काठमाडौँ / रिभर फल्स पावर लिमिटेडले आगामी भदौ २३ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो।
यसअनुसार कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अङ्कित मूल्यका ७० लाख कित्ता, अर्थात ७० करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्नेछ।
हकप्रद निष्काशन प्रयोजनका लागि कम्पनीले साउन २६ गते बुकक्लोज गरेको थियो। त्यसअनुसार साउन २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीहरूले भदौ २३ देखि असोज १२ गतेसम्म आवेदन दिन सक्नेछन्।
हकप्रद निष्काशनका लागि केयर रेटिङ नेपालले कम्पनीलाई CARENP Double B Minus रेटिङ प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको सङ्केत गर्दछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।
लगानीकर्ताले प्रभु क्यापिटलसहित प्रभु बैंकका बेशीसहर (लमजुङ), पोखरा, वीरगञ्ज, इलाम, बुटवल, सुर्खेत र धनगढी शाखाबाट पनि आवेदन दिन सक्नेछन्।
साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि–आस्वा प्रणालीमार्फत वा मेरो सेयर अनलाइन प्रयोग गरेर पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेकोमा, हकप्रद निष्काशन तथा बाँडफाँटपछि चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ पुग्नेछ।
कम्पनीले सङ्कलित रकम डाउन पिलुवा खोलामा आएको विनाशकारी बाढी लगायत काबु बाहिरका कारणले आयोजनाको लागत वृद्धि भई थपिएको बैंक ऋण परिशोधन गर्न प्रयोग गर्ने जनाएको छ।