विश्व बाघ दिवस : बाघको संख्या तीन सय ५५ पुग्यो, सङ्ख्या बढेसँगै संरक्षणमा चुनौती

विश्व बाघ दिवस : बाघको संख्या तीन सय ५५ पुग्यो, सङ्ख्या बढेसँगै संरक्षणमा चुनौती

सोमवार, साउन १४ २०८१
सोमवार, साउन १४ २०८१
  • विश्व बाघ दिवस : बाघको संख्या तीन सय ५५ पुग्यो, सङ्ख्या बढेसँगै संरक्षणमा चुनौती

    चितवन / नेपालमा बाघको सङ्ख्या बढेसँगै संरक्षणमा नयाँ चुनौती थपिएका छन् । 

    images
    images

    लक्ष्य लिएभन्दा बढी सङ्ख्यामा बाघ बढेपछि बासस्थान र आहारा व्यवस्थापन चुनौती बनेको हो । यससँगै मानवसँगको द्वन्द्व पनि बढ्दै गएको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । 

    सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ सर्वेक्षणअनुसार नेपालमा बयस्क बाघको सङ्ख्या तीन सय ५५ पुगेको छ । 

    तीमध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्रै यो सङ्ख्या एक सय २८ रहेको राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए । 

    पाटेबाघ विश्वका १३ देशमा पाइन्छ । विश्वमा बाघ पाइने १३ मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा रसियाको सेन्टपिटर्सवर्गमा भएको सम्मेलनले बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो । 

    तत्कालीन समयमा नेपालमा एक सय २१ बाघ थिए । सन् २०२२ मा आइपुग्दा यो सङ्ख्या दुई सय ४२ पु¥याउने लक्ष्य लिइएकामा लक्ष्यअनुसारको सङ्ख्या बढेर तीन सय ५५ पुगेको छ । यो देशकै लागि सफलता मानिए पनि यसपछिका चुनौतीहरु भने थपिएका छन् ।  

    चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तिवारीले गत आर्थिक वर्षमा निकुञ्जमा आठवटा बाघ मरेका जानकारी दिए । 

    बाघ मरेको कम थाहा हुने भन्दै उहाँले निकुञ्ज सुरक्षाको क्रममा बढी गस्ती गरिएकाले बाघ धेरै मरेका हुनसक्ने बताए । बासस्थानका लागिसमेत बाघहरु एकआपसमा लडेर मृत्यु हुने गरेको तिवारीको भनाइ छ । 

    “यो अवधिमा चारजनाको बाघको आक्रमणबाट मृत्यु भएको छ । निकुञ्जभित्र र बाहिर यस्ता घटना हुने गरेका छन् । एक जनाको निकुञ्जभित्रको कोर क्षेत्रमा र अन्यको मध्यवर्ती वन क्षेत्रमा बाघको आक्रमणबाट मृत्यु भएको हो”, उनले भने । 

    सूचना अधिकारी तिवारीले केही वर्ष अघि गरिएको अध्ययनले चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा एक सय ७५ बाघका लागि बासस्थान पुग्ने देखाएको थियो । 

    बासस्थान व्यवस्थापनमा सुधार गरेमा अरु थप बाघ रहन सक्ने देखिएको उहाँको भनाइ छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्ज एकआपसमा जोडिएका छन् । 

    बाघको आहार प्रजाति पर्याप्त नहुँदा शिकारका लागि बाघ बाहिर बस्तीमा प्रवेश गर्ने र घटना हुने गरेको छ । निकुञ्जभित्र र आसपासका क्षेत्रमा बाघ हिंस्रक बनेसँगै नियन्त्रणमा लिएर राख्ने गरिएको छ ।

    निकुञ्जको मुख्यालय कसरा र भरतपुरको देवनगरमा पाँच वटा बाघ खोरमा राखिएको छ । कसरामा तीनवटा छन् भने देवनगरमा दुईवटा छन् । 

    सौराहामा खोर मर्मत हुँदै गरेकाले अहिले बाघ नराखिएको निकुञ्जका सूचना अधिकारी तिवारीले बताए । नियन्त्रणमा लिएर राखिएका बाघको हेरचाहका लागि समेत कठिनाइ हुने गरेको उनको भनाइ छ  

    चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले बाघको सङ्ख्या बढेसँगै चुनौती पनि थपिएको बताए । 

    बासस्थानको व्यवस्थापन गर्न नसक्दा मानव बस्तीमा बाघ प्रवेश गरेर द्वन्द्व बढाएको उहाँले उल्लेख गरे । 

    सरकारले बासस्थान व्यवस्थापनमा पर्याप्त बजेट विनियोजन गरेर निकुञ्जभित्र आहारको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए । 

    अध्यक्ष ढुङ्गानाले बाघको आहारा प्रजाति मानव बस्तीमा आएर बालीनाली खाइदिने र उनीहरुको सिकारका लागि बाघ पनि मानव बस्तीमा आउने गरेको बताए । 

    मध्यवर्ती क्षेत्रमा निकुञ्जमा उठेको राजस्वको ३० देखि ५० प्रतिशत विनियोजन गरेर मेसजाली, कम्पाउन्ड वाल, मध्यवर्तीमा भौतिक पूर्वाधार र संरक्षण शिक्षाका कार्यक्रम गर्दै आएकामा पछिल्ला वर्षहरुमा बजेट न्यून आएसँगै थप समस्या भएको उनले जानकारी दिए । 

    सङ्कलन भएको राजस्वको २० प्रतिशतभन्दा तल मध्यवर्तीमा बजेट आएको भन्दै उनले यसले थप द्वन्द्व बढाउने अवस्था सिर्जना गरेको बताए । 

    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा सिन्धुप्रसाद ढुङ्गानाले बाघको सङ्ख्या बढेसँगै आहारा प्रजाति बढाउनुपर्नेमा जोड दिए । 

    निकुञ्जभित्र बासस्थानको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार निर्माण भइरहेको उहाँले जानकारी दिए । 

    बाघले आफ्नै क्षेत्र निर्धारण गरेर बस्ने भन्दै महानिर्देशक डा ढुङ्गानाले सङ्ख्या थपिएसँगै सेञ्चुरी निर्माण गरेर यसको संरक्षण गर्नुपर्ने अवस्था आएको बताए । 

    विचरण गर्न सक्ने ठूलो खुल्ला खोर (सेञ्चुरी) निर्माण गर्ने योजनामा विभाग रहेको उनले जानकारी दिए । 

    कतिपय देशहरुमा बाघ उपहार दिएर ‘बाघ कूटनीति’ अपनाउने विषयमा पनि छलफल भइरहेको महानिर्देशक ढुङ्गानाले बनाए । 

    यसबाट अन्य देशहरुमा मित्रता बढाउन सहयोग पुग्ने उनको भनाइ छ । बाघलाई मानव बस्तीमा आउन नदिने गरी भित्रै व्यवस्थापन गर्ने विषयमा विभागको ध्यान गएको महानिर्देशक ढुङ्गानाले बताए । 

    उनले भने, “आहारा प्रजाति बढाउन आवश्यक घाँसेमैदान, पानीपोखरी र सिमसार क्षेत्र सुधार कार्यक्रम अगाडि बढाउने योजनामा छौँ ।” 

    – नारायण अधिकारी, रासस

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय