गाउँ सुनसान पारेर सहरमा भविष्य खोज्न हिँडेका युवा बिदेशिन हतारो किन ?

गाउँ सुनसान पारेर सहरमा भविष्य खोज्न हिँडेका युवा बिदेशिन हतारो किन ?

सोमवार, फागुन २६ २०८१
सोमवार, फागुन २६ २०८१
  • गाउँ सुनसान पारेर सहरमा भविष्य खोज्न हिँडेका युवा बिदेशिन हतारो किन ?

    सदरमुकाम सिन्धुलीमाडी बजार शान्त छ ।

    images
    images

    बसपार्क छेवैका चियापसलमा भने थोरै चहलपहल देखिन्छ। 

    गाउँ सुनसान पारेर सहरमा भविष्य खोज्न हिँडेका केही युवा हतारोमा छन्, कोही गफमा मस्त। चिया पसलकै एउटा कुनामा भेटिए पूजन बस्नेत ।

    उनी तीनपाटन गाउँपालिका–११, कन्याखोलाका बासिन्दा हुन् । २२ वर्षीय बस्नेतले सूचना तथा प्रविधि (आइटी) मा स्नातक गरेका छन् । 

    उनीसँग वेबसाइट डिजाइन गर्ने, मोबाइल एप बनाउने, ग्राफिक्स डिजाइन र भिडियोग्राफी गर्ने सीप छ। तर सीप अनुसारको काम र कमाइ छैन । 

    बस्नेतले जिल्लामै केही गर्ने सोचले साथीसँग मिलेर व्यवसाय गर्ने प्रयास गर्नुभयो । तर लगानीको अभावले सम्भव भएन। बैङ्कले कर्जा पत्याएन, परिवारको आर्थिक अवस्था कमजोर थियो ।

    उनले भने, “लगानी छैन । विना धितो बैङ्कले कर्जा दिँदैन। त्यही भएर अब विदेश गएर पैसा कमाउँछु, अनि फर्केर व्यवसाय गर्छु भन्ने सोचेको छु।” रोजगारीका लागि बिदेसिने निर्णय उनको रहर नभएर बाध्यता हो। 

    त्यसो त उनले स्थानीय तहमा ‘आइटी अफिसर’का लागि धेरै ठाउँमा आवेदन दिएका थिए। १५ पटक परीक्षा दिए । लिखितमा नाम निस्कियो, तर मौखिकमा निस्किएन। 

    हुन त पूजनले जिल्लास्थित एक संस्थामा काम गरिरहेका छन् । तर श्रमअनुसारको पारिश्रमिक नपाउँदा उनमा नैराश्य छाएको छ। बिहानदेखि रातीसम्म काम गर्दा पनि रु १० हजार मासिक तलब समयमा नपाउने गरेको उनको गुनासो छ। 

    यो केवल बस्नेतको कथा मात्र होइन । उनीजस्ता धेरै युवाहरू यही बाध्यताले बिदेसिँदा जिल्लाका ग्रामीण क्षेत्रमा पानी भर्ने, खेतबारीमा काम गर्ने, गाउँलाई उज्यालो बनाउने, बिरामी पर्दा बुबाआमाको स्याहार गर्ने युवा देखिन छाडेका छन् । 

    बिबिएस दोस्रो वर्षमा अध्ययनरत २१ वर्षीया सविना दनुवार पनि यस्तै दोधारमा छिन् । उनी पढाइलाई निरन्तरता दिने वा  अधुरै छाड्ने भन्ने अन्योलमा छिन् । “घरको अवस्था दयनीय छ। जागिर छैन । दैनिक खर्च चलाउन गाह्रो छ । अब पढाइ छोडेर विदेश जाने सोच्दैछु,” सविनाले भनिन् । 

    सविनाका साथीमध्ये कोही अस्ट्रेलिया, कोही दुबईमा छन्। उनीहरूसँग कुराकानी हुन्छ। विदेश गएर दुःख गरे यहाँभन्दा कमाई राम्रै छ, भन्ने भनाइले सविनालाई त्यही बाटो रोज्न बाध्य बनाइरहेको छ ।

    पूजन र सविना त प्रतिनिधि पात्र मात्रै हुन् । जिल्लामा सञ्चालित विदेश पठाउने कन्सलटेन्सीमा विद्यार्थीको भीड हेर्ने हो भने सहजै अनुमान गर्न सकिन्छ की जिल्लाका थुप्रै युवा रोजगारीको खोजीमा विदेश जाने तरखरमा छन्। 

    जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट गएको पाँच वर्षमा २८ हजार ६५२ युवाले राहदानी बनाएको देखिन्छ ।
    आर्थिक वर्ष ०७७ देखि ०८१ माघ १३ सम्म उक्त सङ्ख्यामा राहदानी बनाएका हुन् । 

    वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई सूचना, परामर्श, सीप विकास, कानुनी सहायता, मनोसामाजिक परामर्श र वित्तीय साक्षरता प्रदान गर्दै आएको सुरक्षित आप्रवासन परियोजना, सिन्धुलीका संयोजक विजय दाहालकाअनुसार गएको दुई वर्षमा बर्सेनि १० हजार युवा जिल्लाबाट बिदेसिएका छन् । 

    वैदेशिक रोजगार र पढाइको सिलसिलामा बिदेसिएका ती युवाको तथ्याङ्क जिल्ला प्रशासन कार्यालय र सुरक्षित आप्रवासन केन्द्रमा हुने गरेको भए पनि फर्किएकाको तथ्याङ्क सम्बन्धित निकायसँग छैन। 

    सुरक्षित आप्रवासन केन्द्र, सिन्धुलीकाअनुसार १६ वर्ष यता रोजगारीका लागि विदेश गएकामध्य १५१ जनाको विभिन्न कारणले उतै मृत्यु भएको छ । ११ वर्ष यता ५१ जना बिरामी र काम गर्ने सिलसिलामा अङ्गभङ्ग भई फर्किएका छन् । 

    यसरी फर्किनेमा विदेश जाँदा लागेको ऋणसमेत तिर्न नसकेका रहेको पाइएको छ। 

    नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि मुकेश घिमिरेकाअनुसार, सरकारले सीप भएकासमेतलाई उचित अवसर प्रदान गर्न सकेको छैन।

    स्थानीय सरकारले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न विशेष कार्यक्रम सञ्चालन गरेको पाइँदैन ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय