मकवानपुरको सिस्नेरीमा बाढीले ३० घरटहरा बगायो, खानी खेतका २८ घर डुबानमा

मकवानपुरको सिस्नेरीमा बाढीले ३० घरटहरा बगायो, खानी खेतका २८ घर डुबानमा

शनिवार, असोज १२ २०८१
शनिवार, असोज १२ २०८१
  • images
    images
    मकवानपुरको सिस्नेरीमा बाढीले ३० घरटहरा बगायो, खानी खेतका २८ घर डुबानमा
    images
    images

    मकवानपुर / अविरल वर्षाका कारण आएको बाढीले इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारका ३० वटा घरटहरा बगाएको छ । सिस्नेरी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक भोजराज न्यौपानेले इलाका प्रहरी कार्यालय भवनसहित घर बगाएको जानकारी दिए । 

    बाढीका कारण इन्द्रसरोवर गाउँपालिका–२ खानीखेतस्थित २८ घर डुबानमा परेका छन् । अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि आज विहान बाँधका दुई वटा ढोका खोलिएको थियो । 

    विभिन्न खोलामा जलसतह बढेको र कुलेखानी जलाशयका कारण बाढी आएको प्रहरीले जनाएको छ । बाढी तथा डुबेका कारण मानवीय क्षति भने नभएको सिस्नेरी प्रहरीले जनाएको छ । स्थानीयलाई सुरक्षित स्थानमा राखिएको छ ।  

    अविरल वर्षाका कारण पहिरो जाँदा हेटौँडा–काठमाडौँ सडक अवरुद्ध भएको छ । 

    पहिरोका कारण कान्तिलोकपथ, भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौँ, कुलेखानी–फाखेल–काठमाडौँ, कुलेखानी–मातातीर्थ–काठमाडौँ र त्रिभुवन राजपथ अवरुद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ ।

    स्थानीय तह, सडक विभागसँगको समन्वयमा पहिरो पन्छाउने काम भइरहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले बताए । 

    साथै निरन्तरको भारी वर्षाका कारण विभिन्न क्षेत्रमा आउनसक्ने बाढी, पहिरो, डुबनलगायतको अवस्थालाई मध्यनजर गरी जिल्लास्थित सबै सुरक्षा निकायलाई उच्च सतर्क अवस्था राखिएको उनले बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com