सूर्योदय नगरपालिकाले लम्पी स्किनबाट मरेका पशुको क्षतिपूर्ति दिने

सूर्योदय नगरपालिकाले लम्पी स्किनबाट मरेका पशुको क्षतिपूर्ति दिने

शुक्रवार, पुस १३ २०८०
शुक्रवार, पुस १३ २०८०
  • सूर्योदय नगरपालिकाले लम्पी स्किनबाट मरेका पशुको क्षतिपूर्ति दिने

    फिक्कल (इलाम) / इलामको सूर्योदय नगरपालिकाले लम्पी स्किन महामारीबाट मरेका पशुचौपायको क्षतिपूर्ति दिने भएको छ । नगरपालिकाले पशुचौपायको राहत रकम किसानलाई दिने भएको हो । 

    images
    images

    नगरपालिकामा लम्पी स्किन महामारीबाट मरेका पशुचौपायको क्षतिपूर्ति तथा राहत वितरणसम्बन्धी कार्यविधि पारित भएसँगै राहत दिने बाटो खुलेको हो । नगरप्रमुख रणबहादुर राईको अध्यक्षतामा आज बसेको आठौँ कार्यपालिका बैठकले कार्यविधि पारित गरेको नगर प्रवक्ता ख्याम भुजेलले जानकारी दिए । 

    कार्यविधिअनुसार नगरपालिकाले माउ गाई मरेका किसानलाई रु २० हजार, कोरली गाई मरेका किसानलाई रु १० हजार र गोरु मरेका किसानलाई रु पाँच हजार राहत रकम दिने मापदण्ड तोकेको छ ।

    लम्पी स्किन रोगबाट पशुधन क्षति भएका लाभग्राही सिफारिस गर्न आर्थिक विकास समितिका संयोजक देवेन्द्र शर्माको संयोजकत्वमा सिफारिस समिति गठन गरेको छ । समितिले लम्पी स्किन रोगबाट पशुधनमा क्षति भएका वास्तविक किसानको पहिचान गरेर राहतको लागि सिफारिस गर्नेछ । 

    “लम्पी स्किन रोगबाट कुन ठाउँमा कति क्षति भयो भन्ने यकिन गर्न आर्थिक समिति संयोजक देवेन्द्र शर्माको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको छ, समितिले यथार्थ विवरणका आधारमा किसानको पहिचान गरी सिफारिस गरेर पठाउँछ”, नगप्रमुख राईले भने, “त्यही सिफारिसका आधारमा हामीले पारित गरेको कार्यविधिलाई टेकेर राहत रकम सिधैँ किसानलाई दिनेछौँ ।”

    लम्पी स्किन रोगबाट उक्त नगरपालिकाभर सात सय ४४ पशचौपायको क्षति भएको थियो । नगरपालिकाले लम्पी स्किन रोगबाट भएको क्षतिमा राहत वितरण, खोप खरिद र चेतनामूलक कार्यक्रम गर्न रु एक करोड २५ लाख विनियोजन गरेको छ । 

    नगरपालिकाले लम्पी स्किन रोग नियन्त्रण गर्न खोप अभियानलाई सघन रुपमा सञ्चालन गर्नेसमेत निर्णय गरेको छ । त्यसका लागि नगरपालिकाअन्तर्गत र निजी पशु प्राविधिकको परिचालन गरिने प्रवक्ता भुजेलले बताए । त्यस्तै नगरपालिकाले किसानलाई स्वस्थ रुपमा पशुपालनको तालिमसमेत दिने तयारी गरेको प्रवक्ता भुजेलले जानकारी दिए  ।

    त्यस्तै नगरपालिकाले पशु र बाली बिमामा प्रोत्साहन गर्ने भएको छ । नगरपालिकाले पशु र बाली बीमामा किसानले ब्यहोर्ने बिमा शुल्कको आधा रकम नगरपालिकाले व्यहोर्न भएको छ । बीमा प्रोत्साहनका लागि रु १० लाख विनियोजन गरेको छ । पशु र बाली बिमामा सरकारले ८० प्रतिशत अनुदान दिने गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय