जिब्रो छेडेर महादीप  बोकेर खाली खुट्टा मध्यपुरथिमिदेखि पशुपतिसम्म परिक्रमा

जिब्रो छेडेर महादीप  बोकेर खाली खुट्टा मध्यपुरथिमिदेखि पशुपतिसम्म परिक्रमा

बिहिवार, असोज ३ २०८१
बिहिवार, असोज ३ २०८१
  • images
    images
    जिब्रो छेडेर महादीप  बोकेर खाली खुट्टा मध्यपुरथिमिदेखि पशुपतिसम्म परिक्रमा
    images
    images

    भक्तपुर / आश्विन शुक्ल पूर्णिमाको अवसरमा बुधबार राति ८ बजे मध्यपुरथिमिमा ‘येंया पुन्हिया मेय् प्वाः खनेगु’ अर्थात जिब्रो छेड्ने जात्रा भव्य रूपमा मनाइएको छ। 

    मध्यपुरथिमि–५ का विरेन्द्रभक्त श्रेष्ठले मध्यपुरथिमि दिगुटोलस्थित दिगु भैरव अगाडिको डबलीमा नकर्मीले एक महिना अगाडि बनाएर शुद्ध तोरीको तेलमा डुबाएर राखेको करिब १० इन्च लामो सियोबाट जिब्रो छेडाए ।

    उनले कमिनायबाट जिब्रो छेडाएर ४० किलोको भ्वयः अर्थात महादीप  बोकेर खाली खुट्टाले पशुपति नाथ मन्दिरसम्म यात्रा गरे । संस्कृति, पर्यटन तथा नागरिक उडडन मन्त्री बद्रीप्रसाद पाण्डेले जिब्रो छड्ने जात्राको अवलोकन गर्दै हौसला प्रदान गरे । 

    उनले यहाँको कला, संस्कृति, जात्रा, पर्व र परम्पराले इतिहास बोकेकाले यस्तो पर्वको संरक्षण गर्नु पर्ने बताए । 

    पशुपति विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापा, कोषका प्रवक्ता  रेवतीरमण अधिकारी, भक्तपुर क्षेत्र नं २ का सांसद दूर्लभ थापा, मध्यपुरथिमि नगरप्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठलगायत सहभागी थिए । 

    लोप हुन लागेको यो जात्रालाई विरेन्द्र भक्तले पहिलोपटक २०७४ सालमा जिब्रो छेडाएर पुनर्जिवित गरेका थिए भने उनले दोस्रोपटक २०७९ साल पूर्णिमाको दिन जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका थिए । 

    श्रेष्ठले जिब्रो छेडाएर निगु पुखुः, लाय्कूहुँदैं क्वालाखु (बालकुमारी)स्थित थास्मा गणेशको दर्शन गरी तछु टोल, सुँगा टोल (विष्णुवीर), ईन्द्रायणी, नेपाल कोरियामैत्री नगरपालिका अस्पताल, सिद्धिकाली मन्दिर, सिद्धिकाली चोक, सानोथिमि, मनोहरा खोला पुल, पुरानो सिनामंगल, खहरेचोक, एअरपोर्ट पछाडिको सडक, गुहेश्वरी मन्दिर हुँदै पशुपति नाथको दर्शन गर्ने गरी थिमिबाट यात्रा गरेका थिए। 

    पशुपतिनाथको दर्शनपछि सोही मार्ग भएर फर्कने र सानोथिमिस्थित तिनधारा व्यारेक चोकबाट भित्र हुँदै नगदेश, गार्चा चोक, बहाखाबजार भिमसेन मन्दिर, चपाचो, दिगुटोल, निगुपुखुः, लाय्कूहुँदैं क्वालाखु (बालकुमारी) मन्दिर परिसर पुगेर जिब्रोबाट नातु अर्थात सियो निकालेर मन्दिरको काठमा ठोक्ने र जिब्रोमा भएको घाउँमा नासःद्यः (नित्यनाथ) देवता परिसरको माटो लगाउने परम्परा छ। 

    त्यसपछि जिब्रो छेडाउने व्यक्ति घर पुगेर मान्यजनबाट सगुन लिएपछि जात्राको भोलिपल्टको बिहान नातु पूजा भनि द्यःलित तवनेगु (विसर्जन पूजा)का लागि बालकुमारीमा पुजा गर्ने प्रचलन रहेको छ। 

    जात्रामा पशुपति विकास कोषले तयार पारेको चाँदीको कचौरामा सुनको चम्चाले जिब्रो छेडाउने श्रेष्ठको जिब्रोमा मन्त्री पाण्डेले परम्पराअनुसार पशुपति मन्दिर परिसरमा शुद्ध तोरीको तेल हालिदिएका थिए। 

    यसरी जात्रा गर्नाले मध्यपुरथिमि क्षेत्रमा भुतप्रेतहरूले दुःख नदिने, रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि नहुने जनविश्वास रहँदै आएको नगरप्रमुख श्रेष्ठले बताए।

    पहिलो बिस्काः (बिस्केट) जात्राको अवसरमा प्रत्येक वर्ष बैशाख २ गते दिउँसो थिमिको बोडेमा र दोस्रो ईन्द्रजात्राको अवसरमा आश्विन शुक्ल पुर्णिमाको साँझ थिमिको दिगुलीमा जिब्रो छेड्ने जात्रा सञ्चालन हुने गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com