित गरी ५ जनालाई पक्राउ गरी सम्बन्धित निकायमा बुझाइएको थियो।